गच्छदारलाई सरकारमा लिन प्रचण्डको ‘एस’, देउवाको ‘नो’

काठमाडौ । भावी सरकारमा मन्त्री बन्न लाजिम्पाटदेखि बुढानीलकण्ठसम्म दौडधुप गरिरहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारलाई सरकारमा लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएपनि कांग्रेस सभापति शेरबहादुर देउवा भने असहमत देखिएका छन् ।
गच्छदारलाई उपप्रधानमन्त्री सहित सरकारमा लिन भावी प्रधानमन्त्री प्रचण्डले अनौपचारिक सहमति पनि गरिसकेका छन् । मधेसी मोर्चाका नेताहरुले धोका दिएपछि पनि बहुमतसहितको सरकार सञ्चालन गर्न गच्छदारलाई लिनु पर्ने निस्कर्षमा प्रचण्ड पुगेका छन् । तर सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने गच्छदारलाई ल्याउन नहुने पक्षमा छन् ।
७ साउनमा कांग्रेस माओवादी र मधेसी मोर्चाको बैठकमा संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गच्छदारलाई सरकारमा नल्याए आफुहरु सरकारमा जाने संकेत दिएका थिए । उनीहरुले गच्छदारलाई सरकारमा नल्याउन सर्त राखेपछि प्रचण्ड र देउवा उनीहरुको सर्तमा सकारात्मक देखिएका थिए ।
उपेन्द्रको सर्तलाई निस्तेज पार्न गच्छदारले निरन्तररुपमा प्रचण्ड र देउवासँग सम्वाद गरिरहेका छन् । दैनिक जसो प्रचण्ड र देउवा निवासमा पुग्ने गरेका गच्छदारले आफु सरकारमा जान चाहेको र मधेसी मोर्चाले भविश्यमा तलमाथी गरेपनि कांग्रेस, माओवादी र आफ्नो समर्थन भए सरकार रही राख्ने तर्क गरिरहेका छन् ।
उता गच्छदारलाई सरकारमा नल्याए एमालेले आफुबिरुद्ध गच्छदारलाई निरन्तर प्रयोग गर्न सक्ने त्रास प्रचण्डमा रहन थालेका छन् । एमाले गच्छदारलाई प्रधानमन्त्रीको उम्मेद्धार बनाउन सक्ने र आफुबिरुद्ध चुनावमा प्रयोग गर्न सक्ने आशंका प्रचण्डलाई हुन थालेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice