चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब

भीमदत्तनगर । सरकारी विद्यालयमा भौतिक संरचना अभाव, विद्यार्थी सङ्ख्या घट्दै भन्नेलगायतका समाचार त धेरैले सुने र देखेका छौँ । तर कञ्चनपुरको बेदकोट नगरपालिका–१ पिपलथलामा रहेको गणेश निमाविमा भने शिक्षकलाई तलब खुवाउनसमेत गाउँमा चन्दा सङ्कलन गरिएको छ ।

विसं २०४९ मा स्थापना भएको विद्यालयमा हाल ३६७ जना विद्यार्थी अध्ययनरत छन् । दुईजना स्थायी शिक्षक र चारजना राहत शिक्षकले अध्यापन गराइरहेको भए पनि विद्यार्थीको चापले थप चारजना शिक्षक निजी स्रोतबाट राख्नुपरेको गणेश निमाविका प्राधानाध्यापक पशुपति मल्लले जानकारी दिए ।

“निजीस्रोतबाट शिक्षक नराखौँ स्कुल नै चल्दैन ।” प्राधानाध्यापक मल्लले रासससित भने – “चारजना शिक्षकका लागि मासिक रु ४० हजार जुटाउनुपर्ने हुन्छ ।” उनले शिक्षकलाई तलब खुवाउन गाउँमा अभिभावकसँग चन्दा सङ्कलन गर्दै आएको बताए । “इच्छाअनुसार गाउँलेले चन्दा दिइरहेका छन् ।” उनले भने – “गतवर्ष रु एक लाख ५० हजार चन्दा सङ्कलन भएको थियो ।”

विद्यालयले २०६६ सालदेखि शिक्षकलाई तलब खुवाउन गाउँमा चन्दा सङ्कलन गर्दै आएको जनाएको छ । “शिक्षकबाट पनि अध्यापनमा सहयोग हुँदै आएको छ ।” मल्लले भने– “स्कुल पुरानो भए पनि संचरना र व्यवस्थापन हुन सकेको छैन ।” जिल्ला शिक्षा कार्यालयले विद्यार्थी सङ्ख्याका आधारमा दिने रकमले व्यवस्थापनमा केही सहुलियत भएको विद्यालयले जनाएको छ ।

त्यसैगरी विद्यालयमा आवश्यक भौतिक संरचनाको पनि अभाव रहेको छ । “भवन छन् तर झ्यालढोका छैनन् ।” मल्लले भने –“अफिस र कम्प्युटर कक्ष एउटैमा छ ।”

विद्यालयको अन्य आय स्रोत केही नभएको बताउँदै प्राधानाध्यापक मल्लले विद्यालय परिसरमा विद्यार्थीलाई खानेपानीको निकै समस्या रहेको बताए। रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice