प्रदेशको अस्थाई मुकाम प्रस्तावले बढायो असन्तोषको ज्वाला

काठमाडौँ ।सरकारले हरेक प्रदेशको अस्थाई मुकाम तोक्ने तयारी गरिरहँदा देशका विभिन्न शहरमा नाराजुलुस र हड्तालहरु बढ्न थालेका छन् । मन्त्रिपरिषद्को बिहीबार बस्ने बैठकले अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा सहरी विकास मन्त्रालयले तयार पारेको प्रस्ताव सार्वजनिक भएलगत्तै असन्तोषको ज्वाला दन्किन थालेको हो।

बिराटनगरमा प्रदेश नं १ को अस्थाई राजधानी तोक्ने निर्णय भएको खबर बाहिर आएलगत्तै धनकुटा र इटहरीमा आन्दोलन सुरु भएका छन्। धनकुटामा बुधबारबाट नै रिले अनसनसँगै आमहड्तालको घोषणा गरिएको छ भने इटहरीले पनि आफ्नो दावी छोडेको छैन। त्यस्तै धनगडीलाई प्रदेश नं ७ को मुकामको प्रस्ताव आएसँगै सुदूरपश्चिम विकास क्षेत्रको मुख्यालय रहेको डोटीको दिपायल-सिलगढी पनि बन्द छ। त्यहाँका आक्रोशित आन्दोलनकारीले बन्दमा चलाएको भन्दै एउटा मोटरसाइकल जलाइदिएका छन्।

प्रदेश ५ को अस्थायी राजधानी दाङ बनाउने प्रस्तावको विरोधमा रुपन्देहीको बुटवलमा बुधबार साँझ मसाल जुलुस प्रदर्शन भएको छ। सरकारले प्रदेश २ को राजधानी जनकपुर तोक्ने तयारी गरे पनि उक्त प्रदेशको एक मात्र महानगर र देशकै आर्थिक केन्द्र भनी छवि बनाएको वीरगन्जले सहजै स्विकार्ने देखिँदैन। प्रदेश ४ को राजधानी पोखरा र ६ को सुर्खेतमा खासै विरोधको स्वर सुनिएको छैन। यी दुवै निर्विकल्प प्रदेश राजधानी हुनेछन्। त्यस्तै, प्रदेश ३ को अस्थायी राजधानी भक्तपुर बनाउने सरकारको तयारी छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice