संगीता पन्त अर्थात साहसको प्रतिमुर्ती

 

भनिन्छ ‘हरेक चोटले त्यो भन्दा ठूलो अवसर बोकेर आएको हुन्छ ।’ जिन्दगीमा हामी एउटा ढोका बन्द भयो भनेर रुन्छौ,चिच्याउछौं,‘डिप्रेस’ हुन्छौं । तर हाम्रै अगाडि रहेका अरु तीनवटा खुल्ला ‘द्धार’ हामी देख्दैनौं ।

सुरुका दिनहरु थिए, प्रमाणपत्र पेश गरेर खाएको जागिरबाट एउटा हात नचलेकै कारण देखाएर उनलाई मास्टरीको जागिरबाट निकालिदा संगिता पन्त झण्डै झण्डै डिप्रेसनको शिकार भइन । तर आत्मवल गुमाइनन । जिन्दगीमा सबै चीज खानु तर हरेश नखानु सायद यही शव्दले उनलाई बचाइराख्यो । उनको इच्छा आकाक्षा र चाहनाहरुलाई मर्न दिएन ।
गाँउघरमा उनले सुनेकी पनि थिईन अग्रजहरुबाट ‘विष नभएको सर्प र इख नभएको मान्छे काम छैन ।’ जागिरबाट निकालिए पछि एक प्रकारको ‘इख’ थियो केही गरेरै देखाउने । उनको दिमागमा तत्कालै क्लिक भयो ‘एउटा हात नचले नि, मेरो शरीर चल्छ, मेरो दिमाग चल्छ, मन चल्छ ।

 

त्यही जागिरबाट निकालिएकी चोटले आज उनको जीवन कायपलट भएको छ । परिचय फेरिएको छ,आज देश विदेशमा उद्यमी समाजसेवी महिलाका रुपमा । तर,संगीताले यो स्थानसम्म पुग्नका लागि गरेको संर्घष जिन्दगीमा उनले खाएका हण्डर र ठक्करहरु बेहिसाब छ ।

 बिझाइरहने बिगत
सात वर्षकै उमेरमा घटेको एउटा घटना जो उनको जीवनभर बिझाइरहने दिन बन्न पुग्यो । बालापनमा खेल्दाखेल्दै लडिन् । जुन समय उनको उमेर थियो सात वर्षको । यसरी लडेकी संगीता पन्तको सुरुमा बायाँ हात नराम्ररी दुख्यो । कुहिना फुटेको आशंकामा गोरखाको मिसन अस्पतालमा हात प्लास्टर त भयो । तर, कुठाउँमा परेछ । जोर्नी खुस्किएको हातको प्लास्टर कुहिनामा गरियो । त्यस पछाडि हात चल्नै छाड्यो ।
डाक्टरबाट पार नलागेको उपचार धामिझाक्री र वैद्यले कसरी पार लगाउन सक्थ्यो ? उपचारका लागि भौतारिँदा भौतारिदै तीन महिनापछि वीर अस्पताल आएपछिमात्रै थाहा भयो । हातको त जोर्नी नै खुस्किएको रहेछ । उपचार त भयो तर निको भएन । उपचारकै सिलसिलामा दिल्ली, पटना सम्म पुगिन । तर २० को १९ भएन । बायाँ हात झन् झन् सुक्दै गयो । एकातिर यो पीडा छँदै थियो त्यो माथि समाजको पीडा थियो । उनीहरु मायाको भावले होइन, दयाका भावले हेर्दथे । माया र दया फरक चिज रहेछ ।
लुटिएको खुसी

भन्दथे “विचरीलाई त पूर्वजन्मको श्राप लागेछ ।” मुटू चिमोट्ने यस्ता वज्र धेरै पटक उनका कानमा बर्सिए । यद्यपि आफूलाई सम्हाल्दै अगाडि बढिन । जब म सानो छँदा बाँया हातमा लागेको चोटले बिक्षिप्त बने, भगवानप्रति ज्यादै नै रुष्ट थिए र बारम्बार पुकार गर्दथे, मलाई ७ वर्ष अगाडिको जस्तै अवस्थामा मेरो अवस्था फर्कियोस तर त्यो कहिल्यै सम्भव भएन । अनि मैले महसुश गर्दे गए म जे छु त्यही ठीक छु र सन्तुष्ट हुनुपर्छ ।
देव्रे हातको चाल रोकियो तर उनको पढाइ रोकिएन । गाउँबाटै एसएलसी उत्र्तीण गरिन ।

२०५७ सालमा एसएलसी सकेर गोरखाबाट काठमाडौँ आउँदा उनको एउटै सपना थियो ‘मास्टर बनेर गाउँ फर्किने । मनभरी यही सपना बोकेर उनी काठमाडौंमा आइन । दाजुभाउजूसँगै बस्न थालिन । ठमेलमा रहेको सरस्वती कलेजमा भर्ना भइन । प्रमाणपत्र तह सकिए पछि जागिरको खोजीमा लागिन । अनेक हण्डर र ठक्करबाट बसुन्धरामा रहेको एउटा बोर्डिङ स्कुलमा पढाउने काम पाइन । राम्रै अंक ल्याएर उनी एसएलसी उत्र्तीण भएकी थिईन । राम्रै अंक ल्याएर प्रमाणपत्र तह कटाएकी थिईन । त्यही प्रमाणपत्रका आधारमा उनी मास्टरी पेशामा जोडिइन् । त्यो बेला उनको खुसीको सीमा थिएन । तर उक्त खुसी १८ दिनबाट १९ दिन टिकेन ।
त्यहाँका प्रिन्सिपलले भूमिका बाध्दै भनिन् ‘बहिनी तपाईं स्मार्ट हुनुहुन्छ, राम्रो पढाउनुहुन्छ, सबै ठीक छ । तर हामीले तपाईंलाई निरन्तरता दिन सकेनौं !’
जागिरको ‘चक्कर’
त्यो दिन बल्ल उनी व्यँझिइन जागिर चक्करमा लागेर आफ्ना लागिमात्रै हुन्छ, मेरो जीवन चल्छ, अब मैले मेरो लागि होइन अरुको लागि पनि जिउनुपर्छ भन्ने सोच पलायो । तर समस्या थियो ‘पैसा’ । उनले प्रण गरिन आफूजस्तै अवस्थाबाट गुज्रिएकाहरुका लागि जिउने । एउटा जागिरबाट निकालिएकी उनी फेरि जागिर खोज्दै गइन । तर यो पटकको जागिर आफ्नो पेट पाल्नका लागि मात्र थिएन आफूजस्तै अवस्थामा रहेका अपाङ्ग भएकाहरुका लागि जिउने प्रण स्वरुप थियो । अठोठ र दृढ संकल्प सहितको थियो । गौशलामा रहेको शान्ति सेवा गृह नामक एउटा जर्मन प्रोजेक्टमा काम पनि मिल्यो । त्यहाँ सीप सिकिन सिलार्य बुनाईका । त्यहाँ रहँदा धेरै काम सिकिन । यही चार वर्षले उनको जीवन कोल्टे फर्कियो । उनको जागिरे जीवनमा धेरै ‘अपाङ्ग’महिलाहरू सम्पर्कमा आइसकेका थिए ।
आत्मविश्वाश

 

यो बीचमा त्रिचन्द्रबाट समाजशास्त्रमा बीए, एमए सकिन् । उनले जागिर छोडिन। त्यहाँ अल्झिरहनु उपयुक्त ठानिनन् । आफूसँग सम्पर्कमा भएका केही अशक्त महिलाहरू भेला गरिन् अनि केही ऊन खरिद गरेर हाते बुनाईका सामान बनाउन थालिन् । ती मात्रै होइन, साबुन अनि मैनबत्तिहरू पनि बनाउने क्रम चल्यो । अलिअलि जागिरबाट कमाएको पैसाबाट उनी आत्मनिर्भरताको बाटोमा अगाडि वढ्दै थिईन । सुरुमा पाँच जना महिलाहरू सम्पर्कमा थिए । ती सबै अपाङ्गता भएका थिए, कसैको एउटा खुट्टा चल्दैनथ्यो,कसैको दुइवटै । तर,हिम्मत कसैको कम थिएन ।
हेपाहा देखि मनकारी घरपेटी

उनीहरूलाई सिलाइ बुनाइको काम सिकाउन थालिन । उनको सपना माथि तगारो बनेर आए घरपेटी । जुन घरमा उनले कोठा लिएकी थिइन भाडामा ‘धेरै अपाङ्ग’हरू जम्मा भए भनेर घरबेटीले घर छोड्न उर्दी जारी गरे । एउटा घरबाट निकालिएकी उनी फेरि अर्काे घर चाहर्दै हिडिन । बल्लतल्ल घर फेला प¥र्यो । एउटा घरमा कोठ भाडामा लिने गरी एडभान्स पनि दिइन ५ हजार । तर अपाङ्ग भन्ने थाहा पाए पछि घरपेटीले एडभान्स फिर्ता गरिदिए । यस्ता अनगिन्ती दुख हण्डरहरुले उनको जिन्दगी घेरिए । तर विचलित भइनन उनी ।
घर भाडामा पाउन नसकिने रहेछ भन्ने लागेपछि मित्रनगरको एउटा खाली जग्गा मागिन् । यही शहरमा मनकारीहरु पनि भेटिँदा रहेछन । भेटिन यूकेमा बस्दै आएका जग्गाधनी । उनले हौसला थपे ‘बहिनी यस्तो पवित्र काम गर्न पवित्र काम गर्न लाग्नुभएको रहेछ भन्दै जग्गा दिए ।
मित्रनगरमै टिनका पाता जोडेर टहरो बन्यो । यस पछाडि मात्र उनको जीवनले गति लियो । संस्था जन्मियो । सुरुमा १२ जना अपाङ्ता भएका दिदी बहिनीलाई हस्तकलाको तालिम दिइन् । उनीहरुलाई त्यहिं सेल्टरको व्यवस्था मिलाइन् । सिलाई बुनाईको तालिम र उत्पादन कार्य सुरु भयो । फिनेल साबुन बन्न थाल्यो । हस्तकला, फेल्टजन्य वस्तुले तालिम केन्द्र भरिन थाले । घरभित्रै कुँजिएका अपाङ्गता भएका महिलाहरु एकपछि अर्को सम्पर्कमा आउन थाले । सामान उत्पादन र बिक्री आफैं सुरु भयो । यही टहराबाट उत्पादन भएका सामान ठमेलका चोक चोक लगेर बेच्न थालिन् । उनका दिन फिरे । सामान बिक्रीबाट आएको पैसाले सेल्टर चल्न थाल्यो । उनको आत्मविश्वाशको मात्रा चुलिँदै गयो ।

इप्साको जन्म

 


यही बीचमा आफूजस्तै अपाङ्गता भएकाहरुलाई लिएर सामाजिक कार्यका लागि शक्ति (इप्सा) नामक संस्था स्थापना गरिन् । ६६ सालसम्ममा आइपुग्दा संस्थागतरुपमै काम सुरु भएपछि सामानको अर्डर भ्याई नभ्याई भयो । हस्तकलाका सामान विस्तारै विदेशसम्म निर्यात हुन थाले । फिनेल साबुनको माग काठमाडौंमै बढ्यो ।
संगीताले अपाङ्गता भएका दिदीबहिनीहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्थिन् । तालिम सिकाउँथिन् । निपुण भएपछि बाहिर रोजगार खोजिदिन थालिन् । तालिम लिन आएका कतिपयलाई त जागिरको अफर नै आउन थाल्यो । क्षमता विकास नभएससम्म यहीं सिक्थे, खाने बस्ने छँदै थियो । गोजी खर्च पनि थमाइदिन्थिन् । यही बीचमा घरेलु तथा साना उद्योग र विभिन्न गैरसरकारी संस्थाले दिएका तालिमका प्रमाणपत्र निकालिन् । तालिमका सिप सम्झिन थालिन् । पेन्टिङ, वस्तु डिजाइन, सिलाई कटाई, मैनबत्ती, कम्प्युटर, साबुन(फिनेल बनाउने सिप थिए । कता(कताबाट सहयोग आउन थाल्यो।’ कसैले लुगा दिन्थे। कसैले खानेकुरा दिन्थे। कसैले सुत्नका लागि खाटहरू दिए। कसैले उनीहरूले बुनेका सामानहरूको ‘मार्केट’ बनाइदिए। कसैले ’अर्डर’ खोजिदिए। यसरी उनका ती झुपडीका ‘सेल्टरहोम’हरू भरिन थाले, अपाङ्गता भएकाहरू महिलाहरूले, उनीहरूले बनाएका सामानहरूले ।
तानेन जापानले
संस्था स्थापना गरेको ४ वर्षपछि जापान जाने मौका मिल्यो । उनलाइ जापानमै बस्न पनि अफर आयो । जापानमै भएको आफ्नै भाइ र चिनेजानेका साथीहरुले पटक पटक भनेका थिए हामी १२ लाख खर्चेर आयौं । कमाइ पनि ठीकै छ । तपाईं सित्तैमा आउन पाउनुभएको छ । यहाँ अपाङ्गता भएकालाई राम्रो अवसर छ । तपाईं यतै बस्नुस् । उनले इन्कार गरिन । बरु तालिमका बेला दिएको १ लाख रुपैयाँ कुनै खर्च गरिनन् । सिधै नेपाल फर्किन् । काठमाडौं उत्रेपछि संगीताका संघर्ष सुरु भए ।
असाहायको सेल्टर
यसरी एउटा जागिरबाट निकालिएकी संगिताले अहिलेसम्म दुई हजारभन्दा बढी अपाङ्ता भएका महिला दिदीबहिनीहरुले तालिम दिइसकेकी छिन । सबैले रोजगार पाएका छन । अहिले उनको आश्रममा सेल्टर लिएर बस्ने अपांग दिदी बहिनीहरुको संख्या ५० भन्दा बढी छ । केही दिनभर काम गर्छन साँझ फर्कछन् ।

 संगीताको सपना

उनले देखेको अबको सपना भनेको अपाङ्ता भएकालाई सुविधासम्पन्न सेल्टर बनाउने । अपांग भएकाहरु त्यही बसुन,त्यही काम गरुन र जिविकोपार्जन गरुन । यही उदेश्यमा नेपाल सरकारले ढिलै भए पनि पन्ध्र लाख रकम सहयोग गरेको छ । त्यस्तै संगीताको सस्थालाई सुरुवाती देखि अनवरत रुपमा स्काई मेमोरियल फाउन्डेसन लगायतका केही संस्थाहरुबाट सहयोग जुटेको छ । बाइपासमा सस्तोमा गुठीको जग्गा भेटेकी छिन । ८ वर्षमा एक एक पैसा जोडेको रकम थपेर ३४ लाखमा १८ आना जग्गा लिएकी छन् । त्यसमा केही सहकारीको ऋण छ । जीवनका उर्जाशील १५ वर्ष यसैगरी आफूजस्तै अपांगकै सेवामा बिताइरहेकी छिन निःस्वार्थ । बाँकी जीवन यस्तै असाहयहरुकै सेवामा विताउने संगिताको प्रण छ । संगीता यो अभियानमा हातेमलो गर्ने हातहरुको खोजीमा छिन । कुराकानीको विट मार्दै संगीताले भनिन अपांगता छेकबार होईन, अवसर पाएको खण्डमा हामीले हजारौं सकारात्मक र विकासका कामहरु गरेर देखाउन सक्छौ ।
आजपनि हामी अपांगताप्रति हेरिने अन्धविश्वास र बिभेदको कारणले ओझेलमा परिरहेका छौं तर सकारात्मक सोंच र अवसर दिइएको खण्डमा अपांगता भएका ब्यक्तिहरु पनि समाज विकासका प्रतिबिम्ब बन्न सक्ने र ती उद्यमशीलता बन्न सक्ने उनको निचोड छ ।

यदि तपाईका वर पर यस्तै समाजिक कर्ममा निस्वार्थ भावले होमिएका व्यक्तिहरु छन भने हामीलाई जानकारी दिनुहोस ।  हामी वहाँहरुको संर्घषको कहानी प्रस्तुत गर्दछौं ।priyarasuwa@gmail.com

 

2 Comments
  1. Wau great story about the Sangita Di. I am also the one of the person like you di. I am also becoming one of the example in the society though I am person with disability. We are the source of inspiration and encouragement. I was interlocked inside the four wall before 13 years but now…………..

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice