संघीय संरचना अनुसार स्थानीय तहको पुनः संरचना निर्माणमा सवै दलको साझा प्रस्ताव

बाबियाचौर (म्याग्दी)। म्याग्दीका राजनीतिक दलले सङ्घीय संरचना अनुसार स्थानीय तहको पुनःसंरचनाका लागि साझा प्रस्ताव तयार गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र, राप्रपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाका नेताको शुक्रबार बसेको बैठकले म्याग्दीमा गठन हुने पाँचवटा स्थानीय तहको सीमाङ्कन, केन्द्र र नामका लागि साझा प्रस्ताव तयार गरेका हुन् ।

कार्यान्वयन गर्न सहज होस् र विवाद नहोस भनेर सबै दलले प्रशासनिक सुगमता, भौगोलिक बनावट, प्राकृतिक सम्पदा, जनसङ्ख्या, भाषिक र जातीय सघनतालगायत आठ वटा मापदण्डका आधारमा साझा सुझाव दिएको नेकपा (माओवादी) केन्द्रका संयोजक गोविन्द पौडेलले बताए ।

दलहरुले भकिम्ली, बरङ्जा, बाबियाचौर, कुहुँ र पात्लेखेतलाई हालको बेनी नगरपालिकामा समेट्न प्रस्ताव गरेका छन् । सदरमुकाम रहने नगरपालिकाको जनसङ्ख्या ४५ हजार हुनुपर्ने बाध्यात्मक मापदण्डको कारण आसपासका पाँच गाविसलाई नगरपालिकामा गाभ्न प्रस्ताव गरेको नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताएका छन् ।

यसैगरी गाउँपालिकाको जनसङ्ख्या २५ हजार रहनुपर्ने मापदण्ड रहेको छ । गुर्जा, लुलाङ, मुना, मुदी, मराङ, मल्कवाङ गाविस, कुइने मङ्गलेको १, २ र ३ नम्बर वडालाई समेटेर ताकम केन्द्र रहनेगरी धौलागिरी गाउँपालिका प्रस्ताव गरीएको छ ।

बिम, देवीस्थान, दरवाङ, रुम, ओखरबोट, निस्कोट र अर्मन गाविसलाई दरवाङ केन्द्र हुनेगरी मालिका वा मङ्गला गाउँपालिका बनाउन सुझाव दिएका छन् ।

पिप्ले, भगवती, दग्नाम, झिँ, पाखापानी, चिमखोला, बेगखोला गाविस र कुइनेमङ्गलेको ४ देखि ९ नम्बर लाई पिप्ले वा मौवाफाँट केन्द्र रहने गरी रघुगङ्गा गाउँपालिका बनाउने प्रस्ताव गरिएको छ । पोखरेबगर केन्द्र रहने गरी राम्चे, हिस्तान, दोवा, शिख, घार, भुरुङ तातोपानी, नारच्याङ र दाना गाविसलाई समेटेर कालीगण्डकी, निलगीरी, अन्नपूर्ण गाउँपालिका प्रस्ताव गरेका छन् ।

प्रशासनिक सुगमताका हिसाबले रुमको ८ र ९ नम्बर वडालाई ओखरबोट, बरङ्जाको– १ नम्बर वडालाई बाबियाचौरसँगैको वडामा समेट्न सुझाव दिइएको नेपाली काँग्रेसका जिल्ला सचिव हरिकुमार श्रेष्ठले बताए । । उनका अनुसार कुइने र मङ्गलेको विषयमा पनि गाविस छुट्टिएर फरक–फरक गाउँपालिका हुने अथवा एउटैमा रहने भन्ने विषयमा उनीहरुकै सुझावलाई मान्ने सहमति भएको छ ।

बाबियाचौर, कुहुँ र दरवाङको सीमा क्षेत्रमा पर्ने हिदी गाउँको विषयमा पनि थप छलफल गर्नुपर्ने र स्थानीय बासिन्दाको धारणा बुझ्नुपर्ने नेताहरुले बताएका छन् । दलहरु बाहेक नागरिक समाज, वुद्धीजीवी, प्राध्यापक, पत्रकार, महिला, जातीय सङ्गठनबाट पनि पुनः संरचनाका लागि सुझाव सङ्कलन भइरहेको प्राविधिक सहयोग समितिका संयोजक चिरञ्जीवी पौडेलले बताए ।

सबैको सुझाव अनुसार प्राविधिक सहयोग समितिले स्थानीय तहको नाम, सिमाना र केन्द्रको सिफारिस गर्ने पौडेलको भनाइ छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice