राजस्व सङ्कलन उत्साहजनक

   चितवन, १३ कात्तिक । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा ४९ प्रतिशतले बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार चालु आवको तीन महिनाका लागि तीन अर्ब १३ करोड ८४ लाख राजस्व असुली गर्ने लक्ष्य लिएको कार्यालयले उक्त अबधिमा तीन अर्ब ४४ करोड २५ लाख राजस्व सङ्कलन गरेको छ । गत आवको सोहि अबधिमा दुई अर्ब ३१ करोड ५० लाख राजस्व मात्र सङ्कलन गरेको थियो । यो लक्ष्यको तुलनामा १ सय ९ दशमलव ६९ प्रतिशतले बृद्धि हो ।

गत आवको सो अवधिमा दुई अर्ब ८८ करोड ५० लाख लक्ष्य राखिएकोमा कार्यालयले लक्ष्यको ८० दशमलव २४ प्रतिशत मात्र राजस्व असुली गरेको कर अधिकृत गुणराज पोखरेलले बताएका छन् ।

चालु आवको तीन महिनामा अन्तशुल्कतर्फ रु दुई अर्ब ८१ करोड ८५ लाख आयकरतर्फ २६ करोड ८६ लाख, घरवहालकरतर्फ दुई करोड ९० लाख, ब्याजकरतर्फ एक करोड ९२ लाख र मूल्य अभिवृद्धि करतर्फ २९ करोड ११ लाख राजस्व असुली गरेको आन्तरिक राजस्व कार्यालय भरतपुरले जनाएको छ ।

यसैगरी स्वास्थ्य करतर्फ एक करोड १३ लाख, शिक्षासेवा करतर्फ ४४ लाख सङ्कलन भएको छ ।

कर अधिकृत पोखरेलले गत आवमा भूकम्प र नाकाबन्दीका कारण बजार प्रभावित भएकाले राजस्व असुली हुन नसकेको भए पनि यसवर्ष बजार सहज भएकाले सोचेअनुरुप राजस्व सङ्कलन भएको बताए ।

कार्यालयका प्रमुख थानप्रसाद पगेँनी करदातामा सचेतना बढेको र करको दायरा बढेकाले राजस्व सङ्कलन लक्ष्यभन्दा राम्रो भएको बताउछन् । चालु आवमा १२ अर्ब ६३ करोड ७७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको पगेँनीले बताउछन् । जुन गत आवको भन्दा करिब २० प्रतिशत बढी हो । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice