हिटलरको संज्ञा दिँदै केपी ओलीमाथी प्रचण्डको लगातार धावा, रहस्यमय रुपमा ओली मौन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीमाथी लगातार निशाना साँधिरहेका छन् । तर एमाले अध्यक्ष ओली भने रहस्यमयरुपमा मौन बसेका छन् ।

विगत तीन दिनयता माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीमाथी अन्धराष्ट्रबाद, फाँसिबाद र हिटलरको संज्ञा दिँदा पनि मौन बसेका छन् । विहीबार जनकपुरमा ओलीलाई नश्लबादीको संज्ञा दिएका दाहालले बुधवार धनुषाको जनकपुर धाममा हिटलरको संज्ञा दिए ।

‘हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भयो। नश्लवादी राष्ट्रवादले अन्ततः जाति जातिलाई लडाउँछ र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ। अन्धराष्ट्रवाद अन्तिममा फासीवादमा बदलिन्छ, नेपालमा पनि यो अभ्यास गर्न खोजिएको छ’ एमाले अध्यक्ष ओलीलाई संकेत गर्दै दाहालले पार्टी प्रशिक्षण कार्यक्रममा भने ‘ओलीले कुहिएको पिठो बेचे, हामीले असली चामल पनि बेच्न सकेनौ, अबको चुनावमा जनताले कुहिएको पिठो र चामल छुट्टयाउँदैछन् ।’

प्रचण्डले आफ्नो कार्यकालमा हिमाल, पहाड र तराई जोड्न खोजेको तर ओलीले पहाडे राष्ट्रबादका नाममा हिटलर बन्न खोजेको आरोप लगाए । ‘मधेसी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोज्दैछन्। उनीहरु एउटा जातिलाई काखी च्यापेर अरु जातिमाथि छुरा हान्न खोजिदैछ । त्यो हामीलाई सह्य छैन’ दाहालले भने ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले लगाएका आरोपको जस्ताको जस्तै फर्काउन सिपालु एमाले अध्यक्ष ओली चीनबाट फर्केदेखि मौन बसेका छन् । नेपाली शब्द ज्ञानमा जवरजस्त पकड भएका ओलीलाई हिटलरको संज्ञा दिँदा पनि उनी मौन नै बसेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice