म्याग्दीमा मत प्रभावित बनाउन आचार संहिता उल्लंघन गर्दै सडक निर्माण

म्याग्दी । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न डोजर लगाएर सडक निर्माण गरेको भन्दै म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकाविरुद्ध उजुरी परेको छ ।

रघुगंगा गाउँपालिकाले नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार खमबहादुर गर्वुजा र प्रदेश सभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको पक्षमा र मंगला गाउँपालिकाले एमालेबाट प्रदेशसभा ‘ख’ की उम्मेदवार नरदेवी पुनको पक्षमा मत प्रभावित बनाउन डोजर प्रयोग गरेको छुट्टाछुट्टै उजुरी परेको मुख्य जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका आचारसंहिता अनुगमन अधिकृत छविन्द्र बेलवासेका अनुसार कार्यालयले दुवै गाउँपालिकालाई तीन दिनभित्र उक्त सडक निर्माणको बजेट, कार्यक्रम, लागत अनुमान र कार्यादेश, गाउँ कार्यपालिकाको निर्णयसहित कागजात मागिएको छ ।

बेनी नगरपालिका—९ घतानका खिमबहादुर चोखालले तस्वीरसहित रघुगंगा गाउँपालिकाले निर्वाचन आचारसंहिता विपरीत झिं–पाखापानी सडक निर्माण गरेको उजुरी गरेका छन् । त्यसैगरी, काँग्रेस जिल्ला सचिव मीनबहादुर कार्कीले मंगला गाउँपालिकाले कुहुँ–काउले सडक निर्माण गरिरहेको उजुरी गरेको छ ।

अध्यक्ष, उपाध्यक्षसमेत दुई तिहाइ बहुमत काँग्रेसले नेतृत्व गरेको रघुगंगा गाउँपालिकाले काँग्रेस राप्रपाको गठबन्धनबाट प्रदेशसभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनको जन्मगाउँ पाखापानी जोड्ने सडक निर्माण गरेको हो । गर्वुजा र गौचन दुवै रघुगंगाका बासिन्दा हुन् ।

त्यसैगरी, एमाले समेत वाम गठबन्धनको पूर्ण नेतृत्व रहेको मंगला गाउँपालिकाले पनि एमालेबाट प्रदेशसभा ‘ख’ की उम्मेदवार नरदेवी पुनको पक्षमा मत प्रभावित गर्न उनकै गाउँमा बस्ती जोड्ने सडक निर्माण गरेको उजुरी परेको हो ।

“निर्वाचन आचारसंहिता लागू भएपछि विभिन्न गाउँपालिकामा डोजर लगाएर मत प्रभावित हुने गरी सडक निर्माण भइरहेको उजुरी परेका छन्” मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले भन्नुभयो, “सरोकार पक्षलाई पत्र लेखी सचेत गराउनुका साथै उजुरीको सत्यतथ्यमाथि अनुसन्धान शुरु गरेका छौँ ।”

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice