भत्काउ ती निष्ठुर भवनहरु

गोपाल सञ्जेल


ललितपुर महानगरपालिकाको भवन चीन सरकारको सहयोगमा बनेको हो । चार तले भवन भव्य छ । मेयर, उपमेयर, कार्यकारी अधिकृत र अधिकृतहरुको कार्यकक्ष तेस्रो, चौथो तलामै छ । भवनमा लिफ्ट जडान गरिएको छैन । ह्वील चेयर चढ्ने मार्ग पनि बनाइएको छैन ।
गोदावरी नगरपालिकाको कार्यालय निजी घर भाडामा लिई चलाइएको छ । मेयरको कार्यकक्ष तेस्रो तलामा छ भने कार्यकारी अधिकृत र उपमेयरको कार्यकक्ष दोस्रो तलामा । यी दुई कार्यालय त नमूना मात्र हुन् । हाम्रा अधिकांश सेवाप्रदायक सरकारी कार्यालयहरुको अवस्था यस्तैयस्तै अपाङ्ग र अशक्तमैत्री बिहिन छन् ।
एउटा अपाङ्ग वा अशक्त नागरिकका नजरबाट यी भवनहरुलाई नियालौँ न ! सेवाग्राहीले सेवाप्रदायकसँगको पहुँच पुग्दानपुग्दाको अन्तर कति पर्ला ? त्यो पनि सोचौँ न ! सार्वजनिक निकायहरुका कार्यालयहरु तय गरिँदा वा निर्माण गर्दा कतिसारो निष्ठुर हुन्छौँ हामी ?
शारीरिक रुपमा अशक्त मान्छेहरु पनि समाजमा छन् भन्ने हेक्का हामी कति राख्छाँै ? हाम्रा निजी तथा सार्वजनिक घर, भवन तथा कार्यालयहरु अशक्तमैत्री हुनुपर्छ भन्ने हेक्का त झन् पटक्कै गर्दैनौँ । मानौँ, समाजमा कोही अपाङ्गै छैनन् । सब दुनियाँ दुरुस्त छ । भागवानको दृष्टिगोचर सबैमा समान छ !
ललितपुर जिविसभित्रको कार्यकक्ष लेआउटका बारेमा गज्जबको तितोमिठो अनुभव छ, पङ्क्तिकारको । जिविसको सार्वजनिक सुनुवाई कार्यदलमा रहँदा । हामीले जिविसभित्रको कार्यकक्षहरुको लेआउटका बारेमा पनि प्रतिवेदन दिनुपर्दथ्यो । त्यतिबेला जनप्रतिनिधिहरु त थिएनन् तर जनप्रतिनिधिका हैसियतमा गरिने कार्य सबै गरिन्थ्यो । स्थानीय विकास अधिकारी एउटा तलामा, योजना अधिकृत अर्को तलामा, शाखा अधिकृत अर्को तलामा, लेखाअधिकृत अर्को तलामा रहेको पाइयो । एउटा सेवाग्राहीले सेवा लिन जाँदा तोक, टिप्पणी, सदर, राजश्व, चेकका लागि तल र माथि चढ्दा र झर्दाको हैरानी सुनाए । यदि म अपाङ्ग वा अशक्त थिएँ भने सेवा पाउन सम्भवै थिएन भने । ती सेवाग्राहीको कुरोले हामीलाई निकै गम्भीर बनायो ।
हामीले स्थानीय विकास अधिकारी, लेखा, योजना र शाखा अधिकृतहरु एउटै तला त्यो पनि छिडीको तलमै हुनुपर्ने भनि प्रतिवदेन सार्वजनिक गरिदियौँ । हामीले कार्यान्वयन गर्न दबाब पनि दियौँ । यसका लागि मन्त्रालयसम्म लबिइङसमेत गर्यौं । स्थानीय विकास अधिकारी प्रतिवेदनअनुसार कार्यकक्ष मिलाउन बाध्य भए । त्यसपछि अधिकृतहरु थिए जो छिडीमा झर्नुपरेको भन्दै हामीलाई व्यक्तिगत रिषइबी पोख्नसमेत भ्याए । यसो गर्दा वृद्ध, जेष्ठ नागरिक, अपाङ्ग, अशक्तहरुले कम्तीमा नीतिनिर्माता, निर्णायक तहका व्यक्तिहरुलाई सहजै भेट्न र आफ्ना कुरा राख्न पाए । कोही व्यक्तिलाई नमिठो लगेको हामीले मतलब गरेनौँ ।
अविबेकी र निष्ठुर बनेर निर्माण गरेका निजी घर, सार्वजनिक भवन र कार्यालहरुका बारेमा अपाङ्ग र अशक्तहरुको भूकम्पका बेलामा ज्यान जोगाउन गर्नुपरेको कसरतप्रति ज्यादै नमिठा अनुभूति छन् । भवन निर्माणकै खोटका कारणले कतिले ज्यानै गुमाउन बाध्य हुनुपर्यो । सेवा लिने कुरोमा त सधैँको कहर छँदैछ । अपाङ्ग र अशक्त नागरिकहरुका पीडा र न्यायका आवाज बोलिदिने केबल उनीहरुमात्रै होइनन् । ती पनि हाम्रै समाजका नागरिक हुन् । उनीहरुका पीडा हाम्रै पीडा हुन् । हाम्रै कथाव्यथा हुन् । त्यसैले उनीहरुसँगै ऐक्यबद्धता व्यक्त गर्नु हाम्रो दायित्व नै पर्छ । र, भन्नै पर्छ ती निष्ठुर बनेर निर्माण गरिएका तिम्रा भवनहरु तुरुन्तै भत्काऊ ! ती अपाङ्ग र अशक्तहरका लागि सहज भएनन् । मैत्री भएनन् । उनीहरुको मानवअधिकार सिधै हनन् भो । यसको सम्मान गर, निष्ठुर भवनहरु भत्काऊ !
अझ भौतिक रुपमा बनाइएका भवनहरु भत्काउनु पहिले मनका निष्ठुर भवनहरु भत्काऊ ! मनका निष्ठुर भवनहरु भत्किएनन् भने नयाँ निष्ठुर भवनहरु बन्ने क्रम रोकिन्न ! बनेका भत्काउनु ठूलो कुरो होइन तर नयाँ बन्ने क्रम रोकिनुचाहिँ ठूलो कुरो हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice