जसले फूलबारीका फूललाई भाषिक एकताको माला बनाइदिए

डा‍. जयराज आचार्य


पृथ्वीनारायण शाह (शासनकाल वि. सं. १८००-१८३१) पछि भानुभक्त आचार्य (वि. सं. १८७१-१९२५) नेपाल राष्ट्र निर्माण आन्दोलनका दोस्रो कडी हुन् । आफूले राजनीतिक रूपमा एकीकरण गरेको नेपाललाई पृथ्वीनारायण शाहले चार वर्ण छत्तीस जातको फूलबारी भने । भानुभक्त आचार्यले त्यस फूलबारीका फूलहरूलाई भाषिक एकताको सूत्रमा उनेर माला बनाइदिए । त्यसैले हामी आज हामी हाम्रो राष्ट्रिय गीत यसरी गाउँछौं – “सयौं थुङ्गा फूलका हामी यौटै माला नेपाली” । यसरी ती दुई सपूतले नेपालको राष्ट्रिय पहिचान निर्माणको जग हालेका थिए ।

आजको नेपालको राष्ट्रिय एकता र पहिचानको एक मात्र बलियो आधार भनेको नेपाली भाषा नै हो र यसको सान्दर्भिकता नेपाल बाहिर पनि छ । दार्जीलिङ, सिक्किम आदि क्षेत्रमा पनि नेपाली भाषा नै नेपालीहरूको पहिचानको आधार बनेको छ । भारतको संविधानको आठौं अनुसूचीमा समेत नेपाली भाषा छ । त्यसको मतलब त्यहाँ यो सरकारी कामकाजको भाषा हुनसक्छ ।

भानुभक्तको सालिक नेपालमा भन्दा पहिले दार्जीलिङमा स्थापित भयो । यस काममा सूर्य विक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सूधपा) को ठूलो योगदान रह्यो । आज भानु जयन्ती नेपालमा मात्र होइन, दार्जीलिङ, सिक्किम र अन्यत्र पनि मनाइन्छ जहाँ नेपालीहरू बसेका छन् । पश्चिम बंगाल सरकारले भानु जयन्तीलाई राज्य स्तरमा नै मनाउने निर्णय गरेपछि गत वर्ष भानु जयन्तीका अवसरमा भारतका राष्ट्रपति प्रणव मुखर्जीले दार्जीलिङ गएर भानुभक्तको सालिकमा माल्यार्पण गरेका तसवीरहरू छापामा आए । नेपाली भाषा बोल्नेहरू भारतको राजनीतिमा समेत एउटा उल्लेख्य कारक बनेका छन् । यो भानुभक्त आचार्यको कामको फल हो ।

पृथ्वीनारायण शाह र भानुभक्त आचार्यले बनाएको राष्ट्रिय पहिचानको आधारमा आज हामी नेपालको आर्थिक र सामाजिक विकासका लागि प्रयत्न गर्दैछौं । आज हामीले राष्ट्र निर्माणका लगि गर्ने हरेक क्रियाकलाप उनीहरूले थालेको अभियानलाई अघि बढाउने व्यापक प्रयास हो । उनीहरूलाई यो राष्ट्रको भविष्य छ भन्ने विश्वास भएर नै उनीहरूले आफ्नो पूरा जीवन लगाए । हामीले आज नेपालको भविष्य अन्धकारतिर धकेल्न हुँदैन ।

भानुभक्तका समयमा नेपाली भाषाको भविष्य सुनिश्चित देख्‍नेहरू कम थिए । त्यतिखेर पढेलेखेकाहरू पनि कमै थिए र ती संस्कृतमा नै लेख्‍न चाहन्थे । तर भानुभक्तलाई यो देशको भविष्य छ र नेपाली भाषाको भविष्य छ भन्ने विश्वास भयो नेपाली साहित्यको जग हाल्न जाँगर आयो । उनी भन्दा अघि पनि छिटफुट नेपाली कविता लेख्‍ने कविहरू नभएका होइनन् । तर भानुभक्तले जुन नेपाली रामायणको रचना गरे (त्यो अनुवादै किन नहोस्) त्यति ठूलो कृति नेपाली भाषामा उनीभन्दा अघि कसैले लेखिएको पाइन्न ।

भानुभक्तका कृतित्वको बीज मोतीराम भट्ट, शम्भुप्रसाद ढुङ्गेल, चक्रपाणि चालिसे, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरेमा मात्र होइन, गोपाल प्रसाद रिमाल, भूपी शेरचन, हरिभक्त कटुवालको कृतित्वमा पनि झाङ्गिएको छ । यथार्थमा गद्य कविता, कथा, निबन्ध र उपन्यास लगायत नेपाली वाङ्मयका अनेकानेक विधामा कलम चलाउने सयौं लेखकहरू भानुभक्तकै विभिन्न अवतार हुन् र नेपाली राष्ट्र निर्माणको महाअभियानमा सामेल भएका विभन्न तहका सेना हुन् ।

भानुभक्तले नेपालको राजधानीलाई “अलकापुरि कान्तिपुरी नगरी” भनेर वर्णन गरे । आजको काठमाण्डुको हिलो, धुलो, धूवा, फोहोर र अस्तव्यस्तता देखेको भए उनी त्यसो भन्दैनथे होलान् । हामी आजको अवस्थाका कारकहरू हौं र यस विषयबाट हामी लज्जित हुनुपर्छ र यस्तो परिस्थितिलाई सुधार्न प्रयास हामीले गर्नैपर्छ ।

पृथ्वीनारायण शाहले बिसे नगर्चीबाट पाएको सुझावबाट देशको राजनीतिक एकीकरण गरे । भानुभक्तले घाँसीबाट प्रेरणा लिएर भाषिक एकीकरण गरे । अदना गरीब नेपाली नागरिकको बोलीले प्रेरित हुँदा राष्ट्रको त्यस्तो अभियान शुरु हुनेरहेछ । हामी विदेशबाट आयातित प्राडो-पजेरो चढेर गरीबको उपेक्षा गर्ने राजनीतिक रोग लागेकाहरूले ती सपूतहरूको जीवन र कामबाट पनि केही सिक्ने कि?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice