गृहमन्त्रीज्यू ! मेरो बहिनीको ठाँउमा तपाईको बहिनीको हत्या भएको भए के गर्नुहुन्थ्यो ?

गाँउको सोझा सिधा छोरी÷चेलीलाई माया प्रेमको मोह जालमा फसाएर शारिरिक सम्बन्ध राख्ने,गर्भ बोकाउन र पेटमा पाप हुर्कदै जाँदा त्यो चेलीलाई स्वीकारेर आफ्नो बनाउनु पर्ने समयमा हत्या गरिदिने ? अनि,पाप पखाल्न राजनीतिक दलको आड लाग्दै मुद्धालाई प्रभावित पार्ने र हत्यालाई आत्महत्यामा बदलिने । हो,यस्तै त्रासदिपूर्ण घटना भोगेको एक पीडित हुँ म । जो न्यायको भीख माग्दै हिडिरहेको छु ।
गोर्खा क्याम्पसमा स्नातक दोश्रो वर्षमा अध्ययनरत थिइन मेरी बहिनी कृष्णा गिरी । सामाजिक सञ्जालबाट नजिकिइएका रहेछन सर्लाही कडरिया ६ का अविनाश भारतीसँग । डेढ वर्ष अगाडि सामाजिक सञ्जालबाट जोडिएको यि दुई बीचको देख भेट विनाकै नाता यति धेरै गहिरियो कि बहिनी घर परिवार छाडेर रातारात काठमाडौं आइन । गाँउकै युनाइटेड वोर्डिङ स्कूलमा पढाँउदै आएकी उनी घर परिवारको सल्लाह विना काठमाडौं आएकी थिईन । र र्कीतिपुरको ट्याङ्लाफाँटमा चीरिकाजी मर्हजनको घरमा डेरा लिएर बस्न थालिन । सोही घरमा बस्ने रहेछन अविनाश । यसरी सामाजिक सञ्जालबाट नजिकिएका उनीहरु काठमाडौंमा आएर लिभिङ टुगेदरको रिलेसनमा बस्न थालेका थिए ।
उनै अविनाशले बहिनीलाई सुरज आर्केटमा जागिर लगाइदिएका रहेछन । यसरी बहिनीले गाँउ छाडेर आएको वैशाखमा । यो ६ महिनाको अवधीमा फोनमा तारान्तार घरमा सम्र्पक भइरहेको थियो । सबै कुरा राम्रै थियो । तर।गत असोज २ गते बहिनीको आत्महत्या गरेको खबर आयो । भन्नलाई आत्महत्या भनियो तर यो सुनियोजित हत्या थियो । किनभने सोही दिन बहिनीले कार्यलयबाट फर्कदै गर्दा बेलुका ७ बजेर २४ मिनेट जाँदा फोन गरेकी थिइन । पारिवारिक कुरा मात्रै भएको थियो अन्य त्यस्तो केही कुरा भएको थिएन । टेकुबाट बहिनीले फोन गर्दा बुवा आमासँग ट्राफिक जाममा भएका कारण घर पुग्न ढिला हुने बताएकी थिइन ।

कृष्णाको प्रेमी
कृष्णाको प्रेमी

तर,सोही दिन अविनाशले सुरज आर्केटमा फोन गरेको रहेछ । चाडैं रुममा आइज भनेर थर्काएको कारण बहिनी कार्यलयमै रोइन । कार्यलयमा सुरज आर्केटको साधरणसभाको तयारी चलिरहेको थियो । सोही काममा उनी व्यस्त थिइन । बहिनीले घर जान ढिलो गरेपछि सुरज आर्केटकै प्रतिनिधिलाई हकारेका सुरज आर्केटकै कर्मचरी बताँउछन । साढे सात बजे टेकु जाममा छु भनेको मेरो बहिनीले आठ बजे र्कीतिपुरमा आत्महत्या गरेको खबर आयो । बहिनीको आत्महत्या नभएर हत्या नै हो भन्ने हाम्रो शंका गाढा हुनुपर्ने केही प्रमाणहरु छन । त्यहाँ सुसाइट नोट लेखिएको छ तर त्यो बहिनीको अक्षर कुनै हालतमा पनि होइन ।

र त्यहाँ प्रयोग भएका लवज/शव्द हाम्रो गाँउ ठाँउमा बोल्ने लवज होइन । दोश्रो,बहिनीको हत्या लगतै वल्खुमा रहेको वयोधा अस्पतालमा ल्याएको रहेछ उनै अविनाशले बोकेर र प्रहरीलाई खबर गर्ने पनि उनै रहेछन । अस्पतालमा आँउदा तिनको मुखबाट रक्सीको दुर्गन्ध आइरहेको थियो । कहिल्यै सारी नलगाउने मेरो बहिनीले सारीकै सुर्काे पारेर झुण्डिएर प्राण त्यागेको दाबी गरिएको छ ।

20160919_151322
सोही दिन प्रहरीसँगको बयानमा सुरुमा मेरो बहिनी भनेका छन भोलीपल्टै बयान दिँदा गर्लफ्रेण्ड भनेका छन । अघिल्लो दिनको बहिनी भोलीपल्टै गर्लफ्रेण्ड कसरी भइ ? पेशाले शिक्षक हुँ । वालाजुमा रहेको एउटा वोर्डिङ स्कूलमा आवद्ध छु । खबर सुन्ने वित्तिकै वयोधा अस्पताल बल्खु पुगे । त्यहाँ पुग्दा बहिनीको मुखबाट फिँज आइरहेको थियो । नाकबाट रगत बगिरहेको थियो । बहिनीको सुनियोजित ढंगबाट हत्या नै भएको ठहर गर्न हामीलाई गाह्रो भएन । सोही राती नै र्कीर्तिपुरका इन्सपेक्टर सुवास कार्कीलाई भेट्यौं । उनको भनाईले पोलेको घाउमा झन नुन चुक लगाउने काम पो भयो ।

मर्ने त मरिहाल्यो,बाच्नेको भविष्य हेर्नुहोस भन्छन इन्सपेक्टर सा प । हामी जस्लाई अपराधी भनिरहेका छौं उनी उसैले उद्धार गरेको दावी गरिरहेका छन । पीडितलाई साथ दिनुपर्ने प्रहरीले उल्टै पीडकसँग मिलेर केस ढिसमिस पार्न खोज्यो । हामीलाई सह्य भएन ।
हाम्रो मुद्धा कीर्तिपुर प्रहरीले दर्ता लिनै नमाने पछाडि कालिमाटी प्रहरी वृत्तमा पुग्यौं ।

मृतक कृष्णा
मृतक कृष्णा

त्यहाँका डिएसपीलाई भेट्यौं । उनले लेखेर ल्याउनुहोस,मौखिक हुँदैन भने । आफैले लेखेर दिएको जाहेरी पनि दर्ता गर्न मान्दैनन,तिनैले देखाएको वकिललाई लेखाएर दिँदा पनि किटानी जाहेरी दर्ता गर्न मान्दैनन । पछाडि यो मेरो क्षेत्र भित्र पर्दैन कीर्तिपुर जानुहोस भन्दै फेरि उता पठाए ।
फेरि डिएसपी मेघ बहादुर खत्रीलाई भेट्यौं । उनले यो सुसाइड नै हो ह्याङगिङ नै हो भन्ने ठोकुवा गर्छन । कहिले यो केश दर्ता ग¥र्यो भने मेरो जागिर नै धरापमा पर्छ भन्छन । प्रहरी यतिधेरै निरीह भएर प्रस्तु भएको जिन्दगीमा पहिलोपल्ट देखे । उनैले विक्रम सिंह थापालाई भेट्न भने । त्यसो हो भने केश मैले दरपिट गर्न सकिन भनेर हस्ताक्षर गर्नुहोस अनि भेट्छौं विक्रम सिंह थापालाई भन्ने अड्डी लिए पछाडि बल्ल जाहेरी दर्ता भयो । त्यहाँका इन्सपेक्टर सुवास ढकालले उल्टै हामीलाई थर्काएर उल्टै तपाईलाई जेल हाल्छु भनेको पनि बिर्सिएको छैन । मुस्कान सहितको प्रहरी सेवा भन्ने नारा घन्काउने प्रहरी प्रहरी संगठनका हाकिमहरुका संगठनका प्रहरीहरु यति बिध्न क्रुर भएको पनि जिन्दगीमा पहिलोपल्ट देखे ।

प्रहरीको वर्दी लगाएर जस्ले जे गरे पनि छुट हुँदो रहेछ ।
एकातिर बहिनी गुमाएका पीडामा छौं । अर्काेतिर राज्यको संयन्त्रमा एउटा निवेदन दर्ता गर्न दखोजेको दुई दिन भयो । कहिले यताबाट उता पठाँउछन,कहिले उताबाट यता ।

दुई दिन लगाएर बल्ल तल्ल निवेदन दर्ता त गरियो । मुचुल्का उठाइयो त्यहाँ पनि पीडत पक्षको कोही नराखी एकपक्षिय ढंगबाट । लाखलाई बल्खुबाट टिचिङ अस्पताल लैजादा समेत हाम्रो पक्षबाट कोही थिएन । मुचुल्काको एक प्रति फोटोकपी देउ न भन्यो दिनै मिल्दैन भन्छन । अहिले यी अपराधीलाई गृहमन्त्री विमलेन्द्र निधिले नै सुरक्षा गरिरहेका छन ।
बुझिए अनुसार,अविनाश भारतीको बाउ सर्लाही काँग्रेसका नेता,एउटा दाजु प्रहरी इन्सपेक्टर र अर्काे दाजु ‘ए’ लेभलकै ठेगदार । यसरी एउटा हत्यारालाई राज्यले संरक्षण गर्दैछ र हामी पीडित न्यायको भीख माग्दै कहिले यता कहिले उता गरिरहन बाध्य छौं ।

पोष्टमार्टमको रिर्पाट आयो । डाक्टरहरुको अनुसार हत्या अगाडि सेक्सुवल रिलेसन भएको बताइएको छ । अझैं पनि हामीले न्याय पाइन्छ भन्ने कुरामा एकरत्ति विश्वस्त छैन किनकी यहाँ पीडितलाई झन पीडा थप्ने खेल चलिरहेको छ र यो खेलमा एउटा अपराधीलाई जोगाउन गृहमन्त्रीज्यू कम्मर कस्सेर लाग्नुभएको छ । गृहमन्त्रीज्यू यस्तै अपराधीहरुलाई बोक्दै पीडित माथि बुट बर्साउदै जानुभयो भने तपाइको बाँकी राजनीति कहाँसम्म पुग्ला ? के यस्तै अपराधीलाई संरक्षण गर्नेलाई हो तपाईहरुले राजनीति गरेको ?
राज्यको संयन्त्रको काम पीडित मैत्री हुनुपर्ने हो तर पीडकसँगको मिलेमतोमा उल्टै हामीलाई सताइयो । हाम्रो एउटा प्रश्न छ,गृहमन्त्री र प्रहरीको हाकिमहरुलाई । यदि तपाईको छोरी चेलीलाई कसैले ललाई फकाई लिभिङ टुगेदरको सम्बन्धमा रहेर पछि चित्त नबुझे पछाडि हत्या गरिदिँदा मेरै छोरी÷ चेलीले आत्महत्या गरेको हो भनेर स्वीर्कान सक्नुहुन्छ ?उहिले न्याय हराए गोखा जानु भनिन्थ्यो । अब हामी गोर्खाली न्याय खोज्दै कहाँ जाने,एउटा गोर्खाली नन्द प्रसाद न्यायको भीख माग्दा माग्दै प्राण नै त्याग्न विवश भए । के हामीले पनि न्यायको खोजीमा उसैगरी प्राण त्याग्न पर्नै हो ?
  विष्णुराम गिरी,पालुङटार गोर्खा,

One thought on “गृहमन्त्रीज्यू ! मेरो बहिनीको ठाँउमा तपाईको बहिनीको हत्या भएको भए के गर्नुहुन्थ्यो ?
  1. बिष्णुरामजी को कुरा सुन्दा मलाई धेरै दुख लाग्यो अब यो देशमा गरिब जनता को लागि कतै न्यायछैनअहिले नेपालमा सबै नेता, सरकारी क्रमचारी, पत्रकार, प्रहरी, वकिल सब भ्रस्टचारी छन् | कांग्रेसका भ्रस्ट गृहमन्त्रीबाट र अन्य ठुलो ओहदाका भ्रस्टचारी बर्गबाट तपाईले न्याय पाउनुहोला जस्तो लाग्दैन | तपाईलाई नेपाली जनताको आवाजको खाचो छ |

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice