अङगीकृतका नाममा भारतीय आतंककारीले लिए नेपाली नागरिकता

पछिल्ला केही वर्षयता सीमा क्षेत्रमा भारतीयले पहुँच, नाता–सम्बन्धका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिने क्रम बढेको पाइन्छ । यसरी नागरिकता लिने जिल्लामा सुनसरी अगाडि देखिएको छ ।

भारतीय आतंकवादी गतिविधिमा संलग्न निरञ्जन होजाईले सुनसरी धरानबाट ०६३ सालमा नेपाली नागरिकताको प्रमाणपत्र लिए ।

उनले पहिलो संविधानसभा निर्वाचनअघि घुम्ती शिविरमार्फत वंशजका आधारमा नागरिकता लिएका हुन् । प्रहरीले उनलाई नागरिकता दिन सिफारिस गर्ने तत्कालीन समयका माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीका प्रमुख अधिकृत नुनुलाल उरावलाई धरौटीमा छाडिएको छ भनि आजको नागरिकदैनिकमा खबर प्रकाशित भएको छ ।

भारतीय आतंकवादी गतिविधिमा संलग्न निरञ्जन होजाईले सुनसरी धरानबाट ०६३ सालमा नेपाली नागरिकताको प्रमाणपत्र लिए । उनले पहिलो संविधानसभा निर्वाचनअघि घुम्ती शिविरमार्फत वंशजका आधारमा नागरिकता लिएका हुन् ।

पहिलो संविधानसभा निर्वाचनअघि घुम्ती शिविरमार्फत पश्चिम कुसाहाबाट नागरिकता लिने मजलम मन्सुरीको अनुसन्धान भइरहेको छ ।  भारतीय नागरिक उनले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको आरोपमा अनुसन्धान भइरहेको हो । उनीविरुद्ध सप्तरी मधुवापुर– ६ का सदिक मियाँले किटानी जाहेरी दिएका छन् । मन्सुरीलाई पनि तत्कालीन माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीका प्रमुख अधिकृत उराव नेतृत्व टोलीले नै नागरिकता दिएको थियो ।

निर्वाचनअघि त्यतिबेला घुम्ती शिविरमार्फत भारत सुपोलका आलम अन्सारीलाई पनि वितरण गरिएको नागरिकता सम्बन्धमा प्रशासन कार्यालय सुनसरीमा उजुरी परेको छ । आलमले देवानगन्ज–६ बस्ने ससुरा खुसिद मियाँलाई बाबु बनाएर वंशजकै आधारमा नागरिकता लिएका थिए । तर, देवानगन्जकै इमरान अन्सारीले आलमले लिएको नागरिकता छानबिन गरी बदर गर्न माग गरेर उजुरी दिएका हुन् । मधेस आन्दोलन चर्किएका बेला र भोटको आशमा राजनीतिक दलले समेत भूमिका खेल्दा थुप्रै भारतीय नागरिकले वंशजका आधारमा सुनसरीबाट नागरिकता लिएको पाइएको छ ।

भारत सुपौलकै छोटकन साहले पनि रामगन्ज बेलगछिया– ५ को ठेगानामा नागरिकता लिएको खुलेको छ । उनले लिएको नागरिकताको नम्बर १०६/०६३०२५ हो । उनले रामगन्ज बेलगछिया– ५ कै रामजी साहलाई बाबु बनाएर नागरिकता लिएको खुलेको हो । घुम्ती शिविरमार्फत सुनसरीबाट नागरिकता लिने भारतीयको संख्या ठूलो छ । शिविर सञ्चालन गर्नुभन्दा अघि र पछि पनि यहाँबाट थुप्रै भारतीयले नागरिकता लिएका छन् ।

असरफ अलीले सिमरियाबाट नेपाली नागरिकता लिए, ०६६ भदौ १९ मा । असरफ भारतीय नागरिक हुन्, पछि छानबिन हुँदा बंगलादेशी भएको कागजात भेटिएर उनले चार वर्षअघि पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीमा कैद सजाय भुक्तान गरिरहेका थिए । ०६९ कात्तिक २३ गते राति झन्डै ८० फिट लामो सुरुङ खनेर उनीसहित १२ कैदी भागेका थिए । उनी भागेको एक सातापछि भारतकै कोलकातामा पक्राउ परे । नेपालमा अली असरफ अन्सारी नामले चिनिए पनि त्यहाँ भने सुब्रत बायनको नामले चिनिने उनी अहिले भारतमै कैद सजाय भोगिरहेका छन् ।

जिल्लाकै नरसिंह–७ बाट नागरिकता लिएका चारजना पनि भारतीय भएको ठहर गरी जिल्ला प्रशासन कार्यालयले ०७१ फागुन १९ गते बदर गर्न गृह मन्त्रालयलाई सिफारिस ग¥यो । प्रशासन कार्यालयको सिफारिसबमोजिम मन्त्रीस्तरको निर्णयअनुसार ०७१ कात्तिक २६ गते नैसहनवाद मियाँ, अहमद हुसेन मियाँ, इर्साद आलम र फहद अन्सारीको नागरिकता बदर गरिएको थियो ।

एकपछि अर्को नक्कली तथा झुटो विवरण पेस गरी नागरिकता बनाउने क्रममा भारतकै सुपोल घर भएका २८ वर्षीय अजयकुमार सुनारले पनि ०६४ पुस २७ गते जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नागरिकता निकालेको पत्ता लाग्यो । नरसिंह–७ मा बसोबास गर्दै गरेको विवरण पेस गरी नागरिकता निकाल्ने उनीविरुद्ध पनि प्रहरीले मुद्दा दायर ग¥यो । उनी पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्का चलान भए ।

भारतीयसँगै केही बंगलादेशी नागरिकले समेत नक्कली नागरिकता जिल्लाबाट निकालेको खुलेको छ । तीन साताअघि मात्र ६ बंगलादेशी नागरिक इनरुवाबाट पक्राउ परे । नक्कली नागरिकतासहित फेला परेका ६ जना नै अहिले पुर्पक्षका लागि कारागार चलान भएको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए ।

यसरी प्रशासन कार्यालयमा परेको उजुरीसँगै प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी भारतीय र केही बंगलादेशी नागरिकको नागरिकता लिने उपयुक्त थलो सुनसरी बन्दै आएको छ । ०६५ भदौ २ गते सप्तकोसी नदीले पश्चिम कुसाहा–४ मा पूर्वी तटबन्ध भत्काएर चार गाविसका मानव बस्तीमा क्षति पु¥यायो । विस्थापितलाई राहत दिने क्रममा घुम्ती शिविरमार्फत वितरण गरेका नागरिकता विवादित बने ।

सरकारले त्यतिबेला घुम्ती शिविर सञ्चालन गर्दा मधेस आन्दोलन उत्कर्षमा पुगेकाले कर्मचारी असुरक्षित बनेको अवस्था थियो, यही बेला थुप्रै भारतीयले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनायो । प्रशासन कार्यालयका कर्मचारी पर्शुराम घिमिरे भन्छन्, ‘त्यतिबेला कर्मचारीले खपिसक्ने अवस्था नै थिएन ।’ उनका अनुसार त्यतिबेलाको घुम्ती शिविरमार्फत सिफारिस गर्ने र सर्जिमन गर्ने व्यक्ति देख्नै नपाईकन नागरिकता वितरण गर्नुपथ्र्यो ।

घुम्ती शिविरबाट नागरिकता वितरणकै क्रममा जिल्लाको सत्तेरझोडाबाट त्यतिबेला नागरिकता वितरण गर्न खटिएका प्रमुख इन्जिनियर पर्शुराम बैदारसहित कर्मचारी सोमप्रसाद पोखरेल र सरोज भट्टराईलाई अपहरण गरेर तीन दिनपछि छाडिएका थिए । कर्मचारी अपहरणपछि डरत्रासले पनि कसैसँग सोधीखोजी नगरी नागरिकता दिनुपर्ने अवस्था आएको त्यतिबेला खटिएका कर्मचारी बताउँछन् ।

‘कर्मचारीकै असुरक्षा भएकाले घुम्ती शिविरमा कडाइ गर्न नसक्दा त्यतिबेला वितरण गरिएका नागरिकता विवादस्पद बनेका हुन्,’ प्रशासन कार्यालयका अर्का कर्मचारी कुमार न्यौपाने भने । अहिले पनि सरकारले घुम्ती शिविरमार्फत नागरिकता वितरण गर्ने तयारी गरिरहेका बेला कर्मचारीले पनि जिल्ला प्रशासन र इलाका प्रशासनबाटै दिनु उपयुक्त हुने बताए ।

सुनसरी प्रहरीले तीन वर्ष यता झुटो विवरण पेस गरेर नागरिकता लिने नौवटा मुद्दा चलाएको छ । प्रशासन कार्यालयमा परेका उजुरीबारे पनि अनुसन्धान गरेर गृह मन्त्रालयमा नागरिकता प्रमाणपत्र रद्द गर्न सिफारिस गर्ने सहायक प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए । ‘उजुरी परेपछि अनिवार्य छानबिन भएर टुंगोमा पुगिन्छ, सुनसरीमा परेका उजुरीबारे पनि चाँडै नै टुंगो लाग्छ,’ उनले भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice