कांग्रेस र माओवादीबीच सिंहदरवारमा गोप्य वार्ता, देउवाको जवाफले रन्थन्निएका प्रचण्ड बालुवाटारमा

काठमाडौं । सत्ताको हतारोमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज गोप्य छलफल भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा दाहाललगाएतका माओवादी नेता र कांग्रेसका शिर्ष नेताहरुबीच छलफल भएको स्रोतले बताएको छ ।
विहान एमालेसँगको सहकार्य तोड्ने निस्कर्षमा पुगेको माओवादी केन्द्रले दिउँसो कांग्रेस सभापति देउवालाई भेटेको छ । देउवालाई भेट्न प्रचण्ड, कृष्णबहादुर महरा र बर्षमान पुन अनन्त कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवार पुगेका थिए । गोप्य छलफलमा देउवासँग नेपाली कांग्रेसका नेता प्रकाशशरण महत र रमेश लेखक थिए ।
छलफलमा नेपाली कांग्रेस सभापति देउवाले नयाँ सरकार गठनका लागि वर्तमान सरकार छाडेर आउन प्रचण्डलाई देउवाले सुझाव दिएका छन् । ‘पहिले तपाईहरु वर्तमान सरकारसँगको सम्बन्ध तोडेर आउनुस्’ देउवाले छलफलमा भने ‘त्यसपछि नयाँ सरकार गठन बारे कुरा गरौला ।’ प्रचण्डले मागे जसरी सजिलै सरकारको नेतृत्व दिने गरी देउवाले कुनै आश्वासन नदिएको स्रोतले बताएको छ ।
कांग्रेससँगको छलफल सकिएपछि प्रचण्ड अन्तिम र निर्णायक वार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । बालुवाटारमा एमाले र माओवादी नेताहरुबीच छलफल सुरु भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice