त्यो सुहागरात, यो आघात

कथा

वैकुण्ठ ढकाल

घर साँघुरो भएपछि कोठा पनि साँघुरै हुन्छ, साँघुरो कोठा साँघुरो ठाउँ । सुहागरात स्वर्गीय आनन्दको रात बनाउने उसको योजना थियो । तर कोठा त पाहुनाहरुले पो कब्जा जमाएछन । आएदेखि त्यहि कोठामा सुतेकाले ठाउँ नछाड्ने रे ।

‘ठाउँ हात नलाग्ने भएपछि उसले पनि दाइको पालामा जस्तै जुक्ति लगाएछ । भान्छा कोठामा ओछ्याउन लाउने पल्टने । दिनभरको यात्रा, त्यो भन्दा कत्ति अगाडिदेखिको दौडदूप । शारीरिक र मानसिक थकानले थिलथिलै भएको थिएँ । घर आईपुग्दा नै रातको नौ बजेको थियो । दुलही भित्र्याउने बेलाको ल्याङल्याङ, धान घोप्ट्याउने, मानापाथी, चुल्ठ्यो जुधाउने, ढोगभेट चिनजान, ओहो, लम्बेतान बिधिबिधान पनि कत्ति हो कत्ति । खानपान सक्दा त रातको एक नै बज्यो, रातको के भन्नु विहान नै हो नि ।’ उसले सुहागरातको दिनको घटना बताउँदै गयो । म ध्यानमग्न भएर सुनिरहें । सुन चाहेको कुरा नआए पनि आउने आश गर्दै पर्खनुको पनि त गजब्बै हुन्थ्यो ।

‘बिस्तारा बोकेर लुरुलुरु भान्छा कोठामा लागें, उनले बडारिन, ओछ्यान लगाउन सघाईन् । अब सुतौं भोलि फेरी चाँडै उठ्नु पर्छ । भोलि पनि के भन्नु र, एक बजिसकेको छ । ४ नबज्दै उठ्नु पर्छ । बत्ति निभाएँ । अनि उनको नजिकै गएर पल्टिएँ, टाँस्सिएँ । उनको नयाँ लुगाले बिजायो, कोरे जस्तो भयो । उनी पर सरिन, छोईएला भन्ने डर भए जसरी, छुनै नहुने जस्तो गरी । जाडोमा रुई, दुई फुई भन्छन किन परपर सरेको ? कानमै गएर फुसफुसाएँ । मैले यत्ति भनेपछि उनलाई केहि सहज भएछ । तै पनि पूरै नजिएकी भने थिईनन, नजिक आउन खोजेजस्तो, नखोजे जस्तो पनि, मनचाहिं नजिक नजिक शरीर टाढा टाढा ।’

उसको कथा सुन्दा मलाई कता कता काउकुती लागे जस्तै भईरहेको थियो । अरु केहि नबोलि म उसलाई त्यस पछि के भयो, अनि त्यसपछि भनेर कथा चाख मानेर सुनिरहेको थिएँ ।

‘हामी पिठ्यूँ फर्काएर सुतिरहेका थियौं, मैले मुखामुख गर्न भनें, उनी गाह्रो मानी मानी मतिर फर्किईन । मैले बिस्तारै मेरा हातहरु उनको छातितिर सलबलाएँ बिस्तारै बिस्तारै कपडामाथि नै । कपडा भित्र हातै हाल्न मलाई अप्ठ्यारो लागि रहेको थियो । तै पनि आँटै गरेर मेरो ओठ उनको गालामा पुर्याएँ । उनले मुन्टो हल्लाईन, संगै आवाज पनि आयो बल्ल उनको बोली फुट्यो । तर मैले सोचे भन्दा बिपरीत – आजै सबै कुरा गर्नु पर्छ र ? म केहि बोलिन अनि मेरा हातहरु चलायमान हुन छाडे । केहि बोलिन मनमनै सोचें –यत्रो जिन्दगी बाँकी छ सबै आज किन गर्नु पर्यो र ? सोच्दासोच्दै निदाएछु । मोबाईलमा आलम बज्यो आँखा मिच्दै उठें । उनलाई पनि झकझकाएर उठाएँ ।’

ए, त्यस्तो पो भयो । मैले आश्चर्य मानेर प्रश्न गरें अनि त्यसपछि ‘उनी नुहाई धुहाईमा लागिन । म बहुभत्तेरको तयारीमा । समूहको भाँडा बोकेर आउँदै थिएँ, भोज पकाउने बारीको पाटोमा आई पुग्दा सीमसीम पानी परिरहेको थियो । मंसीर महिनामा सीमसीम पानी परेपछि के चाहियो र, चिसो तातो गफ चलिरहने रहेछ भोज पकाउन भेला भएका गाउँका बिबाहित पुरुषहरुवीच । भन्दै थिए– ‘केटोले राम्रैसंग सुहागरात मनाएछ, पानी पर्न थाल्यो । म सुनेको नसुन्यै गरी तर्किएँ, मलाई गफ सुन्न मन पनि थिएन त्यहाँमाथि फुर्सत पनि ।’

त्यत्तिकै मोबाईलको घण्टी बज्यो । स्कूलमा आकस्मिक काम परेको खबर आएकाले म बाटो लागें ऊ पनि आफ्नो बाटो लाग्यो । थप कुरा अर्को भेटमा गर्ने शर्तमा ।

समय कहाँ एकै हुँदो रहेछ र । न उसले सुहागरात मनायो, न मैैले सुन्न न नै पाएँ ।

‘बहुभत्तेरको दिन, दिनभर भोजमै र भेटघाट र चिनजानमै बित्यो, नबदुलहीलाई चिनाउन नै पर्यो, साँझपख वहिनीले भाउजू पर सरेको खबर लिएर आइन, पर सरेपछि कम्तिमा तीन दिन संगै सुत्ने कुरा भएन, मन भारी बनाएर छुट्टा छुट्टै सुत्न गयौं, अझै पनि मेरो कोठा पाहुनाकै कब्जामा थियो, म पनि अतिथि देवो भव भन्ने मैं थिएँ, सुहागरातको दिन त नपाएको कोठा किन चाहियो र आज अब । गएरातिको घटना सम्झेर निदाउन कोशिश गरिरहेको थिएँ, सबै कुरा आज नै गर्नु पर्छ ? एक मनले प्रश्न गरिरहेको थियो अर्को मनले हो त नि यत्रो जीन्दगी वाँकी छ किन हतार गर्नु र, सबै ….., हो त ……। ’

विवाहको भोलिपल्टको रात । उनी त नहुने भईन । मंसीरको रात चिसोले कठ्यांग्रिने बेला । रुइ, दुई, फुईको बखान सुने पनि मैले एक रातको अनुभबले पनि धेरै कुरा बुझिसकेको थिएँ । पाहुनाहरु केहि घटे पनि मेरो कोठा खाली भईसकेको थिएन म त्यो रात पनि भान्छा कोठामै सुत्ने भएँ । उनीसँंगै सुत्दा तातो भएको हो कि भान्छा कोठा आफैं तातो हो भन्ने पत्ता लगाउनु थियो । गएरातको घटना बिहानमा भोज पकाउने बेलामा भएको कुराकानी मनमा खेलिरह्यो । निन्द्रा पर्ने छाँटकाँट नै थिएन । रातको ११ बजे बाहिर निस्किएँ । जाडोले हो कि अनिदोले पिसाब लागिरहेको थियो । अल्छि लागि लागि पनि उठेर गएर आएर पल्टिएको मात्रै थिएँ । कसैले ढोका ढकढक्यो ।

ढोका खोलें, मैले कल्पनै नगरेको दृश्य देखेर आत्तिए । चार जना सेना रहेछन । मेजर सापले बोलाउनु भएको छ । भन्दै हिंड्न आदेश दिए ।

राति नै ?

अँ, अहिल्यै लिएर आउनु भन्ने आदेश छ ।

तपाँईहरु जाँदै गर्नु म भोलि विहानै आउँछु ।

तँ साले, ससुराली जान ला, जुन बेला मन लाग्यो त्यही बेला, एउटा जंगिंदै । अर्कोले बन्दुको कुन्दाले मेरो तिघ्रामै बसाल्यो ।

डरले हो कि दुःखाईले तुरुक्क मुत खुस्कियो ।

केहिबेरमा सबैको निन्द्रा ब्यूझियो । सबै भन्दा पहिले आमा आएर रुँदै केहि नगर्न आग्रह गर्नुभयो । कसैको पनि कुरा नसुनी त्यो समूहले मलाई घिसार्नै थाल्यो ।

एक नजर मैले उनीसामु फ्याँके पिलपिलाउँदो भएकी थिईन । शीर निहुरिएको थियो । बोली बन्द । अलि परसम्म पनि आमाको पीडा, क्रन्दन र आग्रह गुन्जिरह्यो ।

सेनाको टोली ठूलै शिकार भेटिए जसरी अघि बढिरह्यो ।

मेरो शरीरहरु बन्दुकको नाल र बुटहरु बज्रिरहे । गनेर साध्य भए पो गन्नु । एकै पटक चारतिरबाट प्रहार हुन्थ्यो ।

ब्यारेक पुगेपछि मेजर कड्किए केटा हो सरलाई हातपात त गरेनौ नि ?

केहि गरेका छैनौं सर भनेर मलाई शुरुमा बन्दुकको कुन्दाले हान्ने तनक्क तन्कियो, बाँकी तीन वटाले पनि होमा हो मिलाउँदै त्यसै गरे ।

बस्नुस, मेजेरले अगाडि रहेको कुर्सी देखाए, (म लुगलुग कामिरहेको थिएँ, सिरकको तातोमा सुतिरहेको मान्छे, एउटा टाउजर र सेन्डोले के जाडो धानोस)

जाडो भयो है, के गर्नु नाङ्गै आउनु भएछ । केटाहरुले लुगा लगाउन दिएनन है ?

(म बोलिन, राम्रै हाईहेलो चल्ने र सधैं सर भनेर आदर गर्ने मेजरको पारा देखेर भित्रभित्रै रीस उठिरहेको थियो ।)

सरलाई त मैले असल नागरिक, हिंसा बिरोधी, आतंकारीहरुको कट्टर बिरोधी र राज्यलाई सहयोग गर्ने असल नागरिक त्यो मात्रै हैन असल शिक्षक, पथपर्दशक ठानेको थिएँ । तर तपाँई त …….।

अब भने मेरो मौनताको बाँध भत्कियो –के गरें मैले ?

ए, अझै के गरें ? के चाहिं गरिनस झ्याँक्ने अझै ठूलो स्वर । मैले शिक्षक भनेर आदर गरिरहेको छु । यी आतंकारी सालेहरुलाई आदरसम्मान त के पच्थ्यो ? भन कसलाई अपरण गर्ने र मार्ने योजना बनाएको छस ? मूख्य योजनाकार तँ नै होस नि ? कि हैनस ?

हैन, के नचाहिने कुरा गर्यो ? म कुनै पनि दलको मान्छे हैन, विनाकारण बिना आधार के को दुश्मनी हो मसंग ?

ए, जो चोर उसकै ठूलो स्वर, तेरा स्कूलका साथीहरु पनि पहिले त्यसै भन्थे । भन अहिले कहाँ छन, तिनीहरु ? एक हप्ता अघि गाबिस भबनमा बम पड्काउने को हो ? तेरै साथीहरु हैनस ?

मलाई केहि थाहा छैन ।

अझै केहि थाहा छैन भन्छन, तँलाई मैले अस्तिनै ल्याउँथे, हुन ठीक्क पारेको विवाह किन रोकि दिऊँ भनेर मात्रै हो । साँचोसाँचो बताउने भए बता हैन भने विबाह भएको दुई दिन मै तेरो स्वास्नीको सिन्दुर पखाल्नु पर्ला । हेर त्यत्ति राम्री स्वास्नीको माया लाग्दैन ।

मलाई केहि थाहा छैन, मेरो श्रीमतीको के दोष र बीचमा ल्याउनु हुन्छ ।

केटा हो, यस्लाई जाकदेओ, यो त्यसै बोल्ला जस्तो छैन, मलाई आज निन्द्रा लाग्यो । भोलि विहान रामधुलाई गर्छु यस्को ।

भोलिपल्ट विहानै गएर घर सबै खानतलासी गरेछ । एक एक गरेर खोज्दा पनि केहि भेटेनछ सेनाले । गाउँका सबै मानिसहरुसंग खोजीनिती गर्दा पनि कसैले मलाई माओबादी भनेनन । तर सेनाले यातना दिन पनि छाडेन ।

जुन लुगामा थिएँ, त्यही लुगा हो । चिसो भुँई, आँखामा पट्टि बाँधेकाले सधैं अध्यारो नै हुने नै भयो । उस्तै दुर्घन्ध। म टोलाउने, बर्बराउने गर्न थालिसकेको छु । होस नै उडिसकेकोे, बर्बराउँदै गर्दा सेनालाई गाली गर्दो रहेछु । त्यही झोकमा सेनाले बुट बजार्दा मेरो अण्डकोषमै पर्यो त्यस पछि के के भयो मलाई केहि थाहा नै भएन । ब्यूझँदा अस्पतालको बेडमा थिएँ । पछि मात्रै थाहा भयो, शिक्षा कार्यालय, रेडक्रस, मानबअिधकारकर्मी र स्थानीयको दबाबमा सेना मलाई अस्पताल पुर्याउन बाध्य भएछ । जे होस पुर्नजन्म पाएँ । आमा, श्रीमती र बहिनीका आँखाका डिल पूरा सुनिएका थिए, आँखा पनि पाकेको गोलभेंडा जस्तै राता ।

शरीरका प्रत्येक अंगमा निलडाम थिए, हिंडडुल गर्न एकदमै कठिन । औषधीको भरले नै शरीर उभ्याईरहेको थिएँ । जिल्ला शिक्षा कार्यालयलाई भनेर सरुवा पनि सदरमुकाममै गराएर, सपरिवार बस्न थालेका थियौं । जसोतसो बिद्यालय पुगेर हाजिर गर्न सक्ने भएको थिएँ । पढाउन सक्ने शक्ति कहाँबाट पाउनु ।

आमाको स्नेह र श्रीमतीको प्रेमले बिस्तारै तंग्रिदै गएँ । शरीरका नीलडामहरु निको हुँदै गयो ।

विबाह भएको तीन बर्षपछि हामी बूढाबूढी एउटै ओछ्याउनमा भयौं । विवाहको पहिलो रात म सक्रिय भए जस्तै अहिले उनी प्रत्येक रात सक्रिय हुन्छिन । तर म कुनै न कुनै बाहना गरी निष्क्रिय भइदिन्थें । अनि बिद्यालयको काम परेको वा यस्तै यस्तै बाहनामा घर भन्दा बाहिरै रहिदिन्थें ।

जिल्ला अस्पतालका डाक्टरहरुको विश्वास नलागेर स्कूल विदा भएको मौका पारेर काठमाण्डौं पुगेर नामी डाक्टरहरुको पनि सल्लाह लिएँ । बिभिन्न थरी उपचार गराएँ, तर अलिकति पनि प्रगती हुन सकेन ।

एक बर्ष यसैगरी बित्यो, कति दिन ढाँट्नु कति दिन छल्नु, कति दिन निष्क्रिए हुनु । जहिले पनि नातिनातिनाको मुख नहेरी मर्ने भएँ भन्ने आमाको कचकच थिंदैथियो । अब त उनको बारेमै बिभिन्न टीकाटिप्पणी हुन थालेछ । बच्चाहरु उनीसंग खुब झुम्मिन्थे तर बाँझी आईमाईले छुँदा बच्चा बिरामी हुन्छ भनेर उडाउने रहेछन । विवाहको धेरै बर्षसम्म सन्तान नहुँदा महिलाहरुले झेल्नु पर्ने प्रश्नहरु सम्झेर पनि भाउन्न हुन्थ्यो ।

मैले सन्तान सुख त परै जाओस पत्नीलाई शारीरिक सुख पनि दिन सक्दिन भन्नेमा ढुक्क थिएँ, चिकित्सकीय रिपोर्टहरु त्यहि भनिरहेको थियो । तर मैले आशा मारि नसकेकाले उनीलाई भन्न पनि सकिरहेको छैन ।

कहिले हजुरआमा बनाउँछस भन्ने आमाको प्रश्नको उत्तर दिन पनि ।

(कथाकार ढकाल नेपाल एफएम नेटवर्कसँग आवद्ध हुनुहुन्छ)

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice