सरकार परिवर्तन भइरहँदा विकासमा असरः नेता पोखरेल

बर्दिबास । निवर्तमान शिक्षामन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले लगातार सरकार परिवर्तन भइरहने मुलुकको परिपाटीले विकास पूर्वाधारमा प्रतिकूल असर पु¥याएको बताएका छन् ।

महोत्तरी जिल्ला क्षेत्र नं. १ का सांसद समेत रहेका पोखरेलले मङ्गलबार आफ्नै क्षेत्रको बर्दिबास नगरपालिकाले आयोजना गरेको स्वच्छ एवम् ‘ग्रिन सिटी’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको विकासका लागि स्थिर र जनमुखी सरकार आवश्यक हुने धारणा राखेका थिए ।

भर्खरै आफैँ सम्मिलित सरकारबाट बाहिरिएर प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावका एक हस्ताक्षरकर्ता रहेका पोखरेलले दिगो सरकार बन्न नसक्नु राजनीतिक दल र सरकारको अयोग्यता भएको उल्लेख गरे । कुनै ठाउँको विकास सरकारी अनुदानबाट मात्र हुने सोचले मुलुक अपेक्षितरुपमा उँभो लाग्न नसकेको उनको थप भनाइ थियो ।

अहिले महोत्तरीसहितका पूर्व–पश्चिम राजमार्ग वरपरका बस्ती सहरीकरण हुने क्रम बढेसँगै खानेपानीको समस्या बढेको पोखरेलले औँल्याए । बढ्दो सहरीकरणबीच चुरे संरक्षण, जलाधार क्षेत्रको संरक्षण र वन सम्पदाको समुचित संरक्षण नगरिएर वृक्षरोपणका थप काम नगरिँदा पानीको हाहाकार बढेको पोखरेलले बताए ।

कार्यक्रममा वातावरण विज्ञ बिके महर्जन र अनुरुप मानन्धरले ग्रिन सिटी अवधारणाभित्र गरिनुपर्ने कामबारे कार्यपत्र नै प्रस्तुत गरेर छलफल चलाउनुभएको थियो । कार्यक्रममा अब नगरको समग्र विकासका लागि भूबनोट र उपयोगिताबारे अध्ययन प्रतिवेदन तयार गरेर योजनाबद्ध काम थालिनु पर्नेमा सहभागीले जोड दिएका थिए ।

बर्दिबास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका योजना निर्माणमा संलग्न हुने कर्मचारी, सञ्चारकर्मी, राजनीतिक दल र सामाजिक सङ्घसंस्थाका अगुवा एवम् सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice