प्रचण्ड चुनावी रणनीति बनाउन ब्यस्त, देउवा बालुवाटारमा कुर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थाइल्याण्डबाट फर्के लगतै भावी चुनावको रणनीति बनाउन कस्सिएका छन् । आइतबार थाइल्याण्डबाट फर्केका दाहाल सोमवार विहानदेखि पार्टी केन्द्रीय समितिको बैठकमा ब्यस्त रहेका छन् ।

पहिलो र दोस्रो स्थानीय तह निर्वाचनको समिक्षा र भावी योजना बनाउन माओवादी केन्द्रको बैठक राजधानीमा सुरु भएको छ । स्थानीय तहको निर्वाचनबाट केही हौसिएको माओवादीले प्रदेश र केन्द्रको निर्वाचन तयारी पनि थाल्ने भएको छ ।

निर्वाचन तयारीका लागि डाकिएको बैठकमा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री जनार्दन शर्मा पुगेका छन् । स्थानीय तहको निर्वाचनमा अन्र्तघातका कारण ५० सिट गुमाएको आँकलन गरेको माओवादी केन्द्रले केही ब्यक्ति र कार्यकर्तालाई कारवाही समेत गर्ने भएको छ ।

बैठक सकेलगतै दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सोमबार नै मन्त्रीपरिषद गठनका लागि छलफल हुने भएको छ । माओवादी केन्द्रले मन्त्रीहरुको नाम प्रधानमन्त्री देउवालाई पठाइसकेको छ । देउवा र दाहालबीच छलफल भएपछि मंगलबार मन्त्रीपरिषद विस्तार हुनेछ ।

देउवा र दाहालबीच सोमबार विहान भेटघाटको समय निर्धारण गरिएको थियो । दाहाललाई कुरेर देउवा बालुवाटारमा वसिरहेका थिए । तर दाहाल पार्टीको आन्तरिक बैठकमा बसेका कारण उपस्थित हुन सकेनन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice