रोल्पा र रुकुमबादले मलाई मन्त्री बन्न दिएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेपछि नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टी देखा परेको छ । मन्त्री बनाउँदा क्षेत्रिय सन्तुलन र समावेशीलाई उपेक्षा गरेको भन्दै सांसदहरुले नेतृत्वप्रति असन्तुष्टी जनाएका छन् ।
रोजेर खोजेर मन्त्री बन्न नपाउनेको एकथरी असन्तुष्टी छ भने अर्काेतिर मापदण्ड विपरित नेतृत्वले मन्त्री छनोट गरेको भन्दै असन्तुष्टी देखिन थालेको छ । पहिले उर्जा त्यसपछि स्थानीय विकास मन्त्रालयको दावी गर्दै आएका प्रभु साह अन्तः मन्त्रीबाटै आउट भएका छन् । उनलाई प्रधानमन्त्री दाहालले कानुनमन्त्री बनाउन चाहेका थिए । तर उनले उर्जा वा स्थानीय विकासको दावी गरेपछि मन्त्रीबाट आउट भएका थिए । प्रभुले रोजेको मन्त्रालय पाएनन् ।
‘यहाँ केही क्षेत्रलाई उपेक्षा गरियो, रुकुम र रोल्पाबाद लागु भयो’ प्रभु साहले भने ‘पार्टीभित्र एउटा समुह छ जसले जहिले पनि गुटकै रुपमा चल्ने गरेको छ, त्यही गुटले रोल्पा र रुकुमबाद लागु गर्दछ ।’ माओवादी केन्द्रभित्र रोल्पा र रुकुमबाद हावी भएको भन्दै प्रभु लगाएत अन्य नेताहरुले आपत्ति जनाउँदै आएका छन् ।
त्यसैगरी मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्रबाट एउटा पनि फुलमन्त्री बनेनन् । अध्यक्ष तथा प्रधानमन्त्री दाहालले मन्त्रीको चयन गरेलगतै माओवादी केन्द्रका २५ महिला सांसद संसद भवनमा भेला भएका थिए । २७ मध्ये २५ महिलाले आपत्ति जनाइरहेका बेला भेलामा उपस्थित नभएका महिला सांसद भने राज्यमन्त्री बनिन् ।
उता माओवादी नेतृत्वले भने मन्त्रीको चयन सन्तुलनकारी भएको दावी गरेका छन् । सवै प्रदेशलाई समेटेर मन्त्री बनाएको नेताहरुको दावी छ । प्रदेश नंम्बर १ बाट राम कार्की, प्रदेश नम्वर २ बाट अजयशंकर नायक, प्रदेश नम्वर ३ बाट डीआर पौडेल, प्रदेश नम्वर ४ बाट हितराज पाण्डे, प्रदेश नम्वर ५ बाट कृष्णबहादुर महरा, प्रदेश नम्वर ६ बाट जनार्दन शर्मा, प्रदेश नम्वर ७ बाट गौरीशंकर चौधरीलाई मन्त्री बनाएको उनीहरुको दावी छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice