‘पूल नै भत्काएर पार्टी एकतातर्फ अघि बढिसक्यौं, पछि हट्ने स्थिति छैन’- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि बहाना वा माध्यम बनाएर एमाले माओवादी पार्टी एकीकरणबाट पछि हट्न मिल्ने स्थिति नरहेको बताएका छन्। पार्टी एकतामा पछि फर्कनु नपर्ने गरी पुल नै भत्काएर एमाले अध्यक्ष केपी शर्मा ओली र आफू एकता प्रक्रियामा हामफालेको दावी गर्दै उनले संगठन मिलाउने क्रममा जटिलता आउनसक्ने भन्दै उनले त्यसको विकल्प खोजिसकेको बताए ।

आइतबार बिहान चितवनमा एमाले र माओवादी केन्द्र सम्बद्ध वाम बुद्धिजिवीहरुद्वारा आयोजित बधाई ज्ञापन कार्यक्रममा प्रचण्डले राष्ट्रिय सभामा कांग्रेसको समेत प्रतिनिधित्व हुने गरी अध्यादेश सम्बन्धी विवादको समाधान हुने जानकारी गराए। उनले भने, ‘सेटिङमा, संगठन मिलाउनेमा जटिलता हुन पनि सक्छ । तर, हामीले विभिन्न विकल्प सोचिसकेका छौं र ती कुनै पनि विकल्प अगाडि जाने मात्र छन् पछि हट्ने कुनै विकल्प छैन ।’

यद्यपि वाम गठबन्धन र पार्टी एकतामा दरार ल्याउने प्रयास हुनु कुनै अनौठो नभएको उनले बताए । ‘प्वाल पार्न पाइन्छ कि भनेर अन्तिम करसत हुनुलाई अनौठो ठान्नु हुँदैन,’ एकतालाई जनताले अनुमोदन गरिसकेको भन्दै उनले भने, ‘एकताको सहमति पक्षको पल्ला यति भारी छ कि अर्को पक्षले गर्ने कसरत हास्यास्पद लाग्छ ।’

‘पुल भत्काइएन भने पछि फर्कनपनि सकिन्छ, त्यसैले पुल नै भत्काएर हामी अघि बढेका हौं’ प्रचण्डले भने, ‘नेतृत्व लेवलमा पार्टी एकताबाट पछि हट्ने कुरा कसैले गरेको छैन। अब छिट्टै एकता हुन्छ।यसबीचमा पार्टी एकता र गठबन्धन के हुन्छ भन्ने बारेमा भ्रामक समाचार आएका छन्, त्यस्तो भ्रामक समाचारको आधिकारिकता पुष्टि नभई प्रचार नगरिदिनु मेरो अनुरोध छ, आज विहान र हिजो बेलुकी पार्टी एकता टुङ्ग्याउने गरी ओलीसँग कुरा भएका छन्।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice