रङ फेर्ने मिनी रारा कुपिण्डे ताल(तस्विरहरु) 

सल्यान जिल्लाको सुन्दर पर्यटकीय स्थल हो, कुपिण्डे ताल । जिल्लाको पर्यटकीय सम्पदाको रूपमा रहेको यो ताल वनगाड कुपिण्डे नगरपालिकामा पर्छ ।  कुभिण्डोजस्तो आकार भएकाले यसको नाम कुपिण्डे रहन गएको हो । समुद्री सतहदेखि १ हजार १ सय २० मिटर उचाइमा रहेको कुपिण्डे तालको क्षेत्रफल २३.५३ हेक्टर,गहिराइ ३४ मिटर,लम्बाइ ८ सय ३४ मिटर,चौडाइ ५सय ३८ मिटर छ भने पानीको मात्रा ५४ लाख ८२ हजार ५ सय ७४ घनमिटर रहेको छ ।

वन्यजन्तु, पक्षी तथा जलचर जनावरहरूको बासस्थानयो ताल क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । यहाँ विभिन्न जडीबुटी पनि पाइन्छन् । कुपिण्डे तालले वर्षा, हिउँद र गर्मीमा गरी वर्षमा तीनपटक रङ बदल्ने गर्छ । तालको कञ्चन पानीमा पातपतिंगर खसे भने पानीको बहावले तिनलाई किनारा लगाउने भएकाले ताल सफा र सुन्दर देखिन्छ । कुपिण्डे ताल संरक्षण समितिले तालमा डुंगा सञ्चालन गरेको छ । पर्यटकहरूडुंगा सयर गरेर रमाउँछन् । आजभोलि कुपिण्डे ताल पिकनिक र अवलोकन भ्रमणको राम्रो गन्तव्य भएको छ । सल्यान खलंगा–बालुवासंग्रही सडक बनेपछि तालमा आउन सहज भएको छ ।

कुपिण्डे तालसँगै जोडिएको कैलु बराहदेवको मन्दिरमा बर्सेनि हजारौँ भक्तजन पूजाआजा गर्न आउँछन् । मन्दिरमा कुपिण्डे गाउँका महन्त गोसाईहरू पुजारी हुन्छन् ।सन्तानविहीन मानिसले सन्तान प्राप्तिका लागि कैलु बराहमा भाकल गर्ने गर्छन् । मन्दिरमा मार्ग शुक्लपूर्णिमा र वैशाख शुक्लपूर्णिमाका दिन ठूलो मेला लाग्छ ।

कुपिण्डे ताल उत्पत्तिको रोचक किवंदन्ती छ । द्वापर युगको अन्त्यतिर हाल ताल रहेको गाउँमा एक जना साधु बास बस्न आए । घर–घर चहारेर बास मागे पनि उनले बास पाएनन् । अन्त्यमा एकजना वृद्धाले बास त दिइन् तर उनको घरमा एक दाना अन्न थिएन । छिमेकीको घरबाट ढुटो मागेर ल्याई रोटी पकाएर कर्कलाको तरकारीसँग पाहुनालाई खान दिइन् । साधुले मिठो मानेर खाई सुते । भोलिपल्ट उनले वृद्धालाई भने, ‘हे माता, कैलु बराह हुँ । अरूलाई बास नदिने पापिष्ठहरूको गाउँ छिनभरमा डुबाइदिँदै छु, तपार्इं कुभिण्डेको लेकतिर जानुहोस् ।’ वृद्धाले त्यसै गरिन् । यता छिनभरमै मुसलधारे पानी प¥यो । गाउँ जलमग्न भयो । त्यो जलाशयभित्र हजारौँ वर्षपछिसम्म पनि घरका आकृति देखिन्थे, कुकुरहरू भुक्थे, कुखुराका भाले बास्थे, ढिकीजाँतो चलेको आवाज आउने गथ्र्योभन्ने जनश्रुति छ । गाउँलेले माग्दा तालबाट ताउला र भाँडा निस्केर आउँथे । ती सामान प्रयोग गरेपछि पुनः तालमा ल्याएर राखिदिनुपथ्र्याे । तर, पछि एउटी लोभी महिलाले घरमा लगेको ताउलो नफर्काएपछि तालले ताउला र भाँडा दिन छोड्यो भन्ने लोककथन छ ।

तालवरिपरि वातावरणमैत्री चक्रपथ निर्माण गर्ने, रमणीय पार्क र रेसोर्टको व्यवस्था गर्ने र बाबियाचौर–बालुवासंग्रही खण्डको सडकको स्तरोन्नति गर्ने हो भने अनुपम सौन्दर्यले भरिपूर्ण कुभिण्डे ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । (सल्यान पर्यटन पुस्तकबाट)

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice