लौ पढ्नुहोस भाटभेटनीका साहूका काला कर्तुत,करोडौं रुपैंया पर्ने सरकारी जग्गा कसरी गरे कब्जा ?

दुईवटा टुँडिखेल, केही रंगशाला र रत्नपार्क बाहेक राजधानीमा सार्वजनिक जग्गा कतै किन छैनन् ? यसको रहस्य खुल्दै जान थालेको छ । भूमाफिया र भूमीसुधार मन्त्रालयका अधिकारीहरुको मिलोमतोमा काठमाडौका सार्वजनिक र सरकारी जग्गाहरु भकाभक् व्यक्तिका नाममा दर्ता भएका छन् ।
प्रधानमन्त्री निवास, नेपाल राष्ट्र बैंकजस्ता प्रभावशाली निकायहरु बालुवाटारमा स्थापित नभएका भए ती जग्गा समेत भूमाफिया र भूमीसुधार मन्त्रालयका कथित ठुला अधिकारीहरुले उहिल्यै व्यक्तिका नाममा दर्ता गरिसकेका हुने पनि प्रमाणित भएको छ । प्रसंग भिभिआइपी क्षेत्रका रुपमा रहेको बालुवाटारको २ सय ९९ रोपनी जग्गा व्यक्तिका नाममा दर्ताको हो ।
सुवर्ण समशेरका नाममा रहेका जग्गाहरु ०२१ सालमा पञ्चायतले जफत गरेको र ०४७ सालपछि उनको सरकारीकरण गरिएका जमीन फिर्ता गर्ने निर्णयको दुरुपयोग गरी २ सय रोपनीभन्दा बढी सरकारी जमिन हड्पिइएको हो । तत्कालीन श्री ५ को सरकारको समरजंग कम्पनीका नाममा रहेका जग्गाहरु ०५१ सालदेखि ०६८ सालसम्ममा जम्मा २ सय ९९ रोपनी जग्गा व्यक्तिका नाममा गरिएका हुन् । समरजंग कम्पनीले उसको हेरचाहमा रहेका केही जग्गाहरुमा मोही समेत रहेको खुलाएपनि यसैलाई समेत आधार बनाएर अरुमा समेत नक्कली मोही कायम गरिएको छ । ०२१ साल मंसिर ३ गते तत्कालीन सरकारले सुवर्ण समशेर राणाका घरजग्गा ललिता निवास रहेको जम्मा १४ रोपनी जफत र अरु सबै जग्गा मुआब्जा दिएर अधिग्रहण गरेको थियो । सुवर्णको जमीन पञ्चायत विरोधी राजनीतिक गतिविधिमा लागेको आरोपमा तत्कालीन सरकारले जफत गरेकोमा संसदीय व्यवस्थाको शुरुवातपश्चात बनेको सरकारले ०४७ जेठ २, जेठ १७ र साउन ८ गतेको मन्त्रीपरिषदको निर्णयबाट फिर्ता दिने निर्णय गरेको थियो । जफत गरिएको १४ रोपनी जग्गा फिर्ता गर्ने सरकारी निर्णयका आधारमा भूमीसुधारका अधिकारीहरु र भूमाफियाले मिलेर फिल्डबुक सच्याउँदै र गलत निर्णय गर्दै २ सय रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा लगिएको हो ।
समरजंग कम्पनीका नाममा रहेका काठमाडौ जिल्ला कामनपा वडा नं. २३ह कित्ता नम्बर ३३,३८,३९,३२,३४,२८,२९,३०, ३६,१७,१८,१९, २०,२१,२३,८,१३,१४,१६,२७,११ सोही स्थानका २३क्ष कित्ता नं.१८,२०देखि२४ समेत गरी जम्मा ५७रोपनी४ आना ३ दाम शैलजा राणा, हेमन्त,हाटकका नाममा शुरु दर्ता गरियो । यसैगरी कित्ता नं. ३३ देखि ८३ नम्बर सम्मका जग्गाहरु पनि गलत रुपले व्यक्तिका नाममा दर्ता गरियो । प्रजातन्त्र पुनस्थापना पछि जम्मा ७६ जना राजनैतिक कार्यकर्ताका घरजग्गा फिर्ता गर्ने निर्णय भएकोमा सुवर्ण समशेरको नाम अत्यधिक दुरुपयोग गरिएको हो । ०५१ देखि ०६८ सालसम्म लगाएर सुवर्ण समशेरका सन्तान र मोहीका नाममा दर्ता गरिएका २ सय रोपनीभन्दा बढी र यी जग्गामा मोहीका रुपमा फिल्डबुकमा किर्ते नाम लेखी खडा गरिएका मानिसका नाममा पुर्जा बनेका जग्गा अहिले मुलुककै ठालूहरुका नाममा सारिसकिएको छ ।
सरकारी जग्गा गलत रुपले आफ्ना नाममा ल्याउन लाग्नेहरुमा भाटभटेनी सुपर स्टोरका मालिक मीन बहादुर गुरुंग, एमाले नेता भन्न रुचाउने जग्गा दलाल डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी हुन् । यसैको प्रतिफल अहिले मीन बहादुर, शोभकान्त, रामकुमारका नामका साथै उनीहरुका आफन्त र संस्थाका नाममा बालुवाटारका दर्जनौं रोपनी जमीन कायम भएका छन् ।
एमालेसँग आबद्ध डा. शोभाकान्त ढकाल, उनको नाबालका पुत्र सन्दिप ढकाल,उमाकुमारी ढकाल तथा रामकुमार सुवेदी समेत बालुवाटारको आनाकै करोडौं पर्ने जग्गाका थुप्रै रोपनीका मालिक बनेका छन् । गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले समेत यही गैरकानूनी रुपले दर्ता गरिएका दर्जनौं रोपनी जग्गा गैर आवासीय नेपाली संघका नाममा लिका छन् ।
यिनीहरुले लिएका सरकारी जग्गाहरु मोहीका नाममा किर्ते लिखत फिल्डबुकमा लेखेर तयार पारिएका मानिसबाट आएका हुन् । मीन बहादुरले भने उनी स्वयं, श्रीमती र निकटका नातेदारका नाममा समेत केही दर्जन रोपनी सरकारी जग्गा किनेको देखाएका छन् । मुलुकमा फटाहा र जालीलाई कारवाही गर्ने नाममा थुप्रै राजनीतिकदेखि सामाजिक अभियानसमेत चले । तर सरकारी जग्गा हडप्ने बदमाशलाई कसैले किन छुँदैन ?
यी जग्गाहरु किर्ते कागजातबाट भकाभक् व्यक्तिका नाममा दर्ता गरिदिएर  शुभलाभ हासिल गर्ने त्यतिबेलाका मालपोत र नापीका प्रमुखहरु अहिले मन्त्रालयमै पानीमाथिको ओभानो बनेर महाशाखाहरु सम्हालेर बसेका छन् ।
त्यतिबेला मालपोत र नापीमा बसी सरकारी जग्गा दर्ता गर्न भूमिका निर्वाह गर्ने प्रमुखहरुले उनका आफन्तका नाममा रोपनीका रोपनी जग्गा दर्ता गरेका मन्त्रालयकै एक उच्चाधिकारीले बताए । बालुवाटारका विवादमा परेका जग्गाका मालिकहरुको थर र हाल मन्त्रालयमा भएका उच्चाधिकारीका थर र नाता केलाउँदै गएमा यी सबै प्रपञ्च खुल्ने उनले उल्लेख गरे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice