राजनीतिक दलका ‘नेता कर्मचारी’ लाई गोरखाको मतगणनामा ‘नो इन्ट्री’

गोरखा । राजनीतिक दलको भातृ संगठनको नेतृत्व गरेका कर्मचारीहरुलाई जिल्ला निर्वाचन कार्यालय गोरखाले मतगणनामा सहभागी नगराउने भएको छ। दलको भातृसंगठनको रुपमा रहेको कर्मचारी संगठनको नेतृत्वमा रहेकालाई मतगणनामा सहभागी गराउँदा अनियमितता हुनसक्ने विश्लेषणका साथ संगठनको नेतृत्वमा रहेका कर्मचारीहरुलाई मतगणनाबाट अलग राख्न खोजिएको हो ।

मतगणनाका लागि जिल्ला निर्वाचन कार्यालय ६० जना कर्मचारी छनौट गरिसकेको छ। निजामति सेवा तर्फका कर्मचारीलाई मत गणना गर्न छनौट गरिएको हो। जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटाले भने, ‘तर राजनीतिक दलका भातृ संगठनको नेतृत्व गरेका कर्मचारीलाई मत गणनामा प्रवेश पाउने छैनन्।’सापकोटाका अनुसार पहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना गरिनेछ भने त्यसपछि क्रमशः प्रदेशसभाको प्रत्यक्षतर्फ र समानुपातिक मत गणना गरिनेछ। मत भण्डारण गरिएकै भवन क्षेत्र नं. १ को महिला तथा बालबालिका कार्यालय र क्षेत्र नं. २ को मत जिल्ला समन्वय समितिमा गणना गर्नेगरी ब्यबस्थापन गरिएको छ।

मंसीर २१ गते अन्य जिल्लामा निर्वाचन भइरहेका बेला दिउँसोपख सर्वपक्षीय बैठक बस्ने र अपरान्हपछि मत गणना सुरु गर्ने बताइएको छ। मतगणनाका लागि ६० जना कर्मचारीलाई एक दिने तालिम समेत दिइसकिएको छ। एउटा समूहमा आठ देखि दश जना रहनेछन्। दुई वटा समूह बनाएर मतगणना गरिन्छ।‘कति दिनमा मत गणना सकिएला त?’भन्ने प्रश्नमा निर्वाचन अधिकारी सापकोटाले भने, ‘दश दिनमा सबै मत गनिसक्छौं।’ बैशाखमा सकिएको स्थानीय तह निर्वाचनमा सात ठाउँमा मत संकेत भएकाले गणना गर्न ढिलाइ भएको थियो। मिनेटमा करिब दश वटा मत गणना गर्न सकिने अनुमान जिल्ला निर्वाचन कार्यालयले गरेको छ।

गोरखामा पहिलो चरण अन्तर्गत मंसीर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको मतदान भएको थियो, जसमा ६२ प्रतिशत मतदान भएको थियो। कूल लाख ८९ हजार ४ सय ४८ मतदाता रहेपनि दुवै निर्वाचन क्षेत्रमा गरी १ लाख २३ हजार ७८१ मत खसेको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice