संसदमा प्रस्तावक शाहीले पेश गरे महाभियोगका नौ बुँदे प्रस्तावहरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्तावक महेन्द्रबहादुर शाहीले व्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव पेश गरिसकेका छन् । सभामुख ओनसरी घर्ती मगरको उक्त प्रस्ताव पेश गर्ने आदेश दिएसँगै उनले सो प्रस्ताव पेश गरेका हुन ।

प्रस्तावक शाहीले महाभियोग ९ बुँदे कारण सहित महाहभियोग प्रस्ताव पेश गरेको छन् । उनले पेश गरेका नौ बुँदे प्रस्तावहरु :–

१. संसदले बोलाउँदा अन्तिम समयमा डाक्टरले नबोल्ने भनेको छ भनी पत्र पठाएर अनुपस्थित भएको तर त्यहि समयमा एउटा नीजि टेलिभिजन च्यानलमा पत्रकारसंग भलाकुसारी गरेको दृश्य सार्वजानिक गरी सार्वभौम संस्थाको अपहेलना गरेको । संसदको सम्बन्धित समितिमा बोलाउँदा अटेर र अपहेलना गरी सार्वभौम संसदलाई चुनौती दिएको ।

२. न्यायपालिकाबाट जारी म्याद तामेली गर्न जाँदा भिजिलान्ते प्रयोग गरी हुलहुज्जत गर्ने र न्याय प्रशासनमा व्यवधान सिर्जना गर्ने र न्याय संस्थालाई अनुचित विलम्ब गरी अदालतको अपहेलना जस्तो जघन्य कार्य गरेको ।

३. आफ्नो नजीक र नातागोता पर्ने व्यक्तिलाई भ्रष्टाचार मुद्दामा प्राकृतिक न्यायको सिद्दान्त र मुलुकी ऐन अदालती बन्दोबस्तको ३० नम्बर विपरीत आफैले निर्णय गरेर उजुरी तामेलीमा राखिदिएको ।

४. आफ्नो नाताको व्यक्तिको लगानी रहेको किस्ट मेडिकल कलेजमा क्षमता भन्दा वढी संख्यामा : भर्ना कोटा बढाउन नेपाल मेडिकल काउन्सिललाई दबाब दिई स्वार्थको द्वन्द्वको सिद्दान्त विपरित निर्णय गरी अख्तियारको दुरुपयोग गरेको र काठमाडौं विश्वविद्यालयले संचालन गरेको प्रवेश परिक्षामा अनावश्यक हस्तक्षेप गरेको ।

५. कानुनको ठाडो उन्लंघन गर्दै अख्तियारी बेगर दलका नेता र सुरक्षा अंगका प्रमुखहरुको गुप्तचरी गर्ने, कल डिटेल बुझ्ने, फोन ट्यापिंग गर्ने जस्ता गतिविधि गरी राज्य विरुद्ध जासुसी कार्यमा संलग्न रही राज्य विरोधी कसुरमा संलग्न भएको ।

६. काठमाडौं उपत्यका विकास प्राधिकरण लगायतका अन्य धेरै निकायहरुमा भएका अनियमितता सम्बन्धी उजुरीहरु अपारदर्शी रुपमा तामेलीमा राखेको ।

७. अख्तियार दुरुपयोग अनुसन्धान आयोग भित्रै छुट्टै र गोप्य गुट खडा गरी अन्य आयुक्तहरुलाई निर्णय प्रक्रियामा सामेल नगराई अपारदर्शी र एकलकाँटे ढंगले कार्य संचालन गरेको ।

८. कसैले गल्ति, अनियमितता वा भ्रष्टाचार गरे नगरेको रखबारी गरी अम्बुड्समेनको  भूमिका निभाउनु पर्नेमा पद र शक्तिको दुरुपयोग गरी आफै कार्यकारी शक्ति भए झैँ गरी राज्यको कार्यकारी शक्तिमा अतिक्रमण गरी प्रहरी, प्रशासन र गुप्तचर संस्थालाई आफु अनुकूल चल्न र निर्णय गर्न बाध्य पारी अख्तियारको दुरुपयोग गरेको ।

९. भ्रष्टाचार जन्य क्रियाकलापको गम्भीर अनुसन्धान गरी प्रमाणको आधारमा मुद्दा दायर गर्ने संबैधानिक अधिकार हुँदा हुँदै सो नगरेर उल्टै पत्रकार सम्मेलन गरेर अनुसन्धान गर्दैछौ भनेर प्रचार गरी व्यक्तिलाई वदनाम गर्ने गरेको ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice