‘अध्यक्ष कमरेड कुन मापदण्डमा टेकेर मन्त्री छनोट गर्नुभयो ?’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा माओवादी केन्द्रका नेता तथा सांसदहरुले मन्त्री छान्ने  मापदण्डका बिषयमा प्रश्न उठाएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले आफैले बनाएको मापदण्ड आफैले उलंघन गरेको भन्दै सांसदहरुले आक्रोस पोखेका छन् । माओवादी केन्द्रले पाँच मन्त्री चयन गरेको केही घण्टापछि सांसदहरुले यस्तो प्रश्न उठाएका हुन् । ‘अध्यक्ष कमरेडले के आधारमा मन्त्री छान्नु भयो, छनोटको आधार के थियो र के गर्नु भयो, त्यो प्रश्न अब रहयो ?’ माओवादी पोलिटब्यूरो सदस्य तथा सांसद टेकबहादुर बस्नेतले भने ।
माओवादी केन्द्रले मन्त्री छान्न मापदण्ड बनाएको थियो । पहिलो मापदण्ड थियो समावेशी र समानुपातिक आधारमा मन्त्री बनाउने । तर माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्रीहरु न समावेशी परे नत समानुपातिक । क्याविनेट मन्त्रीमा न महिला परे नत जनजाति, आदिवासी, दलित, मुस्लिम, मधेसी नै परे ।
दोस्रो मापदण्ड थियो पहिला मन्त्री भइसकेका पुराना नेतालाई मन्त्रीमा नपठाउने । तर माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका अधिकाँस पुरानै अनुहार छन् । उपप्रधानमन्त्री कृष्णबहादुर महरादेखि जनार्दन शर्मासम्म मन्त्री भइसकेका नेता हुन् । माओवादी केन्द्रले बनाएको दोस्रो मापदण्ड पनि उलंघन भएको ठहर सांसदहरुले गरेका छन् ।
माओवादी केन्द्रले नयाँ अनुहारलाई मन्त्रीपरिषदमा स्थान दिने निर्णय गरेको थियो । तर नयाँ भन्दा पुरानाकै बोलबाला भएको भन्दै सांसदहरुले आपत्ती जनाएका छन् । ‘मापदण्ड एउटा बनाउने तर काम अर्कै भयो’ माओवादी केन्द्रका एक सांसदले भने ‘यसका जवाफ अध्यक्ष कमरेडले हामी र जनतालाई दिनु पर्दछ ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice