संसद बैठकमा बोल्ने सांसदहरु भन्छन्, ‘नयाँ सरकारको प्रस्ट व्यवस्था छ, गलत प्रचार नगरौँ’

काठमाडौँ । व्यवस्थापिका–संसदमा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विश्वास छैन भनी दर्ता भएको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले संविधानसभाबाट जारी भएको संविधानको गलत व्याख्या नगर्न आग्रह गरेका छन् ।

उनिहरुले नेपालको संविधानको धारा २९८ ले नयाँ प्रधानमन्त्री चयनसम्बन्धी प्रस्ट व्यवस्था गरेकाले अनन्तकालसम्म कार्यकारी प्रमुख नै चयन हुन सक्दैन भन्ने दृष्टिकोणबाट सरकारमा रहेको दलका तर्फबाट प्रचार हुनु दुःखद् रहेको बताए ।

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का जितेन्द्रनारायण देवले नयाँ सरकार बन्नै सक्दैन भन्ने अतिवादी सोचबाट ग्रस्त भएर संविधानको अपव्याख्या नगर्न आग्रह गरे । उनले आफ्नो पार्टीले वर्तमान प्रधानमन्त्रीविरुद्ध सदनमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै शनिबार नै सरकारबाट फिर्ता भएको उल्लेख गरेका छन् ।

राप्रपाका  विक्रम पाण्डेले संविधानअनुसार नै नयाँ सरकार गठन हुने मार्गप्रशस्त रहेको छ भन्दै आफ्नो पार्टीले अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको बताए ।
सांसद कलसादेवी महराले लोकप्रियताको शिखरमा पुगेको सरकारलाई जबर्जस्ती ढाल्न लागिएको भन्दै असन्तुष्टि व्यक्त गरे । सांसद हरिचरण साह, रामकुमार राई, कुमार खड्का, रुक्मिणी चौधरी, चन्द्रेश्वर झा र नगेन्द्र कुमालले आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायको भावनाविरुद्ध ओली सरकारले गतिविधि गरेको भन्दै आफूहरुले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताए ।

सरकारी निकायमा चरम राजनीतीकरण गरियो– डा. महत

नेपाली काँग्रेसका डा. रामशरण महतले ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्छ भन्ने आफ्नो विगतको घोषणाले मूर्तरुप लिएको बताए । उनले सरकारी संयन्त्रमा चरम राजनीतीकरण गरिएको, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण लगायत निकायमा हस्तक्षेप गरिएको र  मन्त्रालय फुटाएर चरम विकृति भित्र्याइएको भन्दै सरकारको आलोचना गरे ।

काँग्रेस नेतृत्वको सरकारले कालापानी र लिपुलेकको विषयमा कुरा गरेको जानकारी दिँदै उहाँले कूटनीतिक विषय सडकमा हल्ला गरेर अगाडि बढ्न नसक्ने तर ओली नेतृत्वको सरकारले केवल हल्ला मात्रै गरेको आरोप लगाए । उहाँले नाकाबन्दी सरकारले खुलाएको नभई जनताको बलमा खुलेकाले त्यसलाई आफ्नो उपलब्धिमा राखिनु गलत भएको बताए ।

काँग्रेसकै अर्जुननरसिंह केसीले सरकारको नेतृत्वकर्ता दलभित्रै समेत सहमति नगर्ने, गुटगत मानसिकताका आधारमा अगाडि बढ्ने, सरकारमा सहभागी भएका दललाई विश्वासमा नलिने प्रवृत्ति मौलाएका कारण आफ्नै बोझले ओली नेतृत्वको सरकार ढलेका बताए ।

उनले बृहत् राष्ट्रिय एकता र सहमतिका आधारमा मुलुकमा अगाडि बढाउने लक्ष्यका साथ सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको धारणा राख्नुभयो । संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएपछि नयाँ सरकार गठन नै हुन नसक्ने भन्ने एमालेका नेताको धारणा संविधानको भावना विपरीत रहेको उनको कथन थियो ।

एमाले प्रतिपक्षमा बस्छः ज्ञवाली

नेकपा (एमाले) का युवराज ज्ञवालीले व्यवस्थापिका–संसद्मा राष्ट्रिय महत्वका सवालमा छलफल हुनुपर्नेमा अविश्वासको प्रस्तावमाथि छलफल हुनु दुःखद रहेको भन्दै गुनासो गरे ।

सरकारमा सहभागी भएकै दलबाट अविश्वासको प्रस्ताव आउनु दुर्भाग्यपूर्ण छ भन्दै उनले आफैँ सहभागी सरकारका नीति तथा कार्यक्रम र बजेटमाथि नै अविश्वास राखिनु गलत रहेको बताए ।

एमाले प्रतिपक्षमा बस्न तयार छ भन्दै उनले मुलुकका सामु रहेका समस्या समाधान गर्न सबै दलको सहमति जरुरी रहेको स्पष्ट पारेका थिए ।

दौरासुरुवालको अपमान किन

एमालेका लालबाबु यादवले दौरासुरुवाल नेपाली पोसाक भएकाले त्यसको अपमान नगर्न आग्रह गर्दै नेपालको राष्ट्रियताको जर्गेना गर्नुपर्नेमा जोड दिएका थिए । ‘‘अमेरिकन कोट र  बेलायती प्यान्टस लगाएर नेपाली पोसाकको विरोध गर्न पाइन्छ ? यो कसरी मिल्छ’’ उनले भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice