प्रधानमन्त्री दाहालद्वारा अस्पतालको निरीक्षण र कर्मचारीलाई निर्देशन

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्यान्सर उपचार केन्द्रको रुपमा विकास गर्न सरकारले सहयोग गर्ने बताएका छन् ।

उनको सम्मानमा आज अस्पताल परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अस्पतालको भौतिक निर्माण र उपकरण खरिदका लागि आवश्यक पर्ने बजेट विनियोजनका लागि सरकार सकारात्मक रहेको बताए ।

नेपालमा छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य र शिक्षा क्षेत्रमा सकारात्मक परिणाम आउने गरी द्रुतगतिमा काम गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले जनताको सेवामा कत्ति पनि विचलित नभई काम गर्न निर्देशन दिनुभयो । चीन सरकारले निर्माण गरिदिएको सो अस्पताल नेपाल र चीनबीचको मित्रताको प्रतीक रहेको भन्दै उनले नेपालका महान् नेताका नामबाट बनेको अस्पताल भएकाले पनि यसको महत्व छुट्टै रहेको बताए ।

स्वास्थ्यमन्त्री थापाले पुराना उपकरण क्रमशः परिवर्तन गरी आधुनिक र उच्च क्षमताका उपकरण जडान गरेर सेवा दिनुपर्ने आवश्यकतामा जोड दिए ।

अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनले अस्पतालले गत वर्ष एक लाख १४ हजार बिरामीलाई सेवा दिएको र १५ वर्षमुनि र ७५ वर्षभन्दा माथिका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए ।अस्पतालमा उपकरण पुराना हुँदा उपचारमा समस्या आएको भन्दै यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गरिदिन उनले आग्रह गरेका छन् ।

क्यान्सर अस्पतालमा हाल ५२ जना विशेषज्ञसहित ५७९ जना कर्मचारी कार्यरत रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

प्रधानमन्त्री दाहालले अस्पतालका सम्पूर्ण विभागमा पुगी त्यहाँ रहेका बिरामी र तिनका आफन्तसँग कुराकानी गर्नुभएको थियो । उनीहरुले प्रधानमन्त्रीसँग अस्पतालको उपचार सेवामा ढिलासुस्ती हुने गरेको गुनासो गरेका थिए ।

क्यान्सर उपचारका लागि केन्द्रीय अस्पतालका रुपमा रहेको यस अस्पतालमा भारत र भुटानका बिरामी समेत उपचारका लागि आउने गर्दछन् ।

प्रधानमन्त्रीद्वारा कार्यालय प्रमुखहरुलाई निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले जनताका काम छिटो छरितो ढङ्गबाट सम्पादन गर्न जिल्लास्थित कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो । ‘‘नेपालमा अपारदर्शी, ढिलासुस्तीको प्रवृत्ति बढेकाले यसलाई सुधार गर्नु आवश्यक छ’’ उजले बताए ।

पुँजीगत खर्च बढाउनु पर्ने बताउँदै आयोजना समयमै सम्पन्न गर्न पनि उनको निर्देशन थियो । प्रधानमन्त्री दाहालले विकास निर्माणका कार्य र जनतालाई सेवा सुविधा दिन कर्मचारी इमान्दारीपूर्वक हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले भने “जनता र विकासका पक्षमा उदाहरणीय काम गर्नुहोस्, त्यसबाट जनताले परिवर्तनको अनुभूति गर्न पाउनेछन् ।” राजनीतिले निर्देशन गर्ने र प्रशासनले कार्यान्वयन गर्ने हो भने देश र जनताको पक्षमा उल्लेखनीय काम हुने उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले कर्मचारीतन्त्रमा दण्ड र पुरस्कारको व्यवस्था लागू गरी राम्रो काम गर्नेलाई प्रोत्साहन र खराब गर्नेलाई कारबाही गर्ने प्रथाको विकास गर्नुपर्ने बताए ।

सो अवसरमा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice