गणतन्त्र नेपालका राष्ट्रपतिद्वारा राजतन्त्रका संस्थापकको सालिकमा पहिलोपल्ट माल्यार्पण

काठमाडौं । नेपालमा शाहवंशीय राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएपछि पहिलोपटक पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ ।

विहीवार राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरवारको मुख्य प्रवेशद्धार अगाडि रहेको पृथ्वीको शालिकमा माल्यार्पण गर्न पुग्दा सेनाको टुकडी सलामीसमेत अर्पण गर्‍यो । गणतन्त्र नेपालका राष्ट्रपतिले राजतन्त्रका संस्थापकको शालिकमा माल्यार्पण गरेको पनि यो पहिलोपटक हो ।


नेपाल एकीकरणपछि शाहबंशीय राजतन्त्रका संस्थापक बडामहाराजाधिराजका नामले इतिहासमा चर्चित पृथ्वीनारायण शाहको जन्मदिनलाई राज्यले नै एकता दिवसका रुपमा पुनः मनाउन थालेको हो ।सो अवसरमा प्रधानमन्त्री शेरवहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्री लगायत सर्वसाधारणले समेत पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका थिए ।

गणतन्त्रपछि मनाउन छाडिएको राष्ट्रिय एकता दिवस यसवर्षबाट पुनः मनाउने निर्णय देउवा सरकारले चुनावअघि गरेको थियो । नेपाली सेनाले पृथ्वीनारायण शाहलाई आफ्नो फौजको संस्थापकका रुपमा सम्मान गर्दै आएको छ । सेनाका ब्यारेकहरुमा पृथ्वीनारायण शाहका दिब्योपदेशहरु लेखिएका छन् । विगतमा माओवादी नेता रामवहादुर थापा बादल रक्षामन्त्री हुँदा ब्यारेकबाट पृथ्वीनारायणको फोटो र दिब्योपदेश हटाउन निर्देशन दिए पनि तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले अश्वीकार गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice