हाजिर गरेर भाग्ने सिंहदरबारमा डन बस्दा रहेछन्

काठमाडौं । पदभार ग्रहण गरेको एकसाता नपुग्दै सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले कर्मचारी नेताहरुलाई डनको संज्ञा दिएका छन् । ‘सिंहदरवारमा डनहरु बस्दा रहेछन, मेरो पहिलो कदम डनहरुका बिरुद्ध हुनेछ’, सल्यानी युवा सञ्जालले राजधानीमा गरेको सम्मान कार्यक्रममा मन्त्री बस्नेतले भने ‘धेरै कर्मचारीहरु हाजिर गरेर मात्र राज्यको तलव खाने गरेका रहेछन्, म त्यो सहन सक्दिँन ।’

मन्त्रालयको नाम सामान्य प्रशासन भएपनि काम भने असमान्य भएको उल्लेख गर्दै मन्त्री बस्नेतले केही कर्मचारीकोे ब्यवहारप्रति असन्तुष्टी जनाएका छन् । विभिन्न कर्मचारी संगठनका नेता, आधिकारिक टेड युनियनका पदाधिकारीहरु कार्यालयमा बसेर काम गर्दैनन् भन्ने आरोप लागिरहेका बेला मन्त्री बस्नेतले डनको संज्ञा दिएका छन् ।

मन्त्री बस्नेतले संघ, प्रदेश र स्थानीय तहका तत्काल कर्मचारी खटाउने बताए । कर्मचारी खटाउने बिषयमा आधिकारिक टेड युनियन र मुख्यसचिवका बीच अन्तरविरोध चलिरहेका बेला मन्त्री बस्नेतले तत्काल कर्मचारीहरु सवै तहमा पठाउने बताए । ‘मैले प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन निर्देशन दिइसकेको छु, यो समस्या छिट्टै हल गर्छु’, मन्त्री बस्नेतले भने ।

युवा सञ्चालले गरेको कार्यक्रममा एमाले नेता तथा ब्यवस्थापिका संसद अर्थसमितिका सभापति प्रकाश ज्वालाले बस्नेतलाई सफल मन्त्री बन्न पहिलेका सफल मन्त्रीहरुसँग मरामर्स गर्न सुझाव दिए । ‘यतिबेला समान्य मन्त्रालयको काम निकै महत्वपूर्ण छ, सफल मन्त्री हुन लालबाबु पंडितसँग सल्लाह गर्नुहोस म तपाईलाई बधाई र यही सुझाव दिन्छु’, ज्वालाले भने । बस्नेत सल्यान क्षेत्र नम्वर १ बाट र ज्वाला क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice