प्रचण्डलाई फकाउनेदेखि टीआरसीको मुद्दा देखाएर तर्साउनेसम्मको रणनीतिमा लोकतान्त्रिक गठबन्धन

काठमाडौं । कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउने वा तर्साउने रणनीति थालेको छ । एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई उक्त रणनीति अख्तियार गरेको हो ।

निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ । दाहाललाई फकाउन उसले ‘प्रलोभन’ देखाउनेदेखि घुमाउरो शैलीमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को मुद्दा देखाएर खबरदारीसमेत गर्न थालेको छ ।

दाहाललाई कांग्रेसले आगामी पाँच वर्षका लागि प्रधानमन्त्री बन्न ‘अफर’ मात्रै गरेको छैन, द्वन्द्वकालको मुद्दा कांग्रेस-माओवादीले मात्रै टीआरसीमार्फत टुंगो लगाउन सक्नेसम्मको प्रस्ताव पठाएको छ । दाहालले वाम गठबन्धनमै रुचि देखाएमा टीआरसीको मुद्दामा माओवादी नेताहरू अन्तर्राष्ट्रिय अदालतमा तानिने घुमाउरो भाषामा कांग्रेस नेताहरूले प्रेसर दिएको स्रोतले बतायो । दाहाल के गर्दा फकिन्छन्, त्यही अस्त्रको प्रयोग अहिले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले गर्न खोजेको छ । ‘वाम एकता टुटाउन अनेक तिक्डम र प्रयास जारी नै छन्,’ माओवादी केन्द्रका नेता मणि थापाले अन्नपूर्णसँग भने, ‘तर जतिसुकै कोसिस गरे पनि त्यस्तो योजना सफल हुने देखिँदैन ।’

एमाले-माओवादीबीच पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको, नेताहरूको पदीय व्यवस्थापनमा अझै ठोस प्रगति हुन नसकेको र नयाँ सरकार गठनका लागि अझै महिना दिन लाग्ने देखिएपछि लोकतान्त्रिक गठबन्धनले आफ्नो ‘मुभ’ बढाएको हो । एमाले-माओवादीमा देखिएको अलमलमा खेल्न सकिने विश्वासमा लोकतान्त्रिक गठबन्धन देखिन्छ ।

सोमबार मात्रै पनि दाहालको ‘मुड’ बुझ्न र एमालेसँगको गठबन्धन टिकाउ नहुने सन्देश दिन राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो र कांग्रेस सांसद अमरेश सिंह दाहालनिवास खुमलटार पुगेका थिए । दिउँसो ३ बजे महतो र सिंहले दाहालसँग करिब ४५ मिनेट गोप्य वार्ता गर्दै संविधान संशोधन, गठबन्धनलगायत विषयमा धारणा बुझ्ने प्रयास गरेका थिए । कांग्रेस नेताहरूले दाहाललाई फकाउन प्रयास गरिरहेकै बेला सोमबार महतो र सिंह दाहालनिवास छिरेका हुन् ।

अन्नपूर्ण पोस्टमा खबर छ

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice