ज्योती विकास बैंकका सिइओका यस्ता छन खुरापाती ‘कर्म’

बैंक चलाउने नाममा जनताको रकम लिएर भाग्ने थुप्रै बैंकरका बारेमा त सुनिएकै हो । एक बैकका प्रमुख कार्यकारी अधिकृत भने आफैंले स्वीकृत गरेको २ करोड ऋण दिने निर्णयमा अदालतले पक्राउ आदेश जारी गरेपछि मातहतका कर्मचारीलाई निलम्बन गरेर पानीमाथिको ओभानो बनेका छन् । घटना ज्योति विकास बैंकको हो । यस बैंकले गत माघमा चितवनको जग्गा बैंककै नाममा राजीनामा पास गरी २ करोड ऋण दिएको थियो । काठमाडौ बस्ने कमल बस्नेतको चितवनको बछौली गाविसमा रहेको जग्गा मालपोत अधिकृत मित्रलाल ढकाल,रत्ननगर नगरपालिकाका १८ वडा सचिव समेतको मिलोमतोमा बस्नेतलाई थाहै नदिई मेरसिंह भर्तीको नाममा लगियो । यही जग्गा बिचौलिया जनक बस्नेत लगायतको पहल कदमीमा ज्योति विकास बैंकमा राखी २ करोड लिइएको हो ।
जग्गा बैंकमा राखी रकम झिक्ने मनसायले मेरसिंह, जनक लगायत आजभन्दा ५ महिनाअघि सुन्धारास्थित बैंकको शाखा कार्यालयमा पुगे । उनीहरुले पेश गरेका सबै कागजात र प्रमाणहरु हेरेर त्यहाँका कर्मचारीले चितवनस्थित बैंकको शाखालाई पत्राचार गरे । चितवनस्थित शाखाले मालपोत कार्यालयले उपलब्ध गराएको जग्गाधनी प्रमाणपुर्जा देखि आवश्यक कागजात हेरी प्राविधिकदेखि शाखा प्रमुख समेत जग्गामै गई नापजाँच र मूल्यांकनको काम गरे । उनीहरुले जग्गा उपयुक्त भएकाले राजिनामा पास गरी ऋण दिंदा फरक नपर्ने भनी सिफाशि गरे । त्यसपछि पत्र फेरी सुन्धारा कार्यालयमा आयो । सोही पत्रलाई आधार बनाएर सुन्धारा शाखाका कर्मचारीले सिफारिश पत्रमा हस्ताक्षर गरी ऋणको प्रक्रिया अघि बढाए । सुन्धारामा फाइल प्रक्रियामै रहँदा बैंकका कार्यकारी प्रमुख कृष्ण बहादुर कुँवरले नामै लिएर यो फाइलका काम के हुँदैछ भनी तीन पटकसम्म सोधेका थिए । कार्यकारी प्रमुखले नै चासो दिएपछि सुन्धाराका कर्मचारीले पनि भरसक चाँडै सो फाइलमा हस्ताक्षर गरी केन्द्रिय कार्यालयमा पठाइदिए ।
तर पछि खुल्यो कि सो जग्गामा नक्कली जग्गाधनी र लालपुर्जा बनाएर बैंकमा राखी २ करोड ऋण लिइएको रहेछ । यसपछि वास्तविक जग्गाधनी कमल बस्नेतले मालपोत कार्यालयका प्रमुखदेखि ऋण स्वीकृत गर्ने कार्यमा हस्ताक्षर सहित संलग्न रहेका भरतपुर शाखा प्रमुख, सुन्धारा शाखा प्रमुख, बैंकका नायब महाप्रबन्धक हेमराज रानाभाट,कर्जा जोखिम विभाग प्रमुख प्रमेश्वर शाक्य, कार्यकारी अधिकृत कृष्ण बहादुर लगायतलाई ठगी र फौजदारी अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा हाले । अदालतले जाहेरीमा नाम लेखिएका सबै मानिसलाई तुरुन्त पक्राउ गरी पेश गर्न आदेश जारी गर्यो । तर फौजदारी अभियोग लागेका ज्योती विकास बैंकका सिइओका कृष्ण भने उनले अन्तिम हस्ताक्षर गरी दिएको ऋणका सम्बन्धमा सुन्धारा शाखाका कर्मचारीलाई कसरी दोषी देखाएर आफू उम्कने भनी सोच्न थाले । अनि उनले जग्गा पनि नहेरेका र अन्तिम स्वीकृति दिन पनि नसक्ने महिला मात्र भएका सुन्धाराका शाखाका कर्मचारीलाई निलम्बन गरी राष्ट्रबैंक र सञ्चालक समितिलाई काम देखाए ।
अदालतले फौजदारी अभियोगमा पक्राउपूर्जी जारी गरेका कुंवर आफू भने दैनिक कार्यालयमा हाजिर भई यस्तै बौद्धिक खुराफातीका काम गरिरहेछन् । फौजदारी अभियोगमा मुद्दा चलिरहेका अभियुक्तलाई अझै पनि न प्रहरीले पक्राउ गरेको छ न त नेपाल राष्ट्र बैंक ले नै काम गर्नबाट रोकेको छ । उनी आफैं फर्जी कागजातका आधारमा ऋण स्वीकृत गर्ने निर्णायक अधिकारी भएपनि छुट किन पाइरहेछन् ? ऋण प्रवाहमा निर्णायक अधिकारीका रुपमा नभई बैंकको नियम बमोजिम सामान्य रुपले प्रक्रियामा सहभागी हुनुपर्ने कर्मचारीलाई निलम्बन गरी कुंवरले आफू जोगिन निरीह कर्मचारीलाई बलीको बोको बनाएको प्रष्टै छ । यस सम्बन्धमा कुंवरको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । बरु बैंकका अध्यक्ष समेत रहेका कानून व्यवसायी ध्रुव कोइरालाले सम्पर्क स्थापित गरी सुन्धारा शाखाका कर्मचारीले बैंकसँग कुनै पनि कोणबाट सम्बन्ध नभएका जनक बस्नेतका नाममा रकम दिएर गलत काम गरेकाले निलम्बन गरिएको भनी सफेद झुट बोले । सुन्धारा शाखामा सम्पर्क गर्दा २ करोड रकम मेरसिंह घर्तीको नामको खातामै जम्मा गरिएको र मेरसिंहले जनकका नाममा चेक काटिदिएको खुल्यो । कृषि विकास बैंकका पूर्व कर्मचारी कुंवरका बारेमा त्यहाँका एक निर्देशकले भन्दैथिए ‘पहिलेदेखि नै बौद्धिक खुराफातमा सिपालु कृष्णसरको त्यो बानी अझै गएको रहेनछ ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice