गृहमन्त्रीको प्रशासन कब्जा शैलीमा कांग्रेसका प्रभावशाली नेता तर्सिए, प्रधानमन्त्री मौन

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माको प्रशासनिक निकाय कब्जा शैली प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसकै प्रभावशाली नेताहरुले विरोध गर्न थालेका छन् । आगमी निर्वाचनलाई लक्षित गरी गृहमन्त्री शर्माले ६० भन्दा बढि जिल्लामा माओवादी केन्द्र निकट कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका छन् ।

प्रशासनिक निकायमा गृहमन्त्रीले एकलौटी गरेको भन्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आपत्ति जनाएका छन् । गृहमन्त्री शर्माले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनमा एकलौटी गर्दापनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन रहेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

निर्वाचन आयोगले आचारसंहिता लगाइरहेकै बेला गृहमन्त्री शर्माले गृहमन्त्रालय अन्तर्गतका कर्मचारीहरुको सरुवा गरेका छन् । गृहमन्त्रीको शैलीप्रति नेपाली कांग्रेसका नेता, प्रमुख प्रतिपक्ष दल एमाले र कर्मचारी संगठनहरुले पनि विरोध गरेका छन् । चौतर्फी विरोध हुँदा पनि गृहमन्त्री शर्माले कर्मचारी सरुवा रोकेका छैनन् ।

गृहमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट बनेका कांग्रेस नेताहरुले प्रधानमन्त्री देउवालाई भेटेर सरुवा रद्द गर्न आग्रह गरेका छन् । तर प्रधानमन्त्री देउवाले सरुवाका बिषयमा आफुलाई जानकारी नभएको बताएका थिए ।

गृहमन्त्रीले माओवादीका पक्षमा खुलेर लाग्ने कर्मचारीलाई माओवादी प्रतिस्पर्धाका जिल्लामा पठाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेद्धारी घोषणा गरेको जिल्ला चितवनमा माओवादी निकटका कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका छन् । माओवादी केन्द्रका प्रभावशाली नेताहरु चुनाव लड्ने सवै ठाउँमा उनले पार्टी निकटका कर्मचारी पठाएको पौडेल पक्षले प्रधानमन्त्रीलाई जानकारी गराएको छ ।
निर्वाचनका बेला केही विवाद भए अन्तिम निर्णय प्रमुख जिल्ला अधिकारीले लिने गर्दछन् । प्रमुख जिल्ला अधिकारीले लिने निर्णय आफ्नो पक्षमा पार्न र चुनावी परिणामा राम्रो ल्याउन गृहमन्त्रीले प्रशासन कब्जा गरेको पौडेल पक्षले आरोप लगाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice