आफु निकटलाई मन्त्री बनाउन महरा र जनार्दनबीच टकराव, प्रचण्डलाई तनाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न सक्रिय नेकपा माओवादी केन्द्रका दुई नेताबीच टकराव सुरु भएको छ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र नेता जनार्दन शर्माबीच आफु निकटका नेतालाई मन्त्री बनाउन टकराव सुरु भएको हो ।
नेकपा माओवादी केन्द्रले १३ मन्त्रालय नेपाली कांग्रेसलाई दिएर ८ मन्त्रालय आफुले लिने सहमति गरेको छ । ८ मन्त्रालयमा आफु निकटका ब्यक्तिलाई मन्त्री बनाउन दुवै नेताबीच टकराव सुरु भएको स्रोतले बताएको छ । महरा पोलिटब्यूरो सदस्य टेकबहादुर बस्नेतलाई जसरी पनि मन्त्री बनाउने पक्षमा छन् । आफु अर्थमन्त्री भएपछि जुनसुकै मन्त्रालय भएपनि टेकबहादुर बस्नेतलाई दिने गरी उनले सुचि तयार पारेका छन् । जनार्दन शर्मा भने बस्नेतलाई रोकेर महेन्द्र बहादुर शाहीलाई मन्त्री बनाउने पक्षमा उभिएका छन् ।
महरा र जनार्दन ओली नेतृत्वको सरकार ढाल्न एक ठाउँमा आएपनि ब्यक्तिगत सम्बन्ध भने दुवै जनाबीच राम्रो छैन । लामो समयदेखि यी दुई नेताबीच टकराव रहँदै आएको छ । संघियताको सिमा निर्धारणका बेला पनि यी दुई नेताबीच टकराव भएको थियो । महरा रुकुम र सल्यानलाई ५ नम्वर प्रदेशमा राख्नु पर्ने पक्षमा थिए भने शर्मा ६ नम्बर प्रदेशमा राख्नु पर्ने पक्षमा थिए ।
युद्धकालदेखि नै महरा निकट मानिदै आएका बस्नेत सल्यानबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । लामो राजनीतिक इतिहाँस बोकेका बस्नेत सालिन स्वभावका नेता छन् । तिनैलाई मन्त्री बनाउन महराले आफ्नो सुचिमा राखेका छन् । तर जनार्दन शर्मा भने उनलाई रोक्न कस्सिएका छन् । शर्माले शाहीलाई बनाउन नसक्ने भए सीता नेपालीलाई मन्त्री बनाउन अर्काे नाम पनि प्रस्तावित गरेको छ ।
दुई नेताबीच द्धन्द चर्किएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज स्थायी समिति बैठक बोलाएका छन् । बैठकमा उनले पोलिटब्यूरोलाई पुर्णता दिने र मन्त्रीहरुको नाम टुंगो लगाउने अनुमान गरिएको छ । माओवादीले कुन मन्त्रालय लिने भन्नेमा कांग्रेससँग अन्तिम छलफल हुँन बाँकी छ । तर माओवादीले मन्त्रीहरुको नाम भने आजैदेखि छलफलमा ल्याउने भएको छ ।
महराले अध्यक्ष दाहाललाई आज मन्त्री बन्नेहरुको सुचि दिने भएका छन् । महराका अलावा शर्माले पनि छुट्टै सुचि तयार गरेका छन् । ‘त्यो सुचि पनि आज अध्यक्ष कमरेडसँग पुग्छ’ उनी निकटका एक नेताले भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice