उत्साह र भयको दोसाँधमा कडा सुरक्षाका बीच ३२ जिल्लामा मतदान सुरु

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा लागि देशका उच्च हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा सोमबार आइतबार पहिलो चरणको मतदान हुँदैछ। देशमा नयाँ संविधान जारी भएपछी पहिलोपल्ट नयाँ संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।

चारै सुरक्षा निकायसंगको समन्वयमा कडा सुरक्षाका बीच ६ प्रदेशका ३७ प्रतिनिधिसभाका र ७४ प्रदेशसभाका लागि निर्वाचन हुन लागेको हो। निर्वाचनमा म्यादी प्रहरीबाहेक सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी १ लाख ७० हजार सुरक्षाकर्मी सुरक्षार्थ खटिएका छन् । म्यादी प्रहरी मात्रै ९८ हजार २ सय ६८ जना चुनावमा खटिएका छन् ।

पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ । चुनाव बिथोल्ने समूहले बुथ कब्जादेखि मतदानस्थलमा बम विस्फोट, मतपेटिका लुटपाट र उम्मेदवार अपहरण गर्नेसम्मका चुनौती आकलन गरेर सुरक्षाकर्मी खटिएका छन् । हाल चुनाव भइरहेका ३२ जिल्लामध्ये प्रदेश नम्बर ७ र ४ सुरक्षा चुनौतीका दृष्टिले अन्य प्रदेशको तुलनामा त्यति संवेदनशील मानिएका छैनन् ।

प्रदेश नम्बर १ का संखुवासभा, ताप्लेजुङ, पाँचथर, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा नेत्रविक्रम चन्द नेतृत्वको ‘विप्लव’ माओवादी चुनाव बिथोल्न सक्रिय हुने सूचनाका आधारमा सुरक्षाकर्मी खटाइएको छ । मतदान बिहान ७ बजेदेखि सुरु भएको छ । मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice