बाम गठबन्धनको चुनावी घोषणापत्रमा काङ्ग्रेसलाई गाली नै गाली !

काठमाडौँ । एमाले माओवादीको बाम गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि चुनावी घोषणापत्र तयार पारेको छ । एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत दुवै पार्टीका नेता सम्मिलित कार्यदलले घोषणापत्रलाई अन्तिम रूप दिएको हो । कार्यदलले तयार पारेको घोषणापत्र पार्टी एकता संयोजन समितिले एकपटक अध्ययन गरेपछि सार्वजनिक गरिने नेताले बताएका छन् ।

गठबन्धनको घोषणा गर्दा यो कुनै राजनीतिक दलको विरुद्धमा परिलक्षित नभएको बताइए पनि घोषणापत्रमा भने एमाले-माओवादीले सत्तारुढ कांग्रेसमाथि आरोपैआरोप लगाएका छन् । गठबन्धनले कांग्रेस नेतृत्वले अहिलेको संविधानको अन्तरवस्तु, मूलमर्म र भावनालाई आत्मसात् गर्न र सही ढंगले कार्यान्वयन गर्न नसक्ने भन्दै कांग्रेसमाथि चुनावी अभियानक्रममा आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको छ ।

गठबन्धनले कांग्रेसको वर्गचरित्र यथास्थितिवादी र भ्रष्टाचारको पर्यायवाचीजस्तै भएको भन्दै खरो आलोचना गरेको छ । ‘हाम्रो यो एकता र चुनावी गठबन्धनलाई लोकतन्त्रका लागि अनिष्टका रूपमा टिप्पणी गरेर कांग्रेसले आफ्नो अलोकतान्त्रिक प्रवृत्ति एवं निहित स्वार्थपरक कुण्ठाजन्य अभिव्यक्ति पोखेको छ,’ घोषणापत्रमा भनिएको छ, ‘कम्युनिस्ट शक्तिहरू विभाजित भइरहे र आफ्नो विजयलाई पन्छाउने काम गरिरहे मात्र नेपालमा लोकतन्त्र हुने नेकाको सोच हदैसम्म अलोकतान्त्रिक हो ।’

कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि ! कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि !’ भन्ने चुनावी नारा घोषणापत्रमा तय गरेका नेताहरूले नेपालको राजनीतिमा परमुखी, बाह्य शक्तिकेन्द्रमुखी प्रवृत्ति देखिएको र चरम सत्तालोलुपता र भ्रष्टाचार बढेको कारण देशलाई त्यस्तो प्रवृत्तिबाट मुक्त बनाउन पनि गठबन्धन आवश्यक भएको उल्लेख गरेका छन् । ५५ वर्षसम्म फरक स्कुलिङबाट अगाडि बढेका दुई प्रमुख वामपन्थी पार्टी एकै हुने संकल्पसहित निर्वाचन तयारीमा जुटेपछि कांग्रेसले यी दुई पार्टीले ‘अधिनायकवाद’ जन्माउन खोजेको आरोप लगाइरहेका बेला घोषणापत्रमा भने उनीहरूले आफूहरूले कुनै त्यस्तो अधिनायकवाद जन्माउने ध्येय नराखेको प्रस्ट पारेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice