प्रधानमन्त्रीकै अगाडी विमलेन्द्र, महरा भर्सेज रावल, ज्ञवाली चर्काचर्की

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा आइतवार बसेको पुर्ननिर्माण प्राधिकरणको बैठकमा चर्काचर्की परेको छ । बैठक सुरु हुनसाथ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्राधिकरणका सिइओ सुशील ज्ञवालीमाथी धावा बोलेका थिए । ‘तपाईका कारण पुर्ननिर्माण प्राधिकरणको काम अघि बढ्न सकेको छैन, अझै भूकम्प पीडितले राहत पाउन सकेका छैनन्, असफलता तपाईको हो की सरकारको ?’ बैठकमा सिइओ ज्ञवालीप्रति धावा बोल्दै निधिले भने ‘तपाई काम गर्न सक्नुहुन्न भने अझै राजीनामा दिनुस् ।’

बैठकमा निधिले लगातार उनलाई आक्षेप लगाई रहे । ‘तपाई सकारको भन्दा बाहिरबाट चलेको जस्तो छ, तपाईका कारण सरकार असफल हुन सक्दैन’ , निधिले एमालेबाट ज्ञवाली चलेको आरोप लगाउँदै राजीनामा मागे ।

तर ज्ञवालीले पनि आफ्नो गतिलो जवाफ फर्काए । ‘उपप्रधानमन्त्रीज्यूले मलाई मात्र किन दोषि देख्नु हुन्छ, भूकम्प पीडितलाई क्षतिपूर्ति दिन अर्थ मन्त्रालयले रकम नै निकासा गरेको छैन, मैले कसरी वितरण गर्नु,’ ज्ञवालीले भने ‘म राज्यले दिएको जिम्मेवारी पुरा गर्दैछु, त्यसमा राज्य सञ्चालकको पनि केही जिम्मेवारी होला नी ।’ उनले गृहमन्त्री मर्यादा भन्दा बाहिर गएर बोलेको भन्दै प्रधानमन्त्री दाहालको ध्यानाआर्कण गराएका थिए ।

ज्ञवालीले अर्थ मन्त्रालयले बजेट निकासा नदिएका कारण समस्या भएको बताएपछि बैठकमै रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पनि निशाना साधे । ‘तपाईले माग नै गरेर पठाउनु भएको छैन, अनि मन्त्रालयले निकासा दिएन भन्न मिल्छ, अहिलेसम्म तपाईले निकासाका लागि माग गरेको मेरो जानकारीमा छैन ।’

महरा बोल्दा बोल्दै ज्ञवाली बिचमै भने ‘दुई पटक मैले तपाईलाई नै भेटेर भनि सकेको छु मेरो जानकारीमा छैन नभन्नुस्, तीन पटक माग गरि पत्र पठाइसकिएको छ तर पनि निकासा हुन सकेको छैन ।’

दुई उपप्रधानमन्त्री निधि र महरा सिइओ ज्ञवालीमाथी जाइलागि रहेका बेला एमालेबाट प्रतिनिधित्व गरेका उपाध्यक्ष भीम रावलले सरकारको कडा आलोचना गरे । ‘नाच्न नजान्न आँगन टेडो भनेको यही हो । प्रधानमन्त्रीज्यू कै अगाडी सिइओले तपाईलाई भेटेको भनि सक्नु भएको छ, तर पनि तपाईले निकासा दिनु भएको रहेनछ, अनि त्यसको दोषि पनि एमालेलाई लागउने ’ रावलले भने ‘गृहमन्त्रीज्यूको देखाई र बुझाईमै समस्या छ, सरकारमा तपाईहरु भूकम्प पीडितले राहत नपाएको दोष एमालेलाई किन ?’

बैठकमा चर्काचर्की सुरु भएपछि प्रधानमन्त्री दाहालले साम्य पारेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice