नेविसंघ महाधिवेशनमा रमिताःपार्टी मुख्यालयमा जोडियो सीसीटीभी

विवादका कारण ६ दिनदेखि रोकिएको नेविसंघको महाधिवेशनमा बन्दसत्र नै सुरु नभई निर्वाचनका कार्यक्रम हुने भएको छ । संघको महाधिवेशन अन्तर्गत आज मतदाताको अन्तिम नामावली प्रकाशन र भोली उमेदवारी दर्ताको समय तोकिएको छ ।

बुधबार प्रतिनिधि विवाद हल भएपनि कांग्रेस नेता कृष्णप्रसाद सिटौंला र पूर्व अध्यक्ष महेन्द्र शर्मा समूहले शुक्रबार मात्रै प्रतिनिधिको सूची निर्वाचन आयोगमा बुझाएका थिए । प्रतिनिधिको सूची शुक्रबार ढिला गरि समितिलाई प्राप्त भएका कारण बन्दसत्र सुरु हुन सकेन ।

निर्वाचन समितिले आज मतदाताको अन्तिम नामावली प्रकाशन र भोली उमेदवारको मनोनयन दर्ता र सोमबार मतदान गर्नेगरी कार्यतालिका बनाएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।

भोली उमेदवारको मनोनयन गर्ने कार्यतालिका रहेसँगै निर्वाचनका लागि आ आफ्नो उमेदवारको प्यानल बनाउन कांग्रेस नेताहरुलाई हम्मेहम्मे परेको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला प्यानल मिलाउन लागिपरेका छन् ।

यसैबीच २४ गतेदेखि हुन नसकेको बन्द सत्र कहिले सुरु हुन्छ भन्ने अन्योल कायम रहेका बेला निर्वाचन समितिले पार्टी मुख्यालयमा सीसीटीभी जडान गरेको छ ।

निर्वाचन समितिले नेविसंघको बन्द सत्र र मतदान पार्टी मुख्यालयमा गराउने भन्दै सीसीटीभी जडान गरेको हो ।

निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले यसअघि राष्ट्रिय सभागृहमा निर्वाचन गराउने तयारी गरेपनि मतदाता नामावलीको विवाद् नटुंगिएका कारण निर्वाचन कहिले हुन्छ भन्ने अन्योलले गर्दा पार्टी मुख्यालयलाई नै बन्दसत्र र मतदानस्थल बनाउने निर्णय सीसीटीभी जडान गरिएको बताए ।

Related Posts
Don't miss it
Editors choice