प्रदेश र संसदको निर्वाचन एकै चरणमा गर्न सकिँदैन : आयोग

काठमाडौं, २३ असार । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेश र संसदको निर्वाचन एकै चरणमा गर्न असंभव रहेको दोहो-याउनु भएको छ ।

काठमाडौंको थापाथलीमा शुक्रबार जियोक, नियोक र संकल्पले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उपस्थित प्रमुख निर्वाचन आयुक्त यादवले प्राविधिक, भौतिक र अन्य विविध कारणले दुई वटा निर्वाचन एकै चरणमा गर्न असम्भव रहने बताउनु भएको हो ।

‘निर्वाचन आयोग सबै निर्वाचन गर्न तयार छ’, उहाँले भन्नुभयो, ‘तर, प्रदेश र संसदको निर्वाचन एकै चरणमा गर्ने कुरा सम्भव छैन ।’
उहाँले केही समयको अन्तरमा निर्वाचन माघ ७ गतेभित्र गर्न सकिने बताउनुभयो ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा ५ अबै ५४ करोड रुपियाँ खर्च भएको प्रमुख आयुक्त यादवले बताउनुभयो । ‘स्थानीय तहको दुई चरणको निर्वाचनमा ५ अर्ब ५४ करोड रुपियाँ खर्च भएको छ’, उहाँले भन्नुभयो, ‘प्रतिव्यक्ति ४८८ रुपियाँ खर्च लागेको छ । विदेशमा प्रतिव्यक्ति १० देखि ३० डलरसम्म खर्च हुने गरेको रहेछ ।’

निर्वाचनका लागि सरकारले दिएको रकममध्ये ५ अर्ब रुपियाँ फिर्ता गरिएको यादवले बताउनुभयो । उहाँले यसपटक स्वदेशी पैसामा निर्वाचन गरिएको बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो, ‘यसपटक हामीले धेरै स्वदेशी पैसा खर्च ग-यौँ । विदेशबाट पनि सयहोग आएको थियो । हामीले लिएनौँ । थोरै मात्रै सहयोग लियौँ ।’

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगका सचिव सरुवा सरकारको तजबिजको कुरा रहेको बताउँदै निर्वाचन आचार संहिता विपरित सरुवा भएकोमा आफूले गल्ती गरेको स्वीकार गर्नुभयो । ‘सचिवको सरुवा निर्वाचन आचार संहिता विपरित भयो’, उहाँले भन्नुभयो, ‘यो विषयमा मैले माफी मागी सकेको छु । फेरि पनि माफी माग्छु ।’

प्रमुख निर्वाचन आयुक्त यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिने वित्तिकै मतदाता नामावली संकलन गरिने बताउनुभयो । ‘मतदाता नामावली अपडेट गर्ने तयारीमा छौँ’, उहाँले भन्नुभयो, ‘छिट्टै नामावली संकलन हुन्छ ।’

सोलुखुम्बुको दिङ्लामा निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गरेर बस्दा पनि कसैको उम्मेदवारी नपरेको यादवले बताउनुभयो । ‘हामीले सबैसँग सल्लाह गरेर निर्वाचन कार्यक्रम अगाडि बढायौँ’, उहाँले भन्नुभयो, ‘दिङ्लामा कसैले उम्मेदवारी पनि दिनुभएन । मतदान पनि गर्नुभएन । यो राजनीतिक विषय हो । सरकारको विषय हो ।’

निर्वाचन आयोगको प्राविधिक टोलीलाई छिट्टै भारत पठाएर इलेक्ट्रिक भोटिङ मेसिनका विषयमा अध्ययन गर्ने प्रमुख आयुक्त यादवले बताउनुभयो । ‘भारतमा संसदको निर्वाचनमा भोटिङ मेसिन प्रयोग भएको छ’, उहाँले भन्नुभयो, ‘नेपालमा पनि त्यसको सम्भाव्यताका विषयमा अध्ययन र अनुसन्धान सुरु भएको छ । सबैको सरसल्लाहमा अगाडि बढ्ने छौँ । उहाँले प्रदेश र संसदको निर्वाचनमा इलेक्ट्रिक भोटिङ मेसिन प्रयोग गर्ने विषयमा छलफल सुरु भएको बताउनुभयो ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भारतपुर घटना नदोहोरियोस् भनेर निर्वाचन आयोग सचेत रहेको प्रमुख निर्वाचन आयुक्त यादवले बताउनुभयो । ‘भरतपुर घटना नदोहोरियोस् भनेर हामी सचेत थियौँ र छौँ’, उहाँले भन्नुभयो, ‘सबै मतदान गणनास्थलमा सर्तक रहन निर्देशन दिएका थियौँ ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice