यी हुन् नेपालगन्ज उपमहानगरपालिकामा मेयरका प्रमुख दावेदार

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र भित्र धेरै आकांक्षी देखिए पनि तीनजना उम्मेदवारको रुपमा सशक्त दावेदार देखिएका छन्।
ठूलो दल नेपाली कांग्रेसबाट आधा दर्जन बढि मेयरका आकांक्षी भए पनि सुरेन्द्र हमाल प्रमुख सशक्त देखिएका छन् । ०४८ सालमा उपमेयर जितेका हमाल २० वर्ष अघि २०५४ सालमा पनि मेयरको उम्मेदवार थिए । त्यतिबेला तेस्रो स्थानमा रहेका थिए ।
नेपालगन्जमा रहेर राजनीति सँगै खेलकुद र समाजसेवामा निरन्तर रहेका उनी कांग्रेस भित्र मधेसी र मुस्लिम समुदायमा पनि लोकप्रिय मानिन्छन् । अहिले पनि हमाल राष्टिय खेलकुद परिषद्को कोषाध्यक्ष रहेका छन्। कांग्रेसबाट मेयर पदका लागि हमालवाहेक पार्टी सभापति किरण कोइराला, नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा. सुरेश कनौडिया, व्यापारी अच्युत प्रसाइँ, निरञ्जनसिंह सिजापति, निजामुद्दिन अन्सारी, रमेश गुप्ता, लक्ष्मीनारायण शाह, प्रशान्त विष्ट, नारायणी रुपाखेती, उमा थापामगर लगायतको चर्चा छ।
‘जति धेरैजनाले आकांक्षा गरे पनि सुरेन्द्र हमाल जत्तिको सशक्त दावेदार अरु हुन सक्दैनन्।’–नेपाली कांग्रेसका जिल्लास्तरीय एक नेताले भने–‘सुरेन्द्र दाई बलियो उम्मेदवार हो, उहाँलाई अगाडि सारे अरु सबै चुपचाप हुन्छन् ।’


दोस्रो ठूलो दल नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदका लागि पूर्व उपमेयर समशुद्दिन सिद्दीकी, व्यवसायी तथा समाजसेवी विजय गुप्ता लगायत आधा दर्जन बढि आकांक्षी देखिएका छन्। यी मध्ये सशक्त दावेदार र बलियो उम्मेदवारका रुपमा विजय गुप्ताको नाम चर्चामा आएको छ । विगत ३५ वर्षदेखि नेपालगन्जमा निरन्तर व्यवसाय गर्दै आएका उनी सफल व्यवसायी पनि हुन् ।
०५१ सालदेखि नेकपा एमालेमा संगठित भएर निरन्तर क्रियाशिल रहेका उनले हालसम्म पार्टीबाट कुनै पनि लाभको पद हासिल गरेका छैनन् । उनले ०५४ सालमा नेपालगन्जमा भएको पार्टीको छैठौँ महाधिवेशन व्यवस्थापनको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका थिए। हाल उनी पार्टीको केन्द्रीय उद्योग वाणिज्य विभागका सदस्य तथा प्रदेश नं. ६ का इन्चार्जका रुपमा पार्टी काममा समेत क्रियाशिल छन् ।
नेपालगन्ज जेसिज, लायन्स क्लव, मारवाडी युवा मञ्च लगायत दर्जनौं संघ–संस्थाका संस्थापकका रुपमा सक्रिय उनी नेपालगन्जमा सामाजिक सद्भाव र आपसी एकता कायम गर्ने कुरामा अग्रसरता देखाउने गरेका छन् । नेपालगन्जमा मारवाडी, मधेशी र मुस्लिम समुदायभित्र उनको राम्रो प्रभाव रहेको छ । सहयोग दाताका रुपमा धम्वोझी माविका व्यवस्थापन समिति सदस्य रहँदै आएका उनले त्यहाँ विगत चार वर्षदेखि कम्प्युटर ओभरसियर पढाईको लागि प्रत्येक वर्ष एकजनालाई जेहेन्दार छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा पार्टीको केन्द्रीय आर्थिक समिति सदस्य रहेका उनी सभासदको समानुपातिक सूचिमा रहेपनि सभासद्को अन्तिम सूचिमा पर्न सकेनन्। जिल्लामा पनि पार्टीका अभियान र कार्यक्रममा गुप्ताको निरन्तर सहयोग र समन्वय हुँदै आएको एमालेका एक जिल्ला नेताले बताए । ‘एमालेमा मेयरको आंकाक्षी धेरै हुनु स्वभाविक हो,तर उम्मेदवार आफैमा पनि सशक्त र जनप्रिय हुनुपर्छ।’–एमाले जिल्लास्तरीय नेताले भने–‘नेपालगन्जमा अहिले एमालेको संगठन पनि सुध्रिएको छ, विजयजीको यहाँको मधेशी र मुस्लिम समुदायमा राम्रो पकड रहेकोले उहाँलाई उम्मेदवार बनाउँदा जित निश्चित छ ।’
गुप्ता सँगै एमालेबाट पूर्व उपप्रमुख समशुद्दिन सिद्दीकी पनि मेयरका लागि चर्चित छन् । उनले २०६४ को संविधानसभा निर्वाचनमा सभासद्को टिकट पाएका थिए । एमालेबाट हालै मनोनीत वैकल्पिक केन्द्रीय सदस्य मोहम्मद हारुन हल्वाई, मौलाना अब्दुल जब्बार मञ्जरी, हाजी हलिम अन्सारी र निजामुद्दिन इद्रिसी मुस्लिम समुदायबाटै दोबार हुन् ।
यी बाहेक मेयरको दाबेदारका रुपमा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, पार्टी उपसचिव तथा उपमहानगर संयोजक प्रमोद धिताल, निवर्तमान नगर अध्यक्ष दत्तप्रसाद आचार्य, र पार्टीका पुराना नेता अशोक कर्माचार्य पनि चर्चामा छन्। महिला नेतृहरु शान्ति ढकाल, विजया धिताल र तुलसा थापाको पनि नाम चर्चामा छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट अतहर हुसेन फारुकी, दामोदर आचार्य, नविन शर्मा, गोपाल पुन, नारद पुरी लगायतको नामको चर्चा छ । माओवादीबाट आचार्य प्रमुख दावेदार मानिन्छन् । नेपालगन्जमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका आचार्य नेपालगन्ज उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत भईसकेका छन्। नेपालगन्जमा मुस्लिम समुदायसँग राम्रो प्रभाव राख्छन् । २०७० सालको संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नं.३ बाट सभासद्को उम्मेदवार रहेका उनी तेस्रो स्थानमा रहेका थिए । ‘पार्टीभित्रबाट धेरै साथीहरुले आकांक्षा गरिराख्नु भएको छ, पार्टीभित्रको योगदान, क्षमता र लोकप्रियतालाई ख्याल गरेका छौँ।‘–माओवादी केन्द्रका एकजना केन्द्रीय सदस्यले भने–‘अहिलेसम्म आचार्यजी नै प्रमुख दावेदारको रुपमा रहनु भएको छ ।’
राप्रपाबाट महामन्त्री डा. धवल शम्शेर राणा उम्मेदवारकै रुपमा घोषणा भए सरह छन् । उनले २०५४ सालमा एमालेबाट निर्वाचन लडेर मेयरमा विजयी भएका थिए । संविधानसभा २०७० मा राप्रपा नेपालबाट संविधानसभा सदस्यमा उम्मेदवार बनेका उनी सुशील कोईराला सँग पराजित भएका थिए । अहिले पार्टी एकीकरणपछि राप्रपाबाट पुनः मेयरको उम्मेदवार बन्ने उनले घोषणा गरेका छन् । राप्रपाबाट पूर्व अध्यक्ष कृष्ण खरेलको पनि उम्मेदवारी चर्चा छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice