’मधेसी मोर्चाका नेताहरुकै फरक फरक धारणा छ,अब जनमत संग्रह गर्नुपर्छ’

विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सहमतिमा मात्रै संविधान संशोधन प्रस्ताव आउनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले संशोधन प्रस्तावका विषयमा विरोधाभास देखिएकाले प्रमुख तीन दलको सहमतिले मात्रै भ्रम चिर्न सक्ने बताए ।

’मधेसी मोर्चाका नेताहरुकै फरक फरक धारणा, एमालेको पूर्ण असहमति र आफ्नो दलसँग पनि कुनै छलफल नगरेकाले संशोधन प्रस्तावमा विरोधाभास देखिएको हो,’  उनले भने । प्रमुख तीन दलका ठूला नेताबीच सहमति गरेर संशोधनको प्रस्ताव ल्याउनुपर्ने र त्यसो नगरिए समस्या समाधान नहुने उनको भनाइ छ ।

’संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता होओस् अनिमात्र हाम्रो पार्टीको आधिकारिक धारणा आउँछ,’ उनले भने ।
ठूला दलका नेताहरु आफ्नै निर्णयमा टिक्न नसक्ने बताउँदै नेता गच्छदारले आफैँ जिल्ला टुक्र्याउने र जोड्ने खेलमा लागेको आरोप लगाए ।’कहिले आठ प्रदेशमा सहमति गर्ने अनि सात प्रदेश बनाउने, कहिले पुरानै संरचना ठीक, कहिले बेठिक भन्ने, यस्तो पनि हुन्छ?’ उनले प्रश्न गरे ।

विवादित जिल्लाको समस्या आयोगको माध्यमबाट समाधान गर्नु उचित नहुने बताउँदै उनले झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुरका जनताबीच जनमत सङ्ग्रह गराउनुपर्ने बताए । कैलाली कञ्चनपुर जिल्लाका साथै पाल्पा, प्युठान, रोल्पा र गुल्मीका जनताको अभिमत समेत लिनुपर्नेमा उनले जोड दिएका छन् ।

मधेसको ‘एक इन्च जमिन’ पनि पहाडी प्रदेशमा मिसाउन नदिने भनेर मधेसी मोर्चाले आन्दोलन गर्ने र आन्दोलनमा शहादत भएका ६० जनालाई बिर्सेर बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर सहमति गरेको उनले आरोप लगाए । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice