भरतपुर काण्डबारे नयाँ प्रधानन्यायाधीशले के भने ?

काठमाडौँ


एक दिन अगाडी मात्र नयाँ प्रधानन्यायाधीशको लागी अनुमोदित भएका सर्वोच्चका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीले भरतपुर महानगरपालिकाको फैसला सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।व्यवस्थापिका संसदको सुनुवाइ विशेष समितिमा भएको सुनुवाइका क्रममा सांसदहरुको जबाफ दिँदै प्रधानन्याधीश पराजुलीले भरतपुर महानगरपालिकाको चुनाव सम्बन्धी मुद्दामा सर्वोच्च छिट्टै निर्णयमा पुग्ने बताए ।

उनले भने – ‘मतगणना गर्ने कि फेरि मतदानमा जाने भन्ने विषयमा हामी छिट्टै निर्णयमा पुग्छौँ । असोज २ मा अर्को चुनाव छ । त्योभन्दा अघि कानुनअनुसार हामी निर्णयमा पुग्छौं ।’सुनुवाइका क्रममा सांसदहरूले भरतपुर महानगरको निर्वाचन परिणाम सम्बन्धी मुद्दाको पेसी बारम्बार सर्नुको कारणदेखि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग र नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्मका विषयमा चासो व्यक्त गरेका थिए ।

संसदीय समितिले पराजुलीको नाम आइतबार प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको छ । उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्तिसँगै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।२०४७ मंसिरमा पुनरावेदन अदालतको अस्थायी न्यायाधीशका रूपमा सेवा प्रारम्भ गरेका पराजुली सर्वोच्चको अस्थायी र स्थायी न्यायाधीश हुँदै न्यायपालिकाको सर्वोच्च स्थानमा पुगेका हुन् । त्यसअघि उनी कानुन व्यवसायीका रूपमा सक्रिय थिए । उनले प्रधानन्यायाधीश पदबाट २०७५ वैशाख १५ गते अवकाश पाउनेछन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice