माडीको रिउ नदीले खतराको सङ्केत नाघ्यो, स्थानीय त्रसित

काठमाडौं । दक्षिण चितवनको माडीमा रातिदेखि परेको वर्षाका कारण रिउ नदीमा खतराको सङ्केत नाघेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलका अनुसार यहाँको नदीको सतह ३ दशमलव ४ मिटर नाघेमा खतराको सङ्केत हुन्छ । तर अहिले बाढीको सतह ३ दशमलव ८ मिटर पुगेको छ ।
खतराको सङ्केत नाघेपछि घन्टी बज्न थालेको  लुइँटेलले वताए । योसँगै सोही क्षेत्रमा पर्ने मगुई र बाँदरमुढे खोलाले समेत खतराको सङ्केत नाघेकाले सो क्षेत्र आपपासका स्थानीयवासीलाई सतर्क हुन अपिल गरिएको समितिले जनाएको छ । उनले सबै समिति र उपसमितिका पदाधिकारीहरुलाई सूचना आदानप्रदान गरिएकाले कुनै घटना भइहाले उद्धारको तयारीमा रहन निर्देशन दिएको वताए ।
सो सतह बढेसँगै यहाँको धोबाहा, रतनी, बोटे सिमरा, अमिलियालगायत गाउँ प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले केही बेरअघि एक सूचना जारी गरी वर्षा अझै रहने भन्दै दिनभर माडी आसपासका मानिसलाई सतर्क रहन आग्रह गरेको छ ।
गत वर्ष युएनडिपीको सहयोगमा यहाँका विभिन्न पाँच ठाउँमा पूर्व सूचना प्रणाली निर्माण भएपछि खतराको जानकारी पहिले नै आएको हो ।
गएरातिदेखि परेको भारी वर्षाका कारण दक्षिण चितवनको माडीको जनजीवन प्रभावित भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनले दक्षिण माडीलाई बाढीको उच्च जोखिम क्षेत्रका रुपमा पहिचान गरेको छ ।
वर्षापछि यहाँका खहरे खोलामा उर्लिएको बाढीले माडी–ठोरी, भरतपुरको सवारी आवागमनसमेत अवरुद्ध भएको छ । माडी नगरपालिकाको चिताई खोला पुल नजिकैको केही मिटर सडक नै बाढीले भत्काएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।
अहिले पनि वर्षा जारी रहेकाले सतर्क रहन भनिएको छ । राति १ बजेदेखि परेको पानी अझै यहाँ जारी छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice