राष्ट्रियसभा अध्यादेशको विषयमा प्रचण्डलाई शीतल निवासमै बोलाएर छलफल गरिन् राष्ट्रपतिले

काठमाडौँ । राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश निर्वाचनको विषयमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच विवाद बढिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन्  । राष्ट्रपति भण्डारीले नै बिहीबार प्रचण्डलाई शीतलनिवासमा बोलाएर अध्यादेशका विषयमा छलफल गरेकी हुन्।

छलफलमा भण्डारीले राष्ट्रियसभा अध्यादेशमा सहमति जुटाउन प्रचण्डलाई आग्रह गरेकी छिन् । सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश तत्काल पारित गर्नुपर्ने नेपाली कांग्रेसको अडान छ भने फिर्ता गर्नुपर्ने नेकपा एमालेको अडान छ । प्रचण्ड भने मध्यमार्गी विकल्पबाट समाधान खोज्नु पर्ने पक्षमा रहेको बताइन्छ । सार्वजनिक कार्यक्रममा बहुमतीय प्रणाली बाटै राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने बताएपनि प्रचण्ड कांग्रेसलाई समेत मिलाएर लैजानु पर्ने पक्षमा रहेको बताइन्छ ।

राष्ट्रपतिले गरेको आग्रहको जवाफमा अध्यक्ष दाहालले अध्यादेशका विषयमा मध्यमार्गी बाटो खोज्ने प्रयास आफूहरुले गरिरहेको भन्दै त्यसलाई चाँडै टुंगोमा पुर्‍याइने बताएका छन् ।नेकपा एमालेले सरकारले ल्याएको अध्यादेश असंवैधानिक भन्दै त्यसलाई जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्दै आएको छ । राष्ट्रपति भण्डारीले दुई महिनादेखि अध्यादेश जारी नगरी थन्क्याएर राखेकी छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice