उपेन्द्र यादव र अशोक राईकै अगाडि राजेन्द्र श्रेष्ठलाई यस्तो धम्की ?

‘तँलाई म काट्छु, तैले गर्दा पार्टीको काम प्रभावकारी भएन’ एक्कासि सबै अक्क न बक्क भए ।प्रसंग हो, संघीय गठबन्धनद्वारा जारी आन्दोलनबारे संघीय समाजवादी फोरमको केन्द्रीय कार्यालयमा सम्पन्न समीक्षा बैठकको ।

संघीय गठबन्धनद्वारा सिंहदरबार घेराउ कार्यक्रमको अघिल्लो रात बसेको बैठकमा केन्द्रीय सदस्य भूपेन्द्र नेम्वाङले सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई ठाडै काट्ने धम्की दिएपछि अध्यक्ष उपेन्द्र यादव र छेवैमा रहेका वरिष्ठ नेता अशोक राई एकअर्कामा मुखामुख गर्दै निःशब्द भए । 

त्यो दिन रत्नपार्कबाट सुरु हुने जुलुसमा पार्टीको झन्डा बेलैमा नपुगेपछि अध्यक्ष उपेन्द्र यादव अर्कै पार्टीको झन्डामुनि हिँड्न बाध्य भए । बैठकमा अध्यक्ष यादवले ‘झन्डा बेलैमा नआइपुग्दा आफू अर्को पार्टीको झन्डामुनि हिँड्नुपर्यो । किन यस्तो भयो ?’ भनी प्रश्न सोधेका थिए । पार्टीको नयाँ झन्डा बनाउने जिम्मेवारी पाएका लालबहादुर तामाङ त्यसदिन व्यक्तिगत कामले अन्तै अलमलिँदा बेलैमा झन्डा आइपुगेनछ । यसरी पार्टीप्रति जिम्मेवारीबोध नै नभएकालाई जिम्मेवारी दिइएको खबर र्याली ठमेल पुग्दा मात्रै कार्यकर्ताले बुझे । तर, पार्टीका तर्फबाट आन्दोलन मूलपरिचालन समितिका संयोजकसमेत रहेका सहअध्यक्ष श्रेष्ठले ‘काम गर्ने सवालमा कुनै बेला कमीकमजोरी हुन सक्ने…’ भन्दै तामाङको बचाउ गर्न खोजेपछि बीचैमा केन्द्रीय सदस्य नेम्बाङले ‘तेरो कारणले पार्टीले बेइज्जती व्यहोर्नुपर्यो ।

जिम्मेवारीबोध नभएकालाई जिम्मेवारी दिएर तैँले पार्टी बिगार्दै छस्, तँलाई म च्याट्टै काट्छु बुझिस्,’ भन्दै तात्तिहाले । प्रतिरक्षामा सहअध्यक्ष श्रेष्ठले पनि तातो जवाफ फर्काए, ‘आफ्नो जिम्माको काम गरे भइहाल्यो नि, किन अरुको क्षेत्रमा टिप्पणी गरेका ?’ फेरि नेम्वाङ चर्किए, ‘मेरो जिम्माको काम शतप्रतिशत भइरहेको छ तर तेरो क्षेत्र र तैले जिम्मेवारी दिएको मान्छेले के काम गर्यो । ? भोलि देख्छस्, पार्टी उपत्यकाबाहिर उठ्छ तर तेरो कारणले काठमाडौंमा पार्टी उठ्न सकेन ?’

यसपछि माहोल थप उत्तेजित हुने र तल्लो तलामा रहेका नेता तथा कार्यकर्ताले थाहा पाउने डरले अध्यक्ष यादव र वरिष्ठ नेता राईले नेम्वाङलाई अर्कै कोठामा लगेर सम्झाए । उता, महासचिव रामसहायप्रसाद यादवसहितका टोलीले सहअध्यक्ष श्रेष्ठलाई तल्लो तलामा झारेर सम्झाइएको थियो । एकान–दोकान मैदान भनेझैँ दुई÷चार दिनपछि नै अन्य कार्यकर्ता र नेतामाझ उक्त दिनको कुरा सनसनी हुन पग्यो । र, चियागफदेखि सियागफमा समेत यसखाले कुरा सुनिन थाल्यो । यसै विषयमा जानकारी पाएपछि थप बुझ्न खोज्दा समाजवादी युवा फोरमकै कार्यकर्ता बताउने युवाले नामचाहिँ नछापिदिन आग्रह गरे ।

यसो त एकीकरणपछि पनि फोरमभित्र सहअध्यक्ष श्रेष्ठले आफूनिकट पूर्वएमाले र नेवारलाई विशेष जिम्मेवारी दिने गरेको कार्यकर्ताको गुनासो छ । युवा नेता अजम्बर काङमाङ राईलाई एकीकरणपछि सचिव दिने भनिए पनि ‘राई बढी भएको’ भन्दै जिम्मेवारी नदिँदा असन्तुष्ट छन् । यसमा पनि राजेन्द्र श्रेष्ठसँगै उपाध्यक्ष हेमराज राई, केन्द्रीय सदस्यद्वय सुशीला श्रेष्ठ, भीम राईलगायतले अड्को थापेको बताइन्छ । यस्तो असन्तुष्टि पार्टीभित्र भुसको आगोझैं फैलिइरहेको स्रोत बताउँछ । यसैकारण केही नयाँशक्ति नेपालमा प्रवेश गरेका छन् । र, रिजवान अन्सारीलगायतको एउटा टिम असन्तुष्टि व्यक्त गर्ने क्रममै पार्टीबाट निष्काशन हुनुपरेको थियो । अहिले रिजवान अर्कै पार्टी खोल्ने अन्तिम तयारीमा छन् ।जनआस्था साप्ताहिकले खबर छापेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice