मतदानबाट बन्चित हुँदा प्रदेश-२ दुःखी

प्रदेश १, ५ र ७ का स्थानीय तहका जनता आफ्ना प्रतिनिधि छान्न आज मतदान गर्दै छन्। राष्ट्रिय जनता पार्टीको संविधान संशोधनको अडान कायम नभएको गरेकाले प्रदेश–२ का स्थानीय तहका मतदाता आज मतदानबाट वन्चित भएका छन् । राजपाको अडानका कारण अब २ असोजमा मात्र मतदान मिति तोकिएको कारण यो प्रदेशका जनता भने यतिबेला अन्य प्रदेशमा जस्तै मताधिकार प्रयोग गरेर आफ्ना प्रतिनिधि छान्न नपाएकोमा दुःखी छन्।

पटकपटक गरी प्रदेश–२ को स्थानीय तहको निर्वाचनमा चारपटक सार्ने सरकारको निर्णयप्रति यहाँका जनता आक्रोशित छन्। मिति तय भएका अन्य प्रदेशमा मतदानको भव्य तयारी हुँदा आफ्नो प्रदेश सुनसान रहेकोमा कोही राजनीतिक दल त कोही सरकारप्रति आक्रोश पोख्छन्। सातमध्ये ६ वटा प्रदेशमा स्थानीय तहको मतदान भइसक्दा समेत आफू बसेको प्रदेशमा मतदानको सुरसार नभएकोमा उनीहरू पछि परेको समेत महसुस गरिरहेका छन् ।

आफ्नो प्रदेशमा पटकपटक निर्वाचन मिति सार्ने सरकारको निर्णयलाई उनीहरू निर्वाचनको सम्मुखमा आइपुग्दा भने ‘अपरिपक्व’ भन्दै छन्। कलैया उपमहानगरपालिका–२ का विजय साह सरकारको अपरिपक्व निर्णयले प्रदेश–२ का जनता अन्योलमा परेको बताउँछन्। ‘तीनवटा प्रदेशमा निर्वाचन भइसके। तीनवटा प्रदेशका जनताले आफ्नो प्रतिनिधि आफैं छान्न मतदान गर्ने अवसर पाउँदै छन्,’ साह भन्छन्, ‘तर हामी प्रदेश–२ का जनताको मतदान गर्ने अधिकार सरकारले खोसेको छ। हामी आक्रोशित छौं। तत्काल निर्वाचन हुनुपर्छ।’

स्थानीय तहमा २० वर्षपछि निर्वाचन हुँदै छ। तर अन्य प्रदेशले जनप्रतिनिधि पाइसक्दा समेत प्रदेश–२ मा मतदानको सुरसार नहुनुले स्थानीय तहमा अनियमितता र भ्रष्टाचार मौलाउनेमा उनको चिन्ता छ। ‘मतदान गर्ने र आफ्नो नेता आफैं छनोट गर्ने अधिकार सरकारले निर्वाचन सार्दै खोस्ने गरिरहेको छ, राजनीतिक मुद्दा समाधान गर्दै निर्वाचन गर्नुपर्ने सरकार केटाकेटी निर्णयमा अल्झेको छ,’ उनी भन्छन्।

पर्सा जिल्ला सुवर्णपुर गाउँपालिका–२ ठोरीका छतेन्द्र आचार्यले लामो समयपछि हुन लागेको निर्वाचन प्रदेश–२ मा बारम्बार सारिँदा मतदाता निराश भएको बताए। उनले जनताको अधिकारमा दलका नेताहरूले आफ्नो स्वार्थ जोडेको भन्दै जनप्रतिनिधि चयन गर्न ढिला हुँदा विकासका गतिविधि प्रभावित भएको र जनताको भविष्य नै अन्धकारतिर धकेलिएको गुनासो गरे।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice