पार्टीले हारेर देउवाले जित्दा भाग्यवश आँखो मात्र जोगिएको स्थितिमा काँग्रेस !

सन्तोष दहाल


काठमाडौँ । भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन परिणामले देशकै ठूलो दल नेपाली कांग्रेसलाई नराम्रोसंग पछाडी धकेलिदिएको छ।०७० को दोश्रो संविधानसभाको निर्वाचनमा पहिलो र गत स्थानीय निर्वाचनबाट दोश्रो दलको हैसियत बनाएको काङ्ग्रेस यसपटक भने तेश्रो दलको रुपमा स्थापित भएको छ ।

चुनावको मुखैमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बाम गठबन्धनको घोषणा भई निर्वाचनमा तालमेल गरेपछि बाम गठबन्धनले दुईतिहाई मत प्राप्त गरेपछि कांग्रेसले अनपेक्षित पराजय भोग्नुपरेको भन्ने अहिले यत्रतत्र चर्चा चुलिएको छ। यद्यपि मतगणना सकिँदा कांग्रेसको पराजयको अपजस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका थाप्लामा परेको छ । यो स्वाभाविक पनि छ । सभापतिका रुपमा कांग्रेसले जितेको भए देउवाले वीपी कोइरालाले पाए बराबरको जस पाउँथे । अहिले हारेकाले हारको अपसज पनि उनकै भागमा परेको छ ।

कांग्रेसले यो पालि पाएको दण्डको कारण लामो समय सत्तामा बस्दा पनि विकासका काम नगरेकाले हो । देशका दुई ठूला वाम घटकको गठबन्धनले नागरिकलाई कांग्रेसको विकल्प दियो । कांग्रेसभित्र खिचातानी र घात प्रतिघात मात्रै नभएको भए पनि कांग्रेसले हारको अहिलेको जस्तो हविगत बेहोर्नु पर्ने थिएन । यति हुँदाहुँदै पनि समानुपातिकमा आएको मतले नेपाली कांग्रेसलाई संसदको दोस्रो ठूलो दल बनाउने कुरा त पक्का नै छ ।

प्रतिनिधिसभामा कांग्रेसले जम्मा २३ सिट मात्र जित्यो, पार्टीका शीर्षस्थ नेताहरु रामचन्द्र पौडेल,रामशरण महत,अर्जुननरसिंह केसी,शेखर कोइराला लगायत थुप्रैले चुनावमा पराजित भए, तर आफ्नै गृहजिल्ला डडेलधुराबाट चुनाव लडेका सभापति देउवाले भने चुनाव जितेका छन्। पार्टीको हारपछि नैतिकरुपमा सभापतिबाट राजिनामा दिएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग पार्टीभित्रैबाट उठिरहेको छ,तर त्यति सजिलै देउवाले पार्टीको नेतृत्व हस्तान्तरण गर्नसक्ने लक्षण देखिन्न। देशैभरीबाट पार्टीले लज्जास्पद पराजय व्यहोर्नुपर्दा देउवाको मात्र जितलाई लडेर मरेको मान्छेको आँखो मात्र जोगिएको जस्तो रूपमा विश्लेषण गर्न थालिएको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice