सगरमाथाको फोहोर तारा एयरले निःशुल्क ओसार्ने

सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट निस्कने फोहरलाई तारा एयरलाइन्सले निःशुल्क ओसार्ने भएको छ ।

सगरमाथा प्रदर्शन नियन्त्रण समिति (एसपिसिसी)ले सगरमाथा क्षेत्रको विभिन्न गाउँ, हिमालका आधारशिविर आदि स्थानबाट सङ्कलन गरेको फोहरलाई तारा एयरलाइन्सले ढुवानी गर्ने भएको एसपिसिसीले जनाएको छ ।

प्रत्येक वर्ष सरसफाइ अभियान नै चलाएर एसपिसिसीले सगरमाथा प्रवेशद्वार नाम्चेदेखि सगरमाथाको आधारशिविरसम्मको फोहर सङ्कलन गर्ने गरेको छ ।

यस वर्ष सम्पन्न भएको सरसफाइ अभियानबाट एसपिसिसीले दुई हजार ५७८ किलो फोहर सङ्कलन गरेको एसपिसीसीले जनाएको छ । सङ्कलित फोहरमध्ये जल्ने प्रकृतिका प्लास्टिकजन्य एक हजार ५६० किलो फोहर नाम्चेमा नष्ट गरिएको छ भने बाँकी रहेको एक हजार १८ किलो फोहरलाई पुनः प्रयोगमा ल्याउनका लागि काठमाडौँ पठाउनुपर्ने एसपिसिसीले जनाएको छ ।

त्यस्तै सगरमाथा आधारशिविरमा आरोहणका क्रममा ३५ आरोहण दलले सङ्कलन गरेको नौ हजार ६६० किलो फोहरमध्ये एक हजार ६३ किलो नजल्ने फोहोर पनि काठमाडौँ लानुपर्ने एसपिसिसीका उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।

यस वर्ष ५३ समूहका आरोहीले सगरमाथा आरोहण गरेको भए पनि ३५ आरोहण दलको फोहर एसपिसीसीको कार्यालय नाम्चेमा आइपुगेको छ । एसपिसिसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताए । “नजल्ने फोहरलाई ‘रि युज’का लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । नजल्ने फोहरलाई पगालेर विभिन्न प्रतिमा बनाउन सकिन्छ ।” शेर्पाले जानकारी दिए ।

सगरमाथा क्षेत्रमा सङ्कलन भई काठमाडौँ लानुपर्ने फोहरमध्ये एक वर्षमा १२ टन फोहरलाई तेन्जिङ हिलारी विमानस्थल लुक्लादेखि अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँसम्म निःशुल्क ढुवानी गरिदिने सम्झौता भएको एसपिसिसीले जनाएको छ । कार्यालयका अनुसार तीन वर्षसम्मका लागि सम्झौता भएकोे छ ।

दिगो पर्यटन विकासका लागि भन्दै एसपिसिसीले फोहर व्यवस्थापनका लागि प्रस्तावना पेस गरेकामा सम्झौता गर्न सफल भएको कार्यसमितिका प्रथम उपाध्यक्ष डिमदोर्जी शेर्पाले जानकारी दिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice