श्रीमान विदेश गएपछि झुटा आरोप लगाई महिलालाई घरनिकाला

काठमाडौं


वैदेशिक रोजगारीका लागि श्रीमान विदेश भएका बेला परिवारका मानिसले झुटो आरोप लगाई एक महिलालाई लछारपछार गरी घरबाट निकालिदिएका छन् ।
काठमाडौं स्वयम्भू बस्ने विमला गोदार थापालाई श्रीमान् दुर्गाबहादुर वैदेशिक रोजगारका लागि विदेशमा रहेका बेला गलत र मनगढ़नते आरोप लगाई लछारपछार गरी सात जनाको समूहले आठवर्षीय छोरा दिवेशसहित निकाला गरिदिएको उनका आफन्तले बताएका छन् ।
पीडितकी माइजू सुशीला थापाले मंगलबार पत्रकार सम्मेलन गरी निर्दोष महिलालाई विनाप्रमाण घरबाट निकालिएको भन्दै दोषीलाई तत्काल कारबाही गरी पीडितलाई बस्ने वातावरण बनाउन आग्रह गरिन । उनले भनिन, ‘विनाप्रमाण निर्दोष महिलालाई साँझमा घरबाट निकाल्नु कत्तिको न्यायोचित हो ?’
सुशीलाले तीन हप्तादेखि बच्चा विद्यालय जान नपाएको भन्दै तत्काल उसलाई पढ्न पाउने अधिकार मिलाउन समेत आग्रह गर्नुभयो । पीडितले आफूलाई सहज रुपमा बस्ने वातावरण मिलाउन माग गर्दै प्रहरीसमक्ष उजुरीसमेत दिएकी छन् ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले घरमा बस्ने वातावरण मिलाउन आफूहरु लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरमा बस्ने वातावरण नमिलाइए मुद्दा अदालत पठाउँछौँ ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice