अन्तर्राष्ट्रिय टीट्वेन्टी क्रिकेटमा वेस्ट इन्डिजद्वारा भारत पराजित

जमैका


वेस्ट इन्डिजले आइतबार राति खेलिएको अन्तर्राष्ट्रिय टीट्वेन्टी क्रिकेटमा भारतलाई नौ विकेटले हराएको छ । जितसँगै घरेलु टोली वेस्ट इन्डिजले एकमात्र खेलको टीट्वेन्टी शृंखला पनि जितेको छ । यसअघि यी दुई राष्ट्रबीच खेलिएको पाँच खेलको एकदिवसीय शृंखला भने भारतले ३-१ ले जितेको थियो । टीट्वेन्टी खेलमा वेस्ट इन्डिजका जितमा एभिन लेविस नायक बने ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ९० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको क्यारेबियन टोलीले १८.३ ओभरमै केवल एक विकेट गुमाएर एक सय ९४ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । वेस्ट इन्डिजलाई विजयी बनाउन लेविसले अविजित एक सय २५ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका ओपनर ब्याट्सम्यान लेविसले केवल ६२ बलको सामना गरी १२ छक्का र ६ चौका प्रहार गरे ।

अनुभवी ओपनर क्रिस गेल भने २० बलमा एक छक्का र एक चौकाको मद्दतले १८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । गेल आउट हुँदा वेस्ट इन्डिजको स्कोर ८२ रन थियो । त्यसपछि लेविस र मार्लोन सामुएल्सले वेस्ट इन्डिजलाई विजयलक्ष्य पार गराएका थिए । सामुएल्सले पनि अविजित ३६ रनको योगदान गरे । उनले २९ बलको सामना गरी एक छक्का र पाँच चौका प्रहार गरे । वेस्ट इन्डिजले अतिरिक्त रूपमा १५ रन पाएको थियो ।

वेस्ट इन्डिजको एकमात्र विकेट भारतीय बलर कुलदीप यादवले लिए । उनको यो पहिलो टीट्वेन्टी सहभागिता हो । त्यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि दिनेश कार्तिकले ४८ र कप्तान विराट कोहलीले ३९ रन बनाएका थिए । ऋषव पन्तले पनि ३८ रन जोडे । ओपनर ब्याट्सम्यान शिखर धवनले २३ रन बटुले । भारतीय टोलीका अन्य ब्याट्सम्यानले भने उल्लेख्य उल्लेख्य संख्यामा रन बनाउन सकेनन् ।

वेस्ट इन्डिजका बलर जेरोम टेलर र केसरिक विलियम्सले दुई÷दुई तथा मार्लोन सामुएल्सले एक विकेट लिए । उक्त खेलमा वेस्ट इन्डिजका लेविस म्यान अफ दी म्याच घोषित भए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice