तिब्बती पुस्तक प्रदर्शनी सुरु

  काठमाडौँ । तिब्बतको सामाजिक, सांस्कृतिक र आर्थिक विकासबारे जानकारी गराउने उद्देश्यले आजदेखि काठमाडौँको मल्ल होटलमा चारदिने पुस्तक प्रदर्शनी सुरु भएको छ ।

समग्र चीनको विकासमा तिब्बतको योगदान देखाउने उद्देश्यले आयोजना गरिएको पाँचदिने उक्त प्रदर्शनीमा त्यहाँका सांस्कृतिक सम्पदा, सभ्यतासँग जोडिएका ७५० विधाका पुस्तक राखिएका छन् ।

राजनीति, साहित्य, विज्ञान, धर्म–संस्कृति तथा कला मनोरञ्जनलगायत पाँच हजार २३९ थान पुस्तक र अन्य सूचना सामग्री प्रदर्शनीमा समेटिएको छ । केही अङ्ग्रेजी बाहेक प्रदर्शनीमा रहेका अधिकांश पुस्तक तिब्बती भाषाका छन् ।

तिब्बतको टेन्ली बुक सेन्टर, ल्हसाले आयोजना गरेको उक्त प्रदर्शनीमा तिब्बतको वेषभूषा, कला, संस्कृति, परम्परा झल्काउने चित्रकला पनि राखिएका छन् ।

पछिल्लो समयमा तिब्बतले हासिल गरिरहेको विकासको गति र त्यहाँका जनताको परिवर्तित जीवन शैलीलाई पुस्तकमार्फत उजागर गर्न खोजिएको छ ।

नेपाल र चीनबीचको दुईपक्षीय हित र सांस्कृतिक आदानप्रदान गर्न प्रदर्शनीबाट योगदान पुग्ने विश्वास लिइएको छ ।

उक्त प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री धनीराम पौडेलले चीनले छिमेकीलाई पनि आफूसँगै विकास र समृद्धिमा अघि बढाउने नीतिले दुई देशबीचको सम्बन्ध विस्तारमा थप योगदान पुगेको विश्वास व्यक्त गरेका छन् ।

उनले भने–“नेपाल सरकार एक चीन नीतिप्रति प्रतिवद्धता र दृढता व्यक्त गर्न चाहन्छ, चीनले अघि सारेको ‘एक क्षेत्र एक सडक’ सञ्जाललाई कहाँनेर जोडन सकिन्छ भनेर नेपालीले चासो लिइरहेका छन् । भाषिक जटिलताले गर्दा चिनियाँ पुस्तकलाई अनुवाद गर्न हुँदै आएको कठिनाइलाई अब दुबै देशको सहकार्यमा अन्त्य गर्न आवश्यक छ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले नेपाल र चीनबीचको सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझै बढाउँदै लैजानुपर्ने आवश्यकतामा जोड दिँदै प्रदर्शनीमा राखिएका पुस्तक र सूचना सामग्रीबाट नेपाली पाठक, साहित्यकार र विद्धानलाई छिमेकी चीनबारे बुझ्न सहजता प्रदान गर्ने धारणा राखेका छन् ।

नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले प्रदर्शनीमा रहेका पुस्तकको अध्ययनबाट तिब्बतको आर्थिक, सामाजिक र विकासको वास्तविक अवस्थालाई बुझ्न सहज हुने विश्वास व्यक्त रेका छन् ।

पूर्व मुख्यसचिव एवम् चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौडेलले प्रदर्शनीबाट तिब्बतले पछिल्लो समयमा आर्थिक र सामाजिक क्षेत्रमा हासिल गरेको उन्नतिबारे नेपाली समुदायलाई जानकारी गराउन योगदान पुग्ने बताए ।

उनले भने “चिनियाँ तथा तिब्बती भाषामा लेखिएका पुस्तकबाट चीनले लिएको विकास नीति र पर्यटन प्रवद्र्धनलाई बुझ्न सहज हुनेछ ।

राष्ट्रिय पुस्तक बिक्रेता सङ्घ नेपालका अध्यक्ष वसन्त थापाले तिब्बतीहरु आफ्ना प्रकाशनको बजार विस्तार गर्न नेपाल आएका हुनाले हामीले पनि आफ्ना प्रकाशन विशाल देश चीनमा पु¥याउन सक्नुपर्ने धारणा राखेका छन् । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice