आगामी बन्ने सरकारको जिम्मेवारी चुनौतिपूर्ण हुन्छ ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकार नेतृत्वको जिम्मेवारी चुनौतीपूर्ण हुने बताएका छन् ।

क्रान्तिकारी किसान सङ्गठनको संयुक्त भेलाद्वारा आयोजित “क्रान्तिकारी किसान सङ्गठनको ऐतिहासिक एकता राष्ट्रिय भेला”को आज यहाँ उद्घाट्न गर्दै उनले अब नयाँ सरकारले गर्ने काम निकै जोखिमयुक्त रहने बताए ।  अबको सरकारको मुख्य दायित्व संविधान कार्यान्वयन गराउनु रहेको ृनको धारणा थियो ।

संविधान कार्यान्वयन गर्नुपूर्व आम जनताको हितमा हुने गरी संविधानको संशोधन र परिमार्जन हुनु जरुरी रहेको उनको  भनाइ थियो । उनलले राष्ट्रलाई आन्तरिक रुपमा एकतावद्ध र सुदृढ गराइराख्नु अर्को महत्वपूर्ण जिम्मेवारी भएको समेत बताए ।

गाउँपालिका, नगरपालिका, प्रादेशिक तथा संसद्को निर्वाचन गराउनु सरकारको थप चुनौती हुनेसमेत उनले प्रष्ट पारे । उहाँले सुस्त अवस्थामा रहेको पुनःनिर्माण कामलाई तीव्ररुपले अघि बढाउने समेत प्रतिवद्धता व्यक्त गरे ।

देशको विभिन्न स्थानमा आएको बाढीपहिरोले पीडित बनाएका जनताका लागि आवश्यक राहत र सहयोग गर्नु अर्को चुनौती भएको उनको धारणा थियो । यसैगरी देशका हितमा हुनसक्ने दीर्घकालीन एवम् ठूला आयोजना सुरु गर्नु पनि चुनौतीकै रुपमा रहेको उनले बताउनुभयो ।

नयाँ सरकार निर्माणसँगै बेपत्ता छानबिन र सत्य निरुपण आयोगले गर्ने काम दू्रत गतिमा अगाडि बढ्नेमा उनको विश्वास रहेको थियो । विगतमा माओवादी पार्टी सरकारमा भएकै कारण सेना समायोजन र हतियार व्यवस्थापनको काम पूरा भएको उनले उल्लेख गरे ।

उनले नेपाल कृषिप्रधान देश भएकाले खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषिमा नयाँ प्रविधिको प्रयोग गरिनुपर्नेमा जोड दिए ।

माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल ठाकुरले आफ्नो पार्टी श्रमजीवी वर्गको पार्टी भएको बताए ।

अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी, अखिल नेपाल किसान सङ्घ क्रान्तिकारी, अखिल नेपाल किसान सङ्घ माओवादी लगायतका सङ्गठन एक हुन लागेको कार्यक्रमका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice