एमालेका आधा दर्जन नेता अर्थमन्त्रीको दौडमा, केपी ओलीको रोजाईमा प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको भावी सरकारमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्न एमाले नेताहरुबीच अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । अर्थमन्त्रीका लागि एमालेभित्र आधा दर्जन नेताहरुले इच्छा मात्र देखाएका छैनन् आफ्नो कसरत पनि सुरु गरिसकेका छन् ।

ओली नेतृत्वमा बन्ने भावी सरकारमा अर्थमन्त्री एमालेले पाउने लगभग निश्चित छ । गृहमन्त्री माओवादी केन्द्रले पाउने भएपछि अर्थमन्त्री एमालेको भागमा पर्नेछ । अर्थमन्त्री बन्न एमालेका अधिकाँस पार्टी पदाधिकारीहरुले रेस सुरु गरेका छन् ।

अर्थमन्त्रीको सशक्त दावी उपाध्यक्ष भीम रावल, महासचिव इश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले गरेका छन् । यी मध्ये पौडेल र पाण्डे यसअघि पनि सफल अर्थमन्त्री भइसकेका छन् । तर अब बन्ने बामगठबन्धनको सरकारमा अर्थसहित उपप्रधानमन्त्री बन्ने चाहाना महासचिव इश्वर पोखरेलले राखेका छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा केही दिनका लागि उपप्रधानमन्त्री बनेका महासचिव पोखरेल त्यसयता कुनैपनि मन्त्री बनेका छैनन् । अबको बाम नेतृत्वको सरकारमा उपसहित अर्थमन्त्री बन्ने चाहाना पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग राखिसकेको स्रोतले बताएको छ । तर ओली भने पार्टी अध्यक्ष र महासचिव एकैपटक सरकारमा जान नहुँने पक्षमा छन् ।

उपाध्यक्ष भीम रावलले पनि अर्थ वा परराष्टमन्त्रीको इच्छा देखाएका छन् । पार्टीका शिर्ष नेताहरुसँग उनले आफु अर्थ वा परराष्टमन्त्री बन्ने चाहाना राखेको बताउन थालेका छन् भने उपमहासचिव बिष्णु पौडेलले पनि अर्थमन्त्रीको सशक्त दावी पार्टी अध्यक्ष ओलीसँग गरिसकेका छन् ।

त्यसैगरी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सफल अर्थमन्त्री मानिन्छन् । उनले पार्टी अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग अर्थमन्त्री बन्ने चाहाना राखिसकेका छन् ।

तर अर्थमन्त्रीका लागि ओलीको रोजाईमा भने प्रदीप ज्ञवाली परेका छन् । ओलीका अति विश्वास पात्र ज्ञवालीलाई अर्थमन्त्री बनाउने योजना बालकोटमा पनि बनिरहेको स्रोतले बताएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice